PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भारतमा हुने सैन्य अभ्यासबाट नेपाली सेना 'ब्याक', अन्तिम समयमा प्रधानमन्त्रीले दिए नजान निर्देशन



बीपी साह

भारतमा हुने सैन्य अभ्यासबाट नेपाली सेना 'ब्याक', अन्तिम समयमा प्रधानमन्त्रीले दिए नजान निर्देशन

काठमाडौं : बिम्स्टेक राष्ट्रका सेनाहरुबीच भारतमा हुन गइरहेको संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हटेको छ।

रक्षा मन्त्रालयका सचिव मार्फत् नेपाली सेनालाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन गएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो रक्षा मन्त्रालय मार्फत् सैन्य  अभ्यासमा जाने पुर्ववत् निर्णय फिर्ता लिएको हो। 

बिम्स्टेक चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सैन्य अभ्यासको सार्वजनिक गरेका थिए। उक्त सैन्य अभ्यासको नेपालमा व्यापक विरोध भएपछि नेपाली सेनालाई सहभागी नहुन प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्देशन भएको छ।

भारतको पुणेमा १० सेप्टेम्बरबाट हुन गइरहेको संयुक्त सैन्य अभ्यासमा सहभागीका लागि नेपाली सेनाले सम्पूर्ण तयारी गरिसकेको थियो। तर, प्रधानमन्त्री ओलीबाट सहभागी नहुने निर्देशन आएको नेपाली सेनाको स्रोतले जनाएको छ।

भारतमा हुन लागेको सैन्य अभ्यास चीन विरुद्धको सांकेतिक प्रदर्शन हुन सक्ने विषय बहसमा आएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दलबाटै पनि विरोध भएको थियो।

नेपाली सेना स्रोतका अनुसार संयुक्त सैन्य अभ्यासका लागि सम्पूर्ण तयारी भइसकेको अवस्थामा प्रधानमन्त्रीबाट निर्देशन आएपछि रोकिएको छ। तर पहिलोपोस्टसँग कुराकानी गर्दै नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले सैन्य अभ्यासमा नेपाल सहभागी नहुने बारे औपचारिक जानकारी नआएको बताए।

बिमस्टेक राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नभए पनि चीनसँग हुने सगरमाथा फ्रेन्डसिप २ मा भने सहभागी हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell