PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'निर्मलाको मामा 'भिलेन' बन्दा हत्यारा पत्ता लागेन'



सागर बुढाथोकी

'निर्मलाको मामा 'भिलेन' बन्दा हत्यारा पत्ता लागेन'

काठमाडौं : साउन ११ गते बिहान साढे ८ बजे कञ्चनपुरको रुपा कार्कीलाई ब्यूटी पार्लरमा काम गर्दागर्दै उनका श्रीमानको फोन आयो, 'खोलामा निर्मलाको साइकल भेटियो।'

त्यतिबेला ब्यूटी पार्लरमै थिए रोशनी र बबिता बम। बबिताले त्यतिबेला फ्याट्टै भनिन्- 'साइकल भेटिएपछि अब लाश नि त्यतै भेटिएला।'

निर्मला घरबाट हराएको दोस्रो दिनको घटना थियो यो।

त्यति बेलासम्म निर्मला हराएको शंका मात्र थियो। बबिताले पहिलोपटक लाशको कुरा गरिन्। त्यसपछि गाइगुइ सुनियो, 'निर्मलाको पक्कै हत्या भयो।'

ब्यूटी पार्लरको नियमित ग्राहक बबिता र रोशनी त्यस क्षेत्रमा 'चर्चित' थिए। नभन्दै साइकल भेटिएको केही क्षणपछि निर्मलाको लाश भेटियो। साइकल भेटिएको स्थानको १० मिटर पर निर्मलाको शरीर विभत्स रुपमा लडेको थियो। 

***

साउन १० गते रोशनीको घर गएकी निर्मला त्यही दिनदेखि हराएकी थिइन। १० गते दिनभर खोज्दा निर्मला भेटिएकी थिइनन्।

उनलाई खोज्न प्रहरीसँग सहयोग माग्दा प्रहरीको जवाफ थियो, 'बिहान ११ बजे हराएकी छोरीलाई मध्यरातमा खोज्ने हो? दुईटा केटीमात्र भएको ठाउँमा हामी राती जान्नौ।'

त्यो दिन त्यतिकै बित्यो। भोलिपल्ट बिहान ११ नबज्दै निर्मलाको लाश भेटिएको थियो।

निर्मलाको अत्यन्तै मिल्ने साथी थिइन रोशनी। उनी दिनहुँजसो निर्मलाको घर आउँथिन्। निर्मला रोशनीको घर कैहिलेकाहीँ जान्थिन्। 

रोशनीले निर्मलाको आमा दुर्गालाई बारम्बार भन्थिन, 'निर्मलालाई डान्स सिक्न पठाउँनू।' तर, उनले मानेकी थिइनन्।

डान्स सिक्ने कुराले आमाछोरीबीच केही विवाद पनि थियो। दुर्गाले छोरी निर्मलालाई केही दिनअघि त्यही निहुँ थप्पडसमेत लगाएकी थिइन्। 

निर्मला हराउनु केही दिनअघिको घटना थियो त्यो।

निर्मला हराएको दिन आमा दुर्गा पन्तले बबितालाई पटक पटक निर्मलाको बारेमा सोधिन्। 

'तिम्री छोरी पोइला गई होला। हाम्लाई किन बारम्बार सोध्न आउछौँ,' बबिताले यस्तै जवाफ दिएकी थिइन्।

त्यसपछि निर्मलाकी आमा दुर्गाको शंका बम दिदी बहिनीमाथि थियो। प्रहरीले 'हामी हेर्छौं बुझ्छौं। नेपाल प्रहरीलाई तपाईँले सिकाउने,' भन्दै झपारेपछि उनी चुप भएकी थिइन्। 

त्यसो भनेको भोलिपल्ट लाश खोला किनारमा भेटियो। सादा पोशाकमा भएकी महिला प्रहरीले सुरुवाल पखालिन। घटनाको प्रमाण लुकाउने काम भयो। घटना भएको केही दिनमा त्यहाँबाट धेरै प्रहरीको सरुवा भयो।

घटनास्थलमा सिल गर्ने माग स्थानीयको थियो। प्रहरी इन्स्पेक्टर इकेन्द्र खड्काले झपारे, 'यहाँको मेयर मै  हुँ, प्रहरी मै हुँ। तपाईँहरु किन बाठो हुनुहुन्छ?'

उनी घटनास्थलबाट वडा कार्यलय प्रमुख जगदीश भट्टकोमा गएर बसे। जगदीश भट्टले निर्मलाको परिवारलाई सहयोग गरेनन्। 

केही क्षणपछि महाकाली अञ्चल अस्पतालमा शव लगियो। लग्नासाथ निर्मलाको बुवा यज्ञलाई शव बुझ्न दबाव आउन थाल्यो।

घटना भएको बेला घर बाहिर रहेका यज्ञले सत्यतथ्य नबुझी शव नबुझ्ने अड्की कसे। उनलाई छोरीको लाशको व्यापार गर्ने भनेर आरोप लाग्यो। तर पनि उनले बुझेनन्।

केही सिप नलागेपछि घटना मिलाउन निर्मलाको मामा तीर्थराज भण्डारीको 'इन्ट्री' भयो। डोटीमा बसेर स्थानीय राजनीतिमा सक्रिय उनलाई कञ्चनपुरको मेयरले बोलाएका थिए।

तीर्थराजले घटना मिलाउन अनेक प्रयास गरे। सिडिओ कुमार बहादुर खड्कासँग निर्मलाको बुबा यज्ञराजलाई भण्डारीले नै भेटाए।

सिडिओ खड्काले शव बुझ्न सुझाए। हिन्दु परिवारको मान्छे छोरीको शव कुहाएर किन राख्नु भन्दै सम्झाए पनि। उनले सिडिओलाई जवाफ दिए, 'घटनाको सत्यतथ्य नबुझिकन म लाश बुझ्दिँन।'

त्यो बेला उनको साला भण्डारी असफल भए। तर, उनको प्रयास रोकिएन।

अर्को दिन भण्डारीले सिडिओ, प्रहरी र केही स्थानीय बीच भएको वार्तामा गएर भने, 'को हो तिमीहरु मेरो भान्जीको शवको व्यापार गर्ने? म उसको मामा हूँ। म बूझ्छु लाश। मेरा सोझा दिदी भिनाजुहरुलाई किन उक्साउँछौं?'

त्यसपछि भिनाजुलाई हेर्दै भने, 'मैले सबै बुझेको छु भिनाजु। सबै म गर्छु तपाईँले केही गर्नु पर्दैन। चुप लागेर बसे हुन्छ।'

त्यसपछि सिडियो, एसपी भएकै ठाउँमै उनले भिनाजुलाई धम्क्याए, 'तपाईँले मेरो भान्जीको लाश बुझ्नु भएन भने म जेलमा थुन्दिन्छु।'

त्यसपछि साला भिनाजुबीच विवाद भयो। तै पनि, भण्डारी पछि हटेनन्। 'भिनाजु पागल भएको' भन्दै नगरपालिकाको फोहोर बोक्ने ट्याक्टर लिएर लाश बुझ्न अस्पताल पुगे। सालाले छोरीको शव बुझ्न गएको उनलाई थाहा थिएन।

पछि उनको हर्कत थाहा पाएपछि उनलाई रोके। तर, १४ गते बिहान ६ नबज्दै बिहान यज्ञराज दावावमा शव बुझ्न बाध्य भए।

प्रहरीले स्कर्टिङ गरेर महाकाली नदीमा लाश लिएर गयो। यज्ञ जवर्जस्ती छोरीको दाहसंस्कार गर्न बाध्य भए। निर्मलाको शव जलाइयो। निर्मलाको मलामी प्रहरीमात्र थिए।

लाश बुझ्ने कागजमा तीन पार्टीका सदस्य, सुरक्षाकर्मीको हस्ताक्षरसमेत भयो। त्यसमा 'बलात्कार' नलेखिकन 'हत्या' मात्र लेखिएको थियो। घटना त्यतिकै साम्य पार्ने षड्यन्त्र मुचुल्का उठाइएको थियो।

यता सडकमा आन्दोलन चलिरहेको थियो। निर्मलाको दाहसंस्कार हुनासाथ हल्ला चल्यो, 'निर्मलाको बुवाले १५ लाख लिएर लाश बुझे।'

यो सबै हल्ला उनकै साला तीर्थराजले चलाएका थिए। निर्मलाको बुबा यज्ञराज भन्छन्, 'उसलाई पक्रने हो भने मात्रै घटनाको सत्य तथ्य सार्वजानिक हुन्छ। उस्को दबाब र धम्कीले मैले बाध्य भएर छोरीको दाहसंस्कार गर्नुपरेको हो। उसले उता मिलेर घटना साम्य पार्न खोज्यो।'

**
घटनाको छानविन गर्न बनेको उच्च स्तरीय समितिका सदस्य वीरेन्द्र केसीले निर्मलाका बुवासँग केही दिनअघि भेटेका थिए। उक्त भेटमा केसीले निर्मलाको बुवालाई कोसंग शंका छ भनेर सोधेका थिए, 'बबिता बम र एसएसपी दिल्लीराज विष्ट। अनि सालो तीर्थराज भण्डारीलाई पक्रेपछि सबै घटनको सत्यतथय खुल्छ,' उनले यसै भनेका थिए।

त्यतिबेला केसीले भनेका थिए, 'तपाईँको शंका र मेरो अनुसन्धानको निष्कर्ष उस्तै छ। अबको चार दिनभित्रमा तपाईँले राम्रो खबर पाउनुहुन्छ।'

निर्मलाको बुवालाई चार दिनमा राम्रो खबर पाउनुहुन्छ भनेका केसीले छानविन समितिबाट राजिनामा दिए। दुई दिनपछि फेरि आज उनले राजिनामा फिर्ता गरेका छन्, गृहमन्त्री रामबहादुर थापासँगको भेटपछि।

निर्मलाको बुवा यज्ञराज भन्छन्, ' न्याय खोज्दै काठमाडौँ आएका छौँ। अब न्याय नपाएसम्म कञ्चनपुर फर्कन्नौं।'

(समाचारमा उल्लेखित घटनाक्रम निर्मलाका बुबा यज्ञराजसँगको कुराकानीमा आधारित भएर तयार पारिएको हो।)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell