
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउबीच द्वीपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७३औँ महासभा (युएनजिए–७३)मा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र ट्रुडेउबीच महासभा साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा दुई समकक्षीले दुई देशको द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै सम्बन्धका वहुआयामिक विषयहरुमा चर्चा गरेका थिए। भेटवार्ताका क्रममा दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको न्यूयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
भेटपछि क्यानडाका प्रधानमन्त्रीले नेपालमा भएको एतिहासिक परिवर्तनपछि नेपाल र क्यानडाबीच पहिलो उच्चस्तरीय भेट भएको भन्दै खुसी व्यक्त गरेका छन्। ‘५३ वर्ष लामो क्यानाडा–नेपाल द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन पाउँदा खुसी छु,’ उनले भने।
उनले नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा साथ र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्। भेटपछि क्यानडाका प्रधानमन्त्रीले ट्रुडेउले दुई देशबीचको प्रजातन्त्र, अशलसासन, आर्थिक विषस समावेशिता र समानताको विषयमा छलफल भएको ट्वीट गरेका छन्।
Canada & Nepal are longstanding friends - and this morning, I met with PM Khadga Prasad Sharma Oli to strengthen the ties between our countries and talk about democracy, good governance, economic growth, inclusion and equality. pic.twitter.com/2Fh0x2aD4n
— Justin Trudeau (@JustinTrudeau) September 24, 2018
भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई देशका प्रधानमन्त्री स्तरमा भेटवार्ता हुने अवसर नजुरेको बताउँदै उनले नेपाललाई निरन्तर सहयोगका लागि क्यानडा सरकारप्रति हार्दिक आभार प्रकट गरे। उनले भूकम्पपछिको पुनःनिर्माण तथा राहतमा क्यानडाले पुराएको सहयोगप्रति धन्यवादसमेत ज्ञापन गरे।