PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

यस्तो रह्यो चार वर्षीया जीवित देवी कुमारीको पहिलो रथयात्रा, फोटो र भिडियो

यस्तो रह्यो चार वर्षीया जीवित देवी कुमारीको पहिलो रथयात्रा, फोटो र भिडियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी आज एक सातासम्म मनाइने इन्द्रजात्राको आज प्रमुख दिन कुमारी रथ यात्रा मनाइयो। आज जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलार्इ तल्लो टोलमा रथयात्रा  'क्व:ने या' गराइयो।

आज कुमारी घरबाट रथ यात्रा सुरु भई मरु, अट्को नारायण, जैसीदेवल, मजिपात, लगन, ह्युमत, कोहिटी, भिमसेनस्थान हुँदै पुन: कुमारी घर ल्याई रथयात्रा सम्पन्न भयो।

गत दशैँमा १२ वर्ष पुगेपछि तत्कालीन कुमारी मतिना शाक्यले कुमारीबाट अवकाश पाइन। त्यसपछि विजयरत्न शाक्य र श्रृजना शाक्यकी छोरी तृष्णा शाक्यलार्इ नयाँ कुमारीका रुपमा छानियो। परम्परा अनुसार महाअष्टमीका दिन तलेजु भवानीको मन्दिरमा बज्रयानी र तन्त्र परम्परा अनुसार पूजा गरी नयाँ कुमारीलाई विधिवत स्थापित गरी कुमारी घर भित्राइएको थियो। जीवित देवी कुमारीको रूपमा चार वर्षीया तृष्णाको इन्द्रजात्रामा यो पहिलो रथयात्रा हो।

यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्तिहरूले वसन्तपुरस्थित गद्दी बैठकबाट जात्रा अवलोकन गरे। भूकम्पका कारण गएका वर्षहरुमा गद्दी बैठक मर्मत भइरहेकाले त्यहीँको डबलीमा कार्यक्रम हुँदै आएको थियो।

रथ यात्रासँगै मजिपा: लाखे, किलगलको पुलुंकिसि, सव:भव लगायत विभिन्न नाच पनि वसन्तपुर क्षेत्रमा देखाइएको थियो।

आजै रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा सोही बाटो हुँदै 'बौमत:' र 'दागीं' ले नगर परिक्रमा गर्ने  परम्परा रहेको छ।

भोलि पनि कुमारी, भैरव र गणेशको रथ यात्रा गरिन्छ। माथिल्लो टोलमा रथ यात्रा गरिने भएकोले यसलार्इ थ:नेया भनिन्छ। कुमारी घरबाट सुरु हुने रथ यात्रा प्याफल, नरदेवी, टेंगल, बांगेमुढा, असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेर रथ यात्रा सम्पन्न हुन्छ।

अन्तिम दिन (असोज १२ गते शुक्रवार) भने नानिचा:या: अर्थात् बीचको टोलमा रथयात्रा गरिन्छ। कुमारी घर बाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि वसन्तपुर पुगेर रथ यात्रा समापन हुन्छ।

त्यसैदिन भक्तपुरको नालाबाट ल्याइ हनुमानढोकामा ठड्याइएको य:सी ढालिन्छ र टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत रुपमा सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell