PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यातायात व्यवस्था ऐनको विरोधमा हड्तालमा उत्रिएका चालकसँग सहमति, आजदेखि भाडाका सवारी चल्ने



पहिलोपोस्ट

यातायात व्यवस्था ऐनको विरोधमा हड्तालमा उत्रिएका चालकसँग सहमति, आजदेखि भाडाका सवारी चल्ने

काठमाडौँः यातायात व्यवस्था ऐनमा भएको हेरफेरको विरोधमा हड्तालमा उत्रिएका चालक र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सहमति भएकाले शुक्रबारेदेखि भाडाका सवारी चल्नेछ।

जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आन्दोलनरत चालकसँग भएको वार्तामा सहमति जुटेको हो। चालकले बारा पर्सा र रुपन्देहीमा यातायात ठप्पै पारेका थिए भने अन्य स्थानमा बिहीबारदेखि हड्ताल सुरु भएको थियो।

सहमतिपछि बिहीबार रातिदेखि नै भाडाका सवारी साधन चलाउन चालक सहमत भएका हुन्। सवारी साधन चलेपछि काठमाडौँमा देखिएको पेट्रोलियम पदार्थको अभाव समेत कम हुनेछ। तीन दिनदेखि हल्लाकै भरमा ऐनमा चालकलार्इ बढी सजाय राखिएको भन्दै हड्तालमा उत्रिएका थिए।

तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले पहिलाको भन्दा अहिलेको संशोधनले चालकलार्इ कम सजाय भएको बताएपछि चालकले हड्ताल फिर्ता गर्न सहमत भएका थिए।

बारामा भने चालकका जायज माग उच्च तहमा पुर्‍याउने प्रतिवद्धता जनाएपछि हड्ताल फिर्ताको सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी गराए।

‘प्रहरी–प्रशासन र चालकहरू वीच सहमति भएको छ, ’प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘बन्द फिर्ता गरी गृह मन्त्रालय तथा कानुन मन्त्रालयसँग चालकले छलफल गर्नेछ।’

 

रक्सौल देखि ७ किलोमिटरसम्म गाडीको लाइन

असोज १ गते विश्वकर्मा पूजा र २ गते देखि चालकहरूको बन्दको कारण वीरगंज कोरिडोरदेखि रक्सौल नजिक लक्ष्मीपुरसम्म मालसामान बोकेका गाडीको लाइन लागेको छ।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीका अनुसार वीरगंज भन्सार र आईसिपी गरी करिब एक हजार गाडी रोकिएका छन्।

सिर्सिया सुख्खा बन्दरगाहमा करिब तीन सय भन्दा बढी गाडी बन्दरगाह परिसरमा रोकिएको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले जानकारी गराए। त्यसै गरी रक्सौल आईसिपी देखि ७ किलोमिटर दक्षिण सम्म गरी गरी करिब २ हजार गाडी अलपत्र परेको भारतीय भन्सारका अधिकारीहरूले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell