PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५

एचआइभी संक्रमित बच्चाहरूको दशैँ, २३ बच्चाको 'डिमाण्ड'ले पिरोलिएको राजकुमारको कथा

एचआइभी संक्रमित बच्चाहरूको दशैँ, २३ बच्चाको 'डिमाण्ड'ले पिरोलिएको राजकुमारको कथा

सागर बुढाथोकी/पहिलोपोस्ट


दशैँको माहोल आउन थालेपछि राजकुमार पुनलाई केटाकेटीले सोध्न थाल्छन्, 'ड्याडी, मलाई लुगा कहिले किन्दिने? गाडी कहिले किन्दिने? खसी ल्याउने कहिले?'

त्यसपछि पुनको चिन्ताको पारो बढ्न थाल्छ। चिन्ता नबढोस् पनि कसरी? २३ जना बच्चाले एकै पटक 'डिमाण्ड' जो गर्छन्। २३ जना बच्चाका 'ड्याडी' हुन् उनी। उनका सन्तान सामान्य हैनन्,  एचआइभी संक्रमित। बच्चाहरुलाई खुशी राख्नु उनको धर्म हो जुन निर्वाह गरिरहेका छन्।

अरु वर्षको दशैँ झैँ यसपालि पनि केटाकेटीहरूले 'ड्याडी सपिङ गर्न कहिले जाने?' भनेर सोधिसकेका छन्। पुन हिसाब किताब मिलाउँदै खर्चको जोहो गर्दैछन्। केही दिनमा सपिङ गराउन लैजाने योजना बनाएका छन्। भन्छन्, 'यिनीहरुको अनावश्यक डिमान्ड छैन, भावनात्मक डिमाण्ड हो। त्यसैले म उनीहरुलाई निराश बनाउँदिन।'

पुनले ८ वर्षदेखि एचआइभी संक्रमित बालबालिका पालिरहेका छन्। एचआइभीकै कारण आमा बुवा गुमाएका अनाथ छन् केही। केहीका आमाबुवा भए पनि सम्पर्कमा छैनन्। आफन्त झनै टाढा छन्। यी बालबालिकाको संसार नै राजकुमार हुन्। सबैले 'ड्याडी' भनेर बोलाउँछन्। त्यही सम्बोधनकै कारणले पनि उनी 'कम्प्रोमाइज' गर्न चाहँदैनन्। पुरानो लुगा भिडाउन उनको आत्माले मान्दैन।

पुन हरेक वर्ष बच्चाहरुसँगै दशैँ मनाउँछन्। टिकाको दिन बच्चाहरुलाई आफ्नै घर लैजान्छन्। उनका बुवाआमाले पनि टीका लगाइदिन्छन्। त्यसपछि मात्र उनको पालो आउँछ यी सन्तानहरुलाई टीका लगाइदिने। उनी यी बालबालिकालाई आफ्नो मामाघरदेखि आफन्तकहाँ पनि लैजान्छन् टीका थाप्न। दशैंमा फिल्म देखाउने र नयाँ ठाउँ घुमाउन पनि भ्याउँछन्। खसी त होस्टेलमै काटिन्छ।

जन्म दिने बावुआमाभन्दा टाढ रहे पनि दशैंको उनीहरुका लागि अविस्मरणीय बन्ने गर्छ। 'सेलिब्रेटी' हरु यिनै बालबालिकासँग दशैं मनाउँन आउँछन्। खाने कुरा र नयाँ कपडा उनीहरुले पनि ल्याइदिन्छन्। सेलिब्रेटी आउँदा माहोल नै फरक हुन्छ। समाज सेवा गर्न चाहने सामान्य व्याक्ति पनि यहाँ पुगिरहन्छन्।

अघिल्लो वर्षको दशैं अझ विशेष रह्यो उनीहरुका लागि।  प्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ६० हजार रुपैयाँ सहयोग गरिन्। त्यही सबैले नयाँ लुगा पाए।  राधिकाले आफ्नै निवास बालकोटमा निम्त्याइन्। उनीहरु गए। टिका लगाए, खाना खाए। नाचगान गरे र रमाएर फर्किए।

त्यस्तै २ वर्षअघिको दशैँमा कलाकार राजेश हमाल स्कुलमै पुगे। यी बालबालिकाले राजेश हमालसँग खेल्न पाए। नेपाली सिनेमामा उचो कद बनाएका हिरोले उनीहरुलाई टीका लगाइदिए। दशैँ मनाउन सहयोग पनि गरे।

***

बालबालिकालाई संस्कार सिकाउनका लागि  दशैं राम्रैसँग मनाउने बताउँछन् पुन। स्कुलमै मै जमरा पनि राखिन्छ। घर र मामाघर लग्नुको कारण पनि संस्कार सिकाउनकै लागि भएको उनले बताए। यी अवोधहरु निराश नहुन् भन्ने लाग्छ उनलाई।

एचआइभी संक्रमित भएका कारण धेरैजसो बालबालिका बिरामी परिरहन्छन्। त्यसैले पनि धेरै सावधानी अपनाउनुपर्छ। एक जना बिरामी भए अन्य साथीहरुको दशैँ खल्लो हुन्छ। अपर्झट अस्पाताल लगेर आइसियूमा भर्ना गरेको उदाहरण धेरै छ उनीसँग। तर, दशैँको बेला त्यस्तो अहिलेसम्म भएको छैन। नहोस् भन्ने कामना गरिरहन्छन्।


होस्टलेको छतमा बालबालिका खेलिरहेका छन्। केही चंगा उडाउँदै त केही लुकामारी। सबै आफ्नै आफ्नै तालमा मस्त। खेलिरहेका मध्ये करणलाई सोध्यौँ,  'दशैँ भनेको के हो?' सात वर्षीय करणले एकै सासमा जवाफ दिए, 'खशी काट्ने, मासु खाने। मामाघर जाने। टिका लाउने, घुम्न जाने।'

सबैको  जवाफ करणको जस्तै थियो। उनीहरुलाई आफ्नो घर जान मन नभएको पनि सुनाए। के बन्ने रहर छ त यिनीहरुलाई?

बच्चाहरुले पालैपालो भन्न थाले, 'म डाक्टर बन्छु।

'म शिक्षक बन्छु।'

'म पाइलट बन्छु।'

'म मोडल बन्छु।'

यसरी नै सबै बच्चाहरुले आफ्ना एक एक थान सपना सुनाए। र, आफ्नै तालमा खेल्न थाले।

 

यसरी मोडियो राजकुमारको बाटो

२०६६ साल। महिना याद छैन राजकुमारलाई। कान्तिपुर दैनिकमा 'दाङमा एचआइभी संक्रमित बालबालिकाको बिचल्ली’ भन्ने समाचार आयो। समाचारले उनको सोचाइमा १८० डिग्रीको परिवर्तन ल्याइदियो।

राजकुमार स्कुलमा साधारण प्रशासक थिए। समाज सेवामा चासो शून्य। एकाएक मनमा आएको परिवर्तनले आफैं चकित थिए।

साथी उमालाई खबर सुनाए। समाज सेवामा चासो राख्ने उमालाई पनि समाचारले छोयो। बच्चाहरुलाई  सहयोग गर्न लत्ताकपडा, कापी कलम र खाद्यान्न बोकेर उनीहरु दाङ पुगे।

कुपोषणले गर्दा बच्चाहरुको शरीरमा हाडछाला मात्र बाँकी थियो। लगाउने लुगा थिएन। समाजबाट घृणित थिए भने आफन्तबाट तिरस्कृत। एउटै गाउँमा त्यस्ता धेरै बच्चाहरु! राजकुमार चिन्तित भए।

‘बाबु यी बच्चाहरुलाई यहाँबाट लगिदिनुस्। यिनीहरुले गर्दा हाम्रो छोराछोरी बाँच्दैनन्। अरुलाई पनि एचआइभी सार्छन्,’ एक जना महिलाले राजकुमारलाई आग्रह गरिन्।

त्यो कुराले राजकुमारको मनमा चिसो पस्यो। बुवाआमा नभएकालाई सहारा दिनुपर्ने साटो आफन्तले बोझ ठानेका रहेछन्। राजकुमार बच्चाहरु लिन गएका थिएनन्। तर, आफूसँगै ल्याउने निष्कर्षमा पुगे।

दाङका सिडिओले कुनै संस्था दर्ता नभई बालबालिकालाई लैजान नपाउने बताए। राजकुमारले त्यहाँ भेटिएका निरिहहरुलाई आश्वासन दिएर काठमाडौं फर्के।

संस्था दर्ता गराउन सजिलो थिएन। यस्ता बालबालिका पाल्नसक्ने स्रोत देखाउनुपर्थ्यो। राजकुमार न व्यापारी थिए न धनाढ्य परिवारका सदस्य नै।

‘बच्चा लिन नजाउँ, मनदेखि नै समाजसेवा गर्ने 'भुत चढेको' छ। जाउँ सस्था दर्ता गर्नै गाह्रो,’ राजकुमारले भने, ‘मैले कीर्तिपुरमा भएको घरको लालपुर्जा राखेँ। उमाले कस्मेटिक होलसेलबाट आएको नाफा संस्थामा खर्च गर्ने कागज गरिन्।’

२०६७ सालमा ‘बेबी लाइफ होम’ नामक संस्था दर्ता भयो।

४ जना बालबालिकालाई काठमाडौं ल्याए। दाङका सिडिओले बस्ने, खाने र पढाउने शर्तमा कागज गराएका थिए।

काठमाडौँको धेरै ठाउँ चहार्दा पनि राजकुमारले कोठा पाएनन्। सबैको जवाफ एउटै हुन्थ्यो, ‘यस्तो एड्स लागेकालाई हाम्रो घरमा राख्दैनौं।’

राजकुमारले आफ्नै घरमा राखे। नियमित स्वास्थ्य जाँच र पोषणयुक्त खाना पाएपछि उनीहरु स्कुल पठाउन लायक भए।

स्कुल भर्ना गर्नलाई कोठा खोजेभन्दा धेरै सास्ती! जुन स्कुल पुगे पनि प्रिन्सिपलहरु भन्थे, ‘यस्ता बच्चाहरु राखेर रिस्क मोल्न सक्दैनौं। अरु अभिभावहरुले थाहा पाए हाम्रो स्कुलबाट बच्चा झिकेर लैजान्छन्। सरी!’

