PahiloPost

May 22, 2019 | ८ जेठ २०७६

छोरीहरु बलात्कार र एसिड आक्रमणले आक्रान्त, कसरी हुने सुरक्षित?

छोरीहरु बलात्कार र एसिड आक्रमणले आक्रान्त, कसरी हुने सुरक्षित?

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : तिजको दर खाएको मध्यरातमा एसिड प्रहारमा परेका रौतहटकी दास दिदी बहिनीमध्ये सम्झनाको गत आइतवार निधन भयो। १८ वर्षीया सम्झनालाई उनका आफ्नै छिमेकी ५० वर्षीय रामबाबु पासवानले एसिड प्रहार गरेका थिए।

उनको निधन भएको भोलिपल्ट नवलपरासीमा २६ वर्षीय वसन्ती परियारमाथि एसिड प्रहार भयो। वसन्तीमाथि पछाडिबाट छुरा प्रहार गरी, एसिड छ्यापिएको थियो। उनलाई एसिड छ्याप्ने अभियुक्त विमल श्रीपाली पनि छिमेकी नै थिए।

त्यस्तै बुधवारमात्र पोखरामा १० वर्षीय बालिका श्रेया विकको बलात्कारपछि हत्या भयो। उनको बलात्कारपछि हत्या गर्ने पनि उनका छिमेकी नै थिए।
गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। 

+++


बलात्कार!  

एसिड प्रहार। 

बलात्कारपछि हत्या!  

नरुचाउँदा नरुचाउँदै पनि पछिल्लो समय निरन्तर हेर्न, पढ्न र सुन्न बाध्य समाचार हुन् यी। समाचारहरु हेर्दा बालिका हत्या र बलात्कारको ग्राफ ह्वत्तै बढेको देखिन्छ।

यी घटनाले अभिभावकलाई त्रसित बनाइरहेको पनि छ। 

'साँच्चै के हाम्रा छोरीहरु सुरक्षित छन् त?'

समाचार र पछिल्ले तथ्यांकले यस्तै देखाउँछ। प्रहरीको तथ्यांक भन्छ, 'दैनिक एक भन्दा बढी बलात्कारको उजुरी प्रहरीकोमा पुग्छ।'

+++


यस्तो विकराल अवस्थाबाट छोरीहरुलाई कसरी सुरक्षित बनाउने त? 

एउटा उदाहरण हेरौँ:-

एक वर्षअघिको काठमाडौंको जर्सिङपौवास्थित कालिका स्कुलमा ५० जना भन्दा बढी किशोरीहरु तालिम लिइरहेका थिए। हाउभाउले देखाइरहेको थियो - उनीहरु मार्सल आर्ट, कम्फु र बक्सिङ एकैपटक सिक्दैछन्। कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी भने थिएन त्यो। उनीहरुले तालिम लिनुको उद्देश्य थियो - आफु सुरक्षित हुनु।

त्यो आत्मरक्षाका लागि तालिम थियो। एक हप्तासम्म तालिम लिए उनीहरुले।

पहिलो दिन तालिम लिन लजाएका थिए उनीहरु। एक अर्कालाई हेर्दै लाजले भुतुक्क भएका थिए। 

‘तिमीहरु कसैलाई कसैले नराम्रो व्यवहार गरेको छ? तिमीहरुले कसैले आफू हिंसामा परेको महसुस गरेका छौँ?’ सुरुमै प्रशिक्षकले प्रश्न गरे।

सबैजसो किशोरीहरु मुख रातो पिरो पारेर भूइँमा हेरिरहेका थिए। जवाफ कसैबाट आएको थिएन।  हलभरी सन्नाटा छाइरहेको बेला एउटी किशोरीले साहस गरिन्, ‘मलाई स्कुल जाँदा सधै गाडीमा जथाभावी छुन्छन्। नराम्रो बोल्छन्।’

त्यसपछि अर्की किशोरीले, ‘हाम्रोतिर त एक्लै घाँस काट्न जान डरमर्दो छ। स्कुल जाँदा होस् या अन्य कामले सुनसान ठाउँमा एक्लै हिड्न सक्दैनौं, डर लाग्छ। अस्ति नै हाम्रो गाउँमा नराम्रो घटना भयो,' भनेकी थिइन्।

त्यसपछि मात्र अन्य किशोरीहरु बोल्न थालेका थिए। अधिकांश  किशोरीहरुको एउटै आशय थियो- उनीहरु सुरक्षित छैनन्। 

हरेक दिन उनीहरु कुनै कुनै न हिंसा सहन बाध्य छन्। त्यसैले उनीहरु त्यहाँ तालिम लिन आएका थिए –  मात्र ज्यान जोगाउनका लागि।  

तालिमको अन्तिम दिन हाउभाउ फेरियो उनीहरुको।

निर्धक्कसाथ भन्दैथिए - तालिमले आत्मविश्वास बढायो। अब त जोगिन्छ। त्यस्तै परे अरुलाई पनि बचाउनेछु।

प्रहरीका अनुसार अधिकांश महिला हिंसामा पर्ने किशोरीहरु बढी देखिन्छन्। यो त 'टिप अफ आइसबर्ग'मात्र हो। यस क्षेत्रका अभियन्ताहरु भन्छन्, 'प्रहरीमा पुग्ने त समुन्द्रको माथि देखिएको हिउँमात्र हो, समुन्द्रभित्रको पहाड कत्रो छ भन्न सकिन्न।'

+++


आत्मरक्षा तालिममा एक जना १४ वर्षीया किशोरीले आफ्नो कथा यसरी सुनाएकी थिइन्।

'मेरो नाम निरु तामाङ (परिवर्तित) हो। मलाई ४ वर्षअघि आफ्नै मामाको छोराले यौन दुर्व्यवहार गरे। घरमा बताउँदा घटना बाहिर ल्याउन रोके। त्यतिकै मिलाए। मैले उल्टो दुर्व्यवहार सहनुपर्यो। बुवा आमाले पनि साथ दिएनन्। मलाई धैरै तनाव भयो। पढाइ बिग्रियो।' 

त्यस ठाउँमा उनको जस्तै कथा बोकेका किशोरीहरु धेरै छन्। त्यो त गाउँको कथा भयो शहरमै उच्च ओहोदामा पुगेका महिला पनि बलात्कारको शिकार भएका छन्।

ज्वलन्त उदारण हुन, विना कार्की (नाम परिवर्तन)।


विना अहिले परिवारसँग रमाइरहेकी छिन्। उनको विगत पीडादायी छ। उनी माओवादी जनयुद्धमा सक्रिय थिइन्। युद्धकै बेला सेनाले समात्यो। बलात्कार गर्यो। सेनाले दिएको यातना सम्झिँदा अझै भक्कानिन्छिन् उनी। भन्छिन्, ‘मलाई सेनाले पटकपटक मारे। रक्ताम्य पारे। जीवन माया मारेको मान्छे बाँचेँ।’

विना देशमा शान्ति छाएपछि माओवादी राजनीतिमा सक्रिय भइन्। राजनीतिबाट सांसद हुँदै राज्यमन्त्री समेत बनिन्। समाजमा महिला तथा किशोरी असुरक्षित देखिरहेकी छिन् उनले। घटना कम गर्न प्रतिकारको विकल्प नभएको बताउँछिन्। आत्मरक्षा तालिमले प्रतिकार गर्न सजिलो पार्ने सुनाउँछिन्। 

मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी समाजमा किशोरीहरु कुनै न कुनै हिंसाबाट पीडित भएकाले आत्मरक्षा तालिम दिनुपर्ने बताउँछिन्। हिंसा न्युनिकरणका लागि घरबाट नै के गर्दा हिंसा हुन्छ सिकाउने र प्रतिकार गर्न सक्ने बनाउनुपर्ने उनको कथन छ। स्कुलमा अनिवार्य रुपमा आत्मरक्षा समबन्धी छुट्टै कोर्ष बनाउनुपर्ने उनको तर्क थियो।

किनकि, आत्मरक्षा तालिममा अपराधीको नियत कसरी पत्ता लगाउने, त्यसको समाना कसरी गर्ने सिकाउँछन्। 'फाइट ब्याक' नामक संस्थाले विभिन्न स्कुलमा गएर किशोरीहरुलाई आत्मरक्षा तालिम सिकाइरहेको छ। त्यही अन्तर्गत उनीहरुले आत्म सुरक्षा तालिम सिकेका थिए।

उक्त संस्थाबाट १० हजार भन्दा बढी छात्राहरुले आत्मरक्षा तालिम सिकिसकेका छन्। ति मध्येकी एक हुन् १६ वर्षीया मीना (नाम परिवर्तन )। उनले आफू असुरक्षित भएकाले नै तालिम लिन आएको सुनाएको थिइन्। तालिमले आत्मविस्वास बढाएको तर्क थियो उनको। आपत परे लड्न सक्ने बताएकी थिइन्।

त्रिचन्द्र कलेजमा स्नातक दोस्रो वर्षमा विज्ञान पढिरहेकी आरजु केसीको कथा उस्तै छ। उनी लप्सीफेदीबाट नै कलेज धाउँछिन्। सधैं बसमा यात्रा गर्नुपर्ने बाध्यता हो। हरेकदिनको बस यात्रामा सधै सास्ती बेहोर्नपर्छ। 

‘हात समात्ने, पछाडिबाट टाँसिने, हात राखेको ठाउँमा छुने, बस खाली हुँदा पनि ठेलठाल गर्ने सधैंजसो हुन्छ,’ केसीले सुनाएकी थिइन्, ‘पहिले डर लाग्थ्यो, अहिले डर हराएको छ।’


+++
रेणु तामाङको घरमा पुग्दा उनी घरायसी काम गर्दै थिइन्। उनका २ छोरीहरु १९ वर्षीया ज्योति र १३ वर्षीया जेनी सेल्फ डिफेन्सको टेक्निकहरु अभ्यास गरिरहेका थिए।

‘मान्छे जति शिक्षित भए पनि छोरीहरु कहिल्यै सुरक्षित नहुने भए। अलिकति साँझ पर्दा आफ्नै गाउँमा एक्लै हिड्न सक्ने अवस्था छैन। अन्य ठाउँमा जस्तै हाम्रो छोरीहरु असुरक्षित छन्’ रेणुले सुनाएकी थिइन्।

गाउँमा कुटपिट हातपात र सामान्य झैझगडालाई महिला हिंसा नै नमान्ने प्रचलन रहेको उनले सुनाइन्। उनका अनुसार त्यस ठाउँका धेरै छोरीहरु गायब छन्। भूकम्पपछि हराएका अझै आएका छैनन्। पहिला हराएका दशौं वर्षपछि फर्केका थिए।

त्यसैले पनि त्यहाँ आत्म सुरक्षा तालिम आवश्यक थियो।



प्रशिक्षकका अनुसार उनीहरुलाई दिने तालिम मुलत: मार्सल आर्ट होइन। आत्म रक्षाका लागि आवश्यक सबै स्किल किशोरीहरुले सिक्न सक्छन्। हरेक ठाउँमा असुरक्षा बढेकाले तालिमको आवश्यक देशभरी रहेको सुनाउँछन्।

फाइट ब्याकले विभिन्न जिल्लामा गरी १० हजारभन्दा बढी छात्राहरुलाई आत्मरक्षा तालिम दिइसकेको छ। तिनै छात्राहरुलाई विभिन्न जिल्लामा आत्मरक्षा तालिम दिएका प्रशिक्षक अभिनभ भट्टराइले एक वर्ष अघि नै भनेका थिए,  "जताततै असुरक्षित रहेछन् छोरीहरु। सबैलाई आत्मरक्षा तालिम आवश्यक छ।"

यो घटनाक्रम हेर्दा हरेक महिला तथा किशोरीलाई  आत्मरक्षा तालिम आवश्यक देखिन्छ। आत्मरक्षा तालिम सिकेमात्र हाम्रा छोरीहरु आक्रमणबाट जोगिन सक्छन्।


फोटो : गगन थापा


ट्रेन्डिङ पोस्ट