PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रहरी नै पर्‍यो, प्रहरीको अनुसन्धान जालोमा : अहिलेसम्म सबैभन्दा धेरै पोलिग्राफ परीक्षण प्रहरीकै



सविन ढकाल

प्रहरी नै पर्‍यो, प्रहरीको अनुसन्धान जालोमा : अहिलेसम्म सबैभन्दा धेरै पोलिग्राफ परीक्षण प्रहरीकै

काठमाडौं : कुनै पनि घटनामा अभियुक्तले बयानमा झुटो बोलेको शङ्का लागेमा प्रहरीले गर्ने एउटा परीक्षण हो पोलिग्राफ। साँचो वा झुटो पत्ता लगाउने वैज्ञानिक तवरको परीक्षण विधि नै पोलिग्राफ हो। प्रहरी अघिकृतहरु यसलाई अनुसन्धानको सबैभन्दा भरपर्दो विधि मान्छन्। 

नेपाल प्रहरीले पनि विगत चार वर्षदेखि पोलिग्राफ टेस्ट गर्दै आएको छ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७० माघ २३ गतेबाट पोलिग्राफ परीक्षण गर्न सुरु गरेको हो। प्रहरीले अभियुक्त पत्ता लगाउन भित्र्याएको यो प्रविधि अहिले आफ्नै लागि सकस बनेको छ। पछिल्लो समय प्रहरीले नै प्रहरीको पोलिग्राफ लिन थालेको छ। र, पेशागत हिसामा प्रहरी नै सबैभन्दा धेरै परीक्षणमा परेका छन्।
 
पोलिग्राफ निर्देशिका २०७० मा आन्तरिक तथा कारबाहीको अनुसन्धानमा कुनै पनि प्रहरी कर्मचारीलाई विभागीय कारबाही र स्वयम् आफैँले पोलिग्राफ परीक्षण गराइपाउँ भनी निवेदन दिएको आधारमा पोलिग्राफ परीक्षण लिन सकिने प्रावधान छ। पोलिग्राफ टेस्ट अभियुक्तको मन्जुरीविना भने गर्न पाइँदैन।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई लिएर निलम्बनमा परेका प्रहरीमाथि पनि पोलिग्राफ टेस्ट लिने तयारी भइरहेको छ। एसपी डिल्लीराज विष्टको डिएनए परीक्षण समेत भइसकेको छ।

निलम्बनमा पर्नेहरूमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी छन् जसमा आवश्यक भए यी सबै वा यी मध्ये केहीको पोलिग्राफ पनि हुने नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले क्षेत्रीले जानकारी दिए। 

१ सय ३५ प्रहरीको पोलिग्राफ टेस्ट

३ वर्ष अगाडि डिएसपी दयानिधि ज्ञवालीलाई ३ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्यो। डिएसपी ज्ञवालीले आफूले घुस लिएको स्वीकार गर्ने पक्षमा थिएनन्। अनुसन्धान जटिल बन्दै गयो। अन्ततः उनको पोलिग्राफ लिने भयो। तर, उनले पोलिग्राफ गर्ने मानेनन्। डिएसपी ज्ञवालीले अहिले भने अदालतबाट सफाइ पाइसकेका छन्।

डिएसपी ज्ञवालीले नमाने पनि नेपाल प्रहरीका १ सय ३५ जनाको पोलिग्राफ टेस्ट भइसकेको छ। यो कूल पोलिग्राफ टेस्टको जम्मा ६ प्रतिशतमात्र हो। विभागीय कारबाही, भष्टाचार, घुस र रिसवत लिए लगायतका विषयमा उनीहरूको परीक्षण भएको हो। यसरी पोलिग्राफ टेस्ट हुनेहरूमा सबैभन्दा बढी ट्राफिक प्रहरी रहने गरेका छन्। 'प्रहरी भएकोमा नै कसैलाई छुट हुँदैन। विभागीय कारबाही अन्तर्गत झुटो वा साँचो छुट्याउनु पर्यो भने हामी प्रहरीकै पनि पोलिग्राफ लिन्छौं,' एसएसपी थापाले भने।

पाँच वर्षमा २२ सय ६६ को टेस्ट : ११ सय जनाले बोले झुट

समाजमा प्रविधिको प्रयोगले जटिल किसिमका अपराध बढेसँगै प्रहरीले गर्ने पोलिग्राफ टेस्टको सङख्या पनि चढ्दो छ। पाँच वर्षको बीचमा प्रहरीले जघन्य अपराधदेखि सामान्य चोरीका घटनामा समेत २ हजार २ सय २६ जनाको पोलिग्राफ परीक्षण गरिसकेको छ। यसरी परीक्षण हुनेमा सबैभन्दा बढी पुरुष नै रहेका छन्। १ हजार ९ सय ५० जना पुरुषको पोलिग्राफ हुँदा ३ सय १६ जना महिलाको परीक्षण भएको देखिन्छ। यस्ता पोलिग्राफ टेस्टले प्रहरीको अनुसन्धानमा धेरै सहयोग पुर्याफइरहेको एसएसपी थापा बताउँछन्। 

आर्थिक वर्ष २०७०/७१ प्रहरीले २ सय २५ जनाको पोलिग्राफ परीक्षण गरेको थियो। आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६७ पुग्यो यो संख्या। २०७२/७३ मा ३ सय ९१ जनामाथि यसको परीक्षण भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। २०७३\७४ मा पनि यो सङ्ख्या झनै बढेर ५ सय ४३ पुग्यो। गएको आर्थिक वर्षमा ५ सय ५६ पुग्यो। चालु आर्थिक वर्षमा मात्र ७५ जनाको पोलिग्राफ टेस्ट भइसकेको छ। 

परीक्षणमा १ हजार १ सय १९ जनाले झुट बोलेको, ९ सय ७३ वटामा झुट नबोलेको र १ सय ५१ जनाले भने कुनै पनि राय दिन नसक्ने अवस्थाको रिजल्ट देखियो।  

प्रहरीदेखि नेतासम्मले पोलिग्राफ गर्न मानेनन्

पोलिग्राफ टेस्ट अभियुक्तले दिन चाहेको खण्डमामात्र लिन सकिन्छ। यसमा अभियुक्तलाई गोपनीयताको अघिकार दिएको छ। यही नियमलाई टेकेर अहिलेसम्म केही व्यक्तिले पोलिग्राफ टेस्ट गर्ने अस्वीकार गरेका छन्। अहिलेसम्म २३ जनाले अस्वीकार गरेका हुन्।

नेकपा माओवादी केन्द्रका सांसद ल्हारक्याल लामा, डिएसपी दयानिधि ज्ञवाली र वासुदेव गजुरेल लगायतकाले परीक्षण गर्न मानेनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell