PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसिड पीडित युवतीको बयान : यौन प्रस्ताव नमान्दा 'ठुलो बाबा'ले एसिड छ्यापे



सागर बुढाथोकी

एसिड पीडित युवतीको बयान : यौन प्रस्ताव नमान्दा 'ठुलो बाबा'ले एसिड छ्यापे

गत आइतवार कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा  जादोलाल दास छोरीहरूलाई एसिड किन र कसले हान्यो भनेर चकित मानिरहेका थिए। कसैसँग शंका थिएन। 

एसिड हान्ने किसिमको कुनै दुस्मनी याद थिएन। सोच्दा सोच्दा उनले टाउको दुख्न थालिसकेको थियो। यता छोरीको अवस्था नाजुक थियो भने उता एक साता बित्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन कसेको थिएन। खर्च नभएर औषधि किन्न सकिरहेका थिएनन्।

छोरीको मोबाइल प्रहरीसँगै थियो। मोबाइलको कल रेकर्डको आधारमा अपराधीको बारेमा केही पत्ता लाग्ने आशा थियो उनलाई। बारम्बार प्रहरीलाई फोन गर्दा जवाफ आउँथ्यो, 'अनुसन्धान भइरहेको छ। केही पत्ता लागे खबर गरौला।'

जवान भएका छोरीहरूलाई कसले हान्यो होला एसिड? उनी यही प्रश्नको उत्तर नपाएर रन्थनिएका थिए।

त्यति नै बेला जिल्ला प्रहरी कार्यालय रौतहटको फोन आयो। प्रहरीले भनेको सम्झे, 'केही पत्ता लागे खबर गरौँला।' अपराधी पत्ता लाग्यो होला भन्ने सोचेर खुसी हुँदै फोन उठाए।

उताबाट सोधियो, 'तपाइसँगै रहेका रामबाबु पासवान र तपाईँको छोरीको समबन्ध के?'

जादोलाल दास अकमक्क पर्दै प्रहरीलाई भने, 'के हुनु र हजुर मेरो छिमेकी हो। साथी हो। छोरीले उसलाई ठुलो बाबा भन्छे। मलाई त त्यस्तो लाग्दैन हजुर।'

'१५ दिनमा एक सय ८० चोटि फोन गरेको छ उसले। केही सम्बन्ध हुनुपर्छ।  उसको हात र खुट्टामा एसिड लागेको छ कि छैन याद गरेर फोन गर्नुस्।'

प्रहरीले त्यति भनेर फोन काटे।

जादोलाल छाँगाबाट खसेजस्तै भए। साथी, छिमेकी, छोरीहरूको ठुलो बाबा। आपत पर्दा सँगै अस्पताल कुरुवा बस्न आएको साथी। उनले सोचेका पनि थिएनन्, त्यतातिर।

प्रहरीले भने अनुसार  जादोलालले  थाहा नपाउने गरी पासवानको  हात र खुट्टा नियाले। नभन्दै एसिडले केही बिग्रिएजस्तै थियो। जादोलालले पहिलोपोस्टसँग भने, 'मलाई एक छिन त विश्वासै लागेन। तर उसले नै हानेको भन्ने हात खुट्टा हेरेर म पक्का भए।'

त्यसपछि जादोलाल आइसियूमा गए। सम्झना अरू दिनभन्दा केही बोल्न सक्ने भएकी थिइन्।

उनलाई सोधे, 'एसिड रामबाबुले हानेको हो?'

सम्झनाले स्वीकृतिमा मुन्टो हल्लाइन्।

'किन हान्यो?  के भएको थियो ?' जादोलालले छोरीलाई सोधे।

सम्झनाले भनिन्,  'सधैजसो फोन गर्थ्यो। ठुलो बाबा सम्झेर उठाएँ, कुरा गरेँ। भेट्न पनि बोलायो। तीन चोटि भन्दा बढी भेटें।'

सम्झना बोल्दै गइन्।

'एकान्तमा बोलाउँथ्यो। मसँग कोही साथी गए भने उनीहरुलाई पठाउथ्यो। मलाई एक्लै राख्थ्यो। एकदिन उसले के के भन्यो। सेक्सको प्रस्ताव राख्यो। उसले भनेको मैले मानिनँ। के के भनेर थर्काएको थियो। त्यसपछि उसलाई भेटिनँ। नम्बर ब्ल्याक लिस्टमा राखिदिए। त्यही भएर उसले नै हानेको होला मलाई यस्तो एसिड।'

छोरीको कुरा सुनेपछि जादोलाल रामबाबुले नै हानेको भन्ने प्रस्ट भए। त्यसपछि उनले प्रहरीलाई छोरीले भनेको कुरा सुनाइदिए।

*****
गत सोमवार किर्तीपुरस्थित कीर्तिपुर अस्पतालमा एक हुल प्रहरीको प्रवेश भयो। अस्पतालमा एकाएक प्रहरी प्रवेश गरेपछि हल्लाखल्ला मच्चियो। प्रहरीले रामबाबु पासवानलाई हतकडी लगाएर लग्यो।

पासवान जादोलालको साथी बनेर आएका थिए। अस्पतालमा एक साता कुरुवा बने। दास दिदी बहिनीले उनलाई ठुलो बाबा भन्थे। उनले पनि पक्राउ पर्नुअघि आफ्नै काखमा हुर्किएका छोरीजस्तै भनेर बयान दिएका थिए। 

तर,उनी एकाएक एसिड आक्रमण गर्ने अभियुक्त बने। ५० वर्षको उमेरमा १८ वर्षीया छोरीलाई एसिड आक्रमण गरे।

छोरीको कुरा सुनेपछि जादवलालले पासवान विरुद्ध किटानी उजुरीसमेत दिएका छन्। प्रहरीले अहिले उनको बारेमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले विभिन्न कोणबाट अनुसन्धान गर्दा पासवान दोषी देखिएको बताएका छन्। अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। तर जादोलाल प्रस्ट छन्, एसिड पासवानले नै हानेको। किनकि छोरी सम्झनाले घटनाको बेलिबिस्तार लगाइसकेकी छिन्।'

सम्बन्धित समाचार


दिदी - बहिनी दुवैमाथि एसिड आक्रमण : कसले र किन गर्‍यो १५ दिनमा १८० कल?

जो बावुजस्तै हुँ भन्थ्यो र घटनाबारे सुनाउँथ्यो अन्तिममा 'भिलेन' नै उही?

दर खाने दिन दुई दिदी बहिनीमाथि भएको एसिड आक्रमणको अभियोगमा कुरुवा नै समातिए

निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell