PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा गोली हानी हत्या, औँला भारतको अन्डरवर्ल्डतिर किन ? 



पहिलोपोस्ट

नेपालमा गोली हानी हत्या, औँला भारतको अन्डरवर्ल्डतिर किन ? 

काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले शुक्रवार छानबिन समिति गठन गरेको छ। 

शुक्रबार प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। समितिमा सशस्त्र प्रहरी उपरीक्षक रेशम कुमार यम्सु, अनुसन्धान निर्देशक तुलसी प्रसाईँ, प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजेन्द्र पाण्डे छन्। 

अज्ञात समूहले बिहीवार बिहान ११ बजे उनीमाथि दुई गोली प्रहार गरेको थियो। एउटा गोली टाउकोमा लागेको अन्सारीको घटना स्थलमा नै मृत्यु भएको हो। 

अन्सारीको हत्यामा भारतीय प्रहरीतर्फ नै शंका गर्न थालिएको छ। नेपालमा आएर अन्डरवर्ल्ड डनले यस्ता घटना घटाउने समेत गरेका छन्।


१. मिर्जा दिलसाद वेग : सिफल

१५ असार, २०५५ मा राजधानीको सिफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या गरिएको थियो। राति भएको यो घटनामा बेगका चालक भुवन कार्कीलाई पनि गोली हानी मारिएको थियो। प्रहरीले ‘दाउद इब्राहिमका लागि काम गर्ने बेगको हत्या छोटा राजन समूहले गरेको’ निष्कर्ष निकालेको थियो। यसबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक समितिले पनि उनको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारलाई बुझायो।


२. जमिम शाह : लाजिम्पाट

२०६६ माघ २४ मा राजधानीको लाजिम्पाटमा सञ्चार उद्यमी जमिम शाहको भारतीय अन्डरवर्ल्ड डन छोटा राजन समूहले गोली हानी हत्या गरेको थियो। याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर गाडीमा पानीपोखरीस्थित घरमा जाँदै गरेका शाहलाई अज्ञात समूहले गोली हानेको थियो। ना १ च २१५१ नम्बरको कारमा रहेका थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानेका थिए। प्रहरीले घटना भएको केही वर्षपछि घटनामा संलग्न प्रहरीसहित केहीलाई पक्राउ गरेको थियो।


३. फैजान अहमद : घण्टाघर 

इस्लामिक सङ्घ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते राजधानीको घण्टाघर अगाडि गोली हानी हत्या गरिएको थियो। फैजानको हत्यामा भारतीय पेशेवरको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरे पनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्।


४. कमलसिंह नेपाली : बानेश्वर

२४ भदौ २०६३ मा बानेश्वरमा कमलसिंह नेपालीको हत्या भएको थियो। वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली पहिले छोटा राजनको समूहमा काम गर्थे, पछि दाउदका लागि काम गर्न थालेका थिए। छोटा राजन समूहकै निर्देशनमा उनलाई नयाँ बानेश्वरमा गोली हानी मारिएको थियो। उनका हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन्।


५. युनुस अन्सारीको हत्या प्रयास

२०६७ फागुन २६ गते राजधानीको सुरक्षित कारागार भनिएको सुन्धारा कारागार भित्र नै युनुस अन्सारी माथि हत्याको प्रयास भयो। जेलभित्र नै भारतीय सार्प सुटरले गोली हानेको अनुसन्धानमा देखिएको थियो। उनलाई नक्कली भारतीय नोटको विषयलाई लिएर गोली प्रहार भएको देखियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell