PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कञ्चनपुर कारागारका कैदीको गुनासोः 'सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ'



पहिलोपोस्ट

कञ्चनपुर कारागारका कैदीको गुनासोः 'सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ'

कञ्चनपुरः वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना मुनि दिनरात गुजार्न बाध्य भएका छन् ।

भवन मर्मत नहँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन्। अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्ट बताउँछन्।

“भवन निकै पुरानो भएकाले छत चुहिन्छ,” उनले भने, “माथिल्लो तलबाट समेत पानी आउने भएकाले कैदी–बन्दीलाई बस्न निकै गाह्रो छ उत्तर–पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने रकम नहँदा त्यत्तिकै छ भने महिला कैदीबन्दी बस्दै आएको भान्साघरको छाना समेत खस्ने अवस्थामा छ ।”

कारागार विभागबाट थोरै बजेट आउँदा उनीहरूको उपचार र खाना खर्चका लागि समेत सो रकमले नपुग्दा मर्मतको कार्य हुन नसकेको उनले बताए ।

कारागारमा पुरुष ७५ र महिला २० गरी ९५ कैदी–बन्दी राख्ने क्षमता भएपनि अहिले पुरुष २७७ र महिला १८ गरी २९५ कैदीबन्दी राखिएका र तिनलाई सुत्नका लागि व्यवस्था नहँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् ।

खानेपानीका लागि र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको गनासो गर्दै कैदी–बन्दी भन्छन, “निकै कष्ट सहेर बाँच्नुपरेको छ  सहजरूपमा बाँच्न पाउनुपर्ने अधिकार पनि खोसिएको छ।”

कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने उनीहरूको माग छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिघा क्षेत्रफलमा फैलिएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell