
काठमाडौं : ललितपुरे क्लब थ्री स्टारले शहिद स्मारक ए डिभिजन लिगका लागि टोली घोषणा गरेको छ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका फरवार्ड अनिल गुरुङलाई हिजो मात्र क्लबमा अनुबन्ध गरेको थ्री स्टारले लिगका लागि २५ खेलाडीलाई समावेश गर्दै शुक्रवार टोली घोषणा गरेको हो।
एन्फाले बनाएको नियम अनुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो। त्यसै अनुसार थ्री स्टराले दर्ता गरेको खेलाडीको नाम अफिसियल फेसबुकपेज मार्फत सार्वजनिक गरेको हो।
तर यसअघि थ्री स्टार क्लबबाट मोफसलको फुटबल खेलेका राष्ट्रिय टिमका खेलाडी विमल घर्ती मगर भने थ्री स्टारको टोलीमा छैनन्। थ्री स्टार क्लबा कार्यवाहक अध्यक्ष अरुण मान जोशीले विमलसँग छलफल भइरहेको र केही दिनमै टुङ्गो लाग्ने पहिलोपोस्टलाई बताए।
अनिलसँगै रन्जन विष्टलाई पनि थ्री स्टारले क्लबमा भित्र्याएको छ। यस्तै राष्ट्रिय टिमका सदस्य अनन्त तामाङ, सुनिल बल, विक्रम लामा, निराजन खड्का, एलान न्यौपाने जस्ता खेलाडी पनि पाटने टिममा छन्।
थ्री स्टारले लिगका लागि भनेर केही समयअघि देखि प्रशिक्षण गरिरहेको छ।
झण्डै पाँच वर्षपछि एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेको थियो। थ्री स्टारले २०७२ सालमा भएको राष्ट्रिय लिगको उपाधि जितेको थियो।
थ्री स्टारको टोली
गोलकिपर : एलान न्यौपाने, पूर्ण चेम्जोङ, अभिषेक बराल
डिफेण्डर :अनन्त तामाङ, रजिन धिमाल, विजय धिमाल, विष्णु सुनुवार, अशोक खवास, जिवन गुरुङ, पिटर सेगुन
मिडफिल्डर : विक्रम लामा, निराजन खड्का, सुनिल वल, रुपेश केसी, मिसन लामा, मिक्छेन तामाङ, दिपेश घले, सुशील राई, दिपसन राउत
फरवार्ड : अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध लामा, सुसन श्रेष्ठ, अजयी मार्टिन, जेनिस प्रजापती
करिब ५ बर्षपछि हुन लागेको ए डिभिजन लिग आगामी असोज १३ गतेबाट सुरु हुदैछ ।