राजकुमारलाई फेरि आपत पर्‍यो। त्यतिबेला उनीसँग एचआइभी संक्रमित १० जना बालबालिका भइसकेका थिए। पढाउन ल्याएको उनीहरुलाई बिचल्ली पार्न धर्मले दिँदैनथ्यो।

उनको एकमात्र विकल्प थियो- काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई भेट्ने। समस्या सुनिसकेपछि तत्कालीन जिशिअ बाबुकाजी कार्कीले भने, ‘बच्चाहरुलाई आफैँ स्कुल खोलेर पढाउनुस् म स्कुलका लागि अनुमति दिन्छु।’

२०६८ सालमा कीर्तिपुर नगरपालिकामा स्कुल खोले। स्कुलले कक्षा ५ सम्म पढाउन अनुमति पायो। त्यही स्कुल नेपालको एचआइभी संक्रमित बालबालिकाहरुलाई पढाउने एकमात्र स्कुल बन्यो।

स्कुल त खुल्यो सञ्चालन कसरी गर्ने?  शिक्षकहरुलाई तलब कहाँबाट दिने? राजकुमारको मुख्य चिन्ता यही थियो। सहयोग कतैबाट आएको थिएन। स्कुल बनाउनेदेखि हरेक सामान जोड्नको लागि पैसाको जरुरत थियो। बच्चाहरुलाई भोकै राख्ने कुरा थिएन।

राजकुमारले विकल्प भेटेनन्। ३० लाखमा घर बेचे। कीर्तिपुरमा जग्गा भाडामा लिए। टहरोमा स्कुल बनाए। त्यतिबेला उनलाई पागल भन्नेहरुको कमी थिएन।

२०७२ सालमा भूकम्पले टहरो पनि भत्काइदियो। टेन्टमा बस्न सुरक्षित थिएन। समस्या दोहोरियो।

धेरै ठाउँ घर खोजे। तर, कतैबाट सकरात्मक जवाफ पाएनन्। राजकुमार थकित भए। ५० लाखमा बेबी लाइफ होमको नाममा १० आना जग्गा जोडे। स्कुल बनाए। केही रकम नेपालीहरुबाट सहयोग जुट्यो भने केही रकम आफैँ हाले। ऋण समेत बोक्नुपर्‍यो।

अहिले पनि उनी एनजीओ आइएनजीओको पैसामा बालबालिका नपढाउने बताउँछन्। बालबालिकाको फोटो देखाएर सहयोग लिने पक्षमा छैनन् उनी। भन्छन, ‘मैले नाम र दामका लागि हैन आत्मसन्तुष्टिका लागि पढाएको हो।’

अहिले उनले व्यावसायिक तरकारी खेती गरेका छन्।  कुखुरा फार्म चलाएका छन्। अन्य विभिन्न व्यावसायमा हात हालेक छन्। त्यहाँबाट आएको नाफा बालबालिकालाई खर्च गर्छन्। केही समाजसेवी दाताहरुले पनि सहयोग गरेका छन्।

 

अन्योलमा भविष्य

एचआइभी संक्रमित बालबालिकाको क्षमता सामान्य बालबालिकाको भन्दा कम नभएको राजकुमार बताउँछन्। बच्चाहरुले विभिन्न ठाउँमा गएर पुरस्कार जितेका छन्। खेलकुददेखि, चित्रकला,  नृत्य र अभिनयमा पोख्त छन्। उनीहरुको अन्य बालबालिका सरह सपना छ। राजकुमार भन्छन्, ‘उनीहरुलाई खाँचो छ त अवसरको।’

उनीहरुको भविष्यप्रति चिन्तित छन् राजकुमार। एचआइभी संक्रमित बालबालिका राख्दा समाज नै जाइलागेको घटना बिर्सेका छैनन्। त्यस्ता घटनाले नियमितजसो चिन्तित बनाउँछ। दिक्क मान्दै भन्छन्, ‘अब १० कक्षा पछि कलेजले भर्ना लिन मान्दैन। जागिर पाउँदैनन्। त्यो बेला यिनीहरुलाई कति चोट पर्दो हो? कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेको छु।’

केही पछि बालबालिकाहरुलाई नै संस्था हस्तान्तरण गर्ने सोचमा छन् उनी। बच्चाहरु आफूजस्तैको हितमा काम गर्न इच्छुक पनि छन्। बच्चाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने योजना छ उनको। भन्छन्, ‘यिनीहरुका लागि गर्दै छु। हेरौँ कति सम्म सफल हुन्छु।’



ट्रेन्डिङ पोस्ट