PahiloPost

Dec 17, 2018 | २ पुष २०७५

जसका लागि कमाउन गएकी थिइन्, उसैमाथि एसिड आक्रमण : हान्निएर मलेसियाबाट फर्किन् धनमाया 

जसका लागि कमाउन गएकी थिइन्, उसैमाथि एसिड आक्रमण : हान्निएर मलेसियाबाट फर्किन् धनमाया 

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : तिजको दिन राती साढे नौ बजे धनमाया दास (तामाङ) को मोबाइलमा घण्टी बज्यो। आमाको फोन रहेछ। फोन उठाउना साथ आमाले आत्तिँदै बोलिन्, 'बर्बाद भो! दुइटै नातिनीहरुलाई एसिड हान्यो रे कस्ले। उपचार गर्न काठमाडौं लगेछ रे।' धनमाया मलेसियामा थिइन्। तिजको दिन साथीहरुसँग रमाइलो चल्दै थियो। मलेसियामा भए पनि नेपाली कामदारलाई तिजको बिदा थियो। गार्मेन्टमा काम गर्ने साथीहरुसँग सुख दु:खका कुरा भइरहेको थियो। गीत बजाउँदै बेलाबेलामा नाचिरहेका पनि थिए उनीहरु।

आमाको फोनले तिजको रमझम एकाएक सेलायो। नाचगान बन्द भयो।

धनमायालाई सुरुमा त विश्वास नै लागेन। तर, आमाको कुरा विश्वास नगर्नु कसरी? के गर्नु र कसो गर्नु भयो। रातभरि निद्रा परेन। बिहान उठेर ड्यूटी गइन, काममा मन लागोस् कसरी?

ड्युटीमा पुग्नासाथ म्यासेन्जरमा नोटिफिकेसन आयो। जादोलाल दासले छोरी सम्झनाको फोटो पठाइदिएका रहेछन्।

'ओहो, विभत्स!'

 आफ्नै छोरी चिन्न नसकिने।

उनी काम गर्ने ठाउँमै बेहोस भइन्। बिउँझिँदा ओछ्यानमा। मंगलवार राति भएको घटना बुधवारमात्रै थाहा पाइन् उनले। बिहीवार काम गर्ने ठाउँमै बेहोस। 

त्यसयता उनका आँखा ओभाएका छैनन्। राम्रोसँग खाना नखाएको बताउँछिन्।  छोरीको विभत्स तस्बिर देखेपछि निद्रा कहाँबाट पर्थ्यो? 'यत्रो दिन भइसक्यो, रातभरि निदाउन सकिन। खान मन लाग्दैन। छटपटी मात्र भइरह्यो,' उनले भावमा उनले भनिन्। 

छोरीलाई एसिड हानेको खबर पाउनासाथ नेपाल आउन मन थियो, उनलाई। तर, भन्नासाथ आउन सम्भव थिएन। अर्काको देश, अर्काका काम। भन्नासाथ छुट्टी मिलेन। छुट्टी मिलाउने कर्मचारी बिदामा रहेछन्। उनको छटपटी बढीरह्यो। छोरीलाई के भयो होला भन्दै सोच्दासोच्दै दिन बिते। खबर पाएको चार दिनपछि बल्लतल्ल छुट्टी मिल्यो।

उनी नेपाल आइपुगिन्। एयरपोर्टबाट सिधै कीर्तिपुर अस्पताल। 

कीर्तिपुर अस्पताल आउनासाथ सम्झनालाई भेट्न पाइनन्। भित्र शल्यक्रिया चलिरहेको थियो। यता बाहिर उनी अत्तालिँदै बसिरहिन्। 'अस्पताल आएपछि झन् गाह्रो। सबै उस्तै बिरामी, भित्र छोरीलाई के हुने होला?' छोरीलाई भेट्नुअघि उनी भुत्भुताउँदै थिइन्। 

***

अस्पतालको प्रतिक्षालयमा बसिरहेकी उनी निराश देखिन्थिन्। कतिखेर नर्सले बोलाउलिन् भन्दै आइसियूतिरमात्रै नजर गढेको थियो। साथमा थिइन् सानी छोरी सुस्मिता। 

आमालाई सुस्मिताले नै घटनाको बेलविस्तार लगाइन्। छोरीको कुरा सुनेर धनमायाको आखाँमा आशु टिलपिल भए। लगत्तै रुन लागिन्। त्यही बेला सुस्मिताले भनिन्, 'तपाईँ रुनु भयो भने म पनि रोइदिन्छु। नरुनू न ममी।'

गहभरि भएको आँशु पुछिन्। दिल खोलेर पनि रुन सकिनन्, छोरीका अगाडि।

एसिड परे पनि सुस्मिताको अवस्था खतरामुक्त भइसकेको छ। अहिले उनी हिँड्डुल गर्न सक्छिन्। दिदी सम्झना भने जोखिममै छिन्। 

***
डेढ वर्षदेखि आमाको साथ नपाएको सुस्मिता आमासँगै लुटपुटिन थालिन् अस्पतालमा। आमा धनमाया टोलाइरहिन्। उदास भएर छोरी सुस्मितालाई हेरिरहिन्। धेरै बेरसम्म त्यहाँ सन्नाटा छायो।

एकछिनपछि आइसियूबाट नर्सको बोलावट आयो। उनी हतारिँदै आइसियू छिरिन्।

सम्झना बेडमा पल्टिरहेकी थिइन्। खुट्टादेखि शरीरसम्म पूरै ब्याण्डेज। नाकदेखि हातसम्म पाइपले सहारा। एउटा आखाँबाट पिप बगेको। अर्को आँखा पूरै बन्द। हामीले पहिलोपटक उनलाई देखेभन्दा उनमा कुनै सुधारको संकेत देखिएको भेटिएन।

सम्झनालाई एकतमासले हेरिरहिन् उनले। शरीर कामे जस्तो भए पनि 'कन्ट्रोल' गरिन्।  आमा छोरीले एक अर्कालाई हेराहेर गरे। सम्झनाले बोल्न त खोजिन् तर आवाज निस्केन। बोल्न सक्ने धनमाया पनि निशब्द रहिन्। 

धेरैबेर आमा छोरीले एक अर्कालाई हेराहेरमात्र गरे। एकदम 'पिन ड्रप साइलेन्स।'

बल्लतल्ल सम्झनाको बोली फुट्यो '...ममी.. ममी..'

त्योभन्दा बढी सम्झनाबाट आवाज आएन।

धनमायाले मसिनो स्वरमा भनिन्,  'म यहीँ छुँ छोरी। म यहीँ छु। बोल न... छोरी बोल न...'

सम्झना छट्पटाइन्। तर, आवाज केही आएन। 

त्यही बेला नर्स भित्रिइन्, धनमाया दौड्दै बाहिर निस्किइन्। बाहिर निस्कनासाथ रुवावासी। आइसियू बाहिर उनलाई सम्हाल्न हम्मेहम्मे पर्यो।

'मेरो छोरी बाँच्दिन अब। मर्छु म पनि छोरीसँगै। त्यो पापीको मेरो छोरीले के बिगारेको'थ्यो र ...।'

धैर्य कतिबेर टिकोस्? मलेसियादेखि कठोर मन लिएर कीर्तिपुर आइपुग्दा धैर्यको बाँध टुटिसकेको थियो। 'छोरीहरुका लागि भनेर कति दु:ख गरेँ। भोक भोकै बसेँ। छोरीहरुकै लागि विदेश गएँ। तर, त्यो पापीले मेरो संसार उजाड बनाइदियो।'

उनका आफन्त उनको अवस्था देखेर गहभरि आँशु भरेर बसेका छन्। उनलाई सम्झाउने हिम्मत छैन, कसैसँग। 

केही क्षणपछि नर्सले  फेरि आइसियूमा बोलाउँछिन्। जिम्मेवारीसँगै उनी झटपट सम्हालिन्छिन्। छोरीलाई हेर्छिन्। सुम्सुम्याउँछिन्। छोरीले सुनोस् या नसुनोस् तै पनि भन्छिन्, 'सब ठीक हुन्छ छोरी म छु' भन्छिन्। 

त्यो बेला छोरी सम्झना फेरि बोल्छिन्। तर, आमा धनमाया बुझ्दिनन्। 

अन्दाजमा भनिदिइन्, 'म यहाँबाट चाँडैबाट निकाल्छु छोरी तिमीलाई। चिन्ता नमान्नू। अब तिम्लाई छोडेर कहिल्लै विदेश जान्न।'
त्यति भनेर उनी आइसियूबाट निस्किइन्।

***
धनमाया विदेश गएको डेढ वर्ष भयो। विगत ५ महिनादेखि उनले छोरीको आवाज सुनेकी थिइनन्। विदेश जानुअघि काठमाडौंमा बहिनीज्वाइ कहाँ सम्झनालाई छोडेर गएकी थिइन्। तर, कान्छीआमा सुत्केरी भएपछि सम्झना गाउँ गएकी थिइन्। आमालाई सहयोग गर्न भनेर जादोलालले सम्झनालाई बोलाएका थिए।

गाउँ गएदेखि आमा छोरीको कुराकानी बन्द भएको थियो। भनिन्, '५ महिना भएको थियो छोरीसँग नबोलेको। अहिले यस्तो भयो। गाउँमा राम्रोसँग फोन नै लाग्थेन्।'

धनमाया तीन वर्ष मलेसिया बसेर नेपाल आएकी थिइन्। ऋण थियो, तिरिन्। छोरीहरुलाई पढाउन, बढाउन खर्च थिएन। सम्बन्ध बिच्छेद भएकाले श्रीमानबाट सहयोग हुन्थेन। छोरीहरुलाई पढाउने बाध्यताले उनी फेरि विदेश भासिइन्। डेढ वर्ष नबित्दै यस्तो घटना घट्यो। भन्छिन्, 'मेरो दुनियाँ उजाडियो। जसको लागि यति धेरै गरेको थिएँ, उनीहरुको हालत नै यस्तो भयो।'

डेढ वर्षमा केही नकमाएको बताउँछिन्, उनी। कमाएको जति ऋण तिर्दै सकिएको सुनाउँछिन्। भन्छिन्, 'सर्वस्व त सकियो, सकियो। छोरीहरुको अवस्था नि राम्रो रहेन। अब म लाचार बनेर छोरीहरु बचाइदिनुस् भन्नुपर्ने हालमा छु।'


ट्रेन्डिङ पोस्ट