PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संविधान दिवसको दिन राप्रपाको केन्द्रीय समिति बैठकले भन्यो : धर्म निरपेक्षता, गणतन्त्र र संघीयता पुनर्विचार होस्



पहिलोपोस्ट

संविधान दिवसको दिन राप्रपाको केन्द्रीय समिति बैठकले भन्यो : धर्म निरपेक्षता, गणतन्त्र र संघीयता पुनर्विचार होस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राज्य संयन्त्रको प्रभावकारितामा तीब्र ह्रास आएको भन्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विषय पुनर्विचार गर्नुपर्ने जनाएको छ। 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ - आज देशले संविधान दिवस मनाइरहेको अवस्थामा धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता मान्यताबारे पुनर्विचार गर्न समेत राप्रपा आग्रह गर्दछ।

राप्रपाले संविधान जारी भएको ३ वर्ष, धर्म निरपेक्षता र गणतन्त्र लागू भएको ११ वर्ष भइसकेको उल्लेख गर्दै मुलुकमा सबै तहका निर्वाचन भए पनि खराव अवस्थातिर गुज्रिरहेको जनाएको छ।   

'संविधान निर्माण र सबैतहको निर्वाचन समाप्त भएपछि देशमा राजनीतिक स्थिरता कायम हुन्छ र मुलुकको समग्र ध्यान सुशासन र आर्थिक विकास तर्फ केन्द्रित हुनेछ भन्ने आम नेपाली जनताको अपेक्षा र विश्वास रहेको थियो,' बैठकको निर्णयमा भनिएको छ, 'तर, सर्वसाधारण जनताले परिवर्तनको अनुभूत गर्न पाएका छैनन्। मुलुकको अवस्था विगतको तुलनामा जटिल र संकट ग्रस्त बन्दैछ।' 

राप्रपाले देशको कूल आय र सम्पतिको ठूलो हिस्सा अत्यन्त सानो र सीमित समुहमा केन्द्रित रहेको आरोप लगाउँदै राज्यसंयन्त्रको प्रभावकारितामा तीव्र ह्रास आएको जनाएको हो।

साथै संगठित र योजनाबद्ध धर्मपरिवर्तनले नेपालको राष्ट्रिय पहिचान संकटमा पारेको जनाएको छ। 

बैठकले एकता महाधिवेशनबाट पारित बैचारिक मान्यतामा आधारित रहेर समान बिचारधारा रहेका दलहरुसँग सहकार्य र एकता गर्ने सम्बन्धमा अध्यक्ष थापालाई पूर्णअधिकार दिने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell