PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


केटाहरुलाई ‘बेबी डल’ खेलाएर, केटीहरुलाई उफ्रन लगाएर लैँगिक समानता सिकाउँदै आइसल्यान्डको स्कूल


पहिलोपोस्ट

केटाहरुलाई ‘बेबी डल’ खेलाएर, केटीहरुलाई उफ्रन लगाएर लैँगिक समानता सिकाउँदै आइसल्यान्डको स्कूल

  • सफोरा स्मिथ -
इलिया कक्षाकोठामा राखिएको टेबल माथि चढिन्। मुठ्ठी पारेको हातलार्इ हावामा फाल्दै तल रहेको निलो म्याटमा उफ्रिन्।

उनको आँखामा निकै गर्व र खुसी देखिन्थ्यो। लाग्थ्यो,  आफूले आफैलार्इ बलियो महसूस गरिरहेकी थिइन्। 

लाउफासबोर्गमा रहेको सोही नर्सरी विद्यालयको अर्को भागमा भने केटाहरु एकअर्कालार्इ लोसन लगाई मसाज गर्दै थिए। 

लैंगिक समानताका हिसाबले आइसल्यान्ड लगातार पहिलो स्थानमा रहँदै आएको छ।  तर नर्सरी विद्यालयमा अभ्यास गरिँदै आएको यस्तो सट्ली (hjalli) मोडेलको प्रयोग आइसल्यान्डमै पनि धेरै क्रान्तिकारी मानिएको छ। 

सन् १९८९ मा आफूलार्इ कट्टरपन्थी नारीवादी भन्ने मार्ग्रेट पाला ओलाफ्सडोटिरले थालेको सट्ली विद्यालयको उद्देश्य समाजमा लैंगिक रुपमा विद्यमान पुरातन संस्कार र लैंगिक भूमिकाको विरोध गर्नु हो। यसमा केटा र केटीहरुलार्इ धेरै समय अलग्गै राखिन्छ। 

केटालाई केटी जस्तो र केटीलाई केटा जस्तो अभ्यास

उनीहरु आफ्ना लैंगिक व्यवहार भन्दा फरक व्यवहारको अभ्यास गर्दै थिए। उनीहरु निडर हुनुका साथै अरुलार्इ सहयोग गर्ने र सम्मान गर्ने प्रयत्न गर्दै थिए। 

मार्ग्रेट भन्छिन्, 'समानताको नजिक आउन एकअर्काबीचको असमानता र कमजोरीहरु स्वीकार गर्नु पर्छ।'

सट्ली सिद्धान्तका अनुसार केटाकेटीहरुलार्इ फरक राख्दा उनीहरुमा व्यक्तित्वको विकास हुन्छ। यसबाट उनीहरुले पुरातन लैंगिक भूमिका र निश्चित धारणाहरुका बीच कुनै दबाब बिना नै आफूमा रहेको प्रतिभा थाहा पाउन सक्छन्। विद्यालयमा रहेका खेलौनाहरु सबै लैंगिक समानतामा आधारित छन्। सबै बालबालिकाहरुले एकनासको पोसाक लगाउँछन्। 

६० वर्षीया मार्ग्रेटका अनुसार केटीहरुमा हुने संवेदनशीलता र हेरविचार गर्ने बानीले उनीहरु सहानुभूतिको पात्र बनी शिकार हुने गरेका छन्। जबकि केटाहरुको सामर्थ्य र शक्ति आक्रामक हुनुका साथै हिंस्रक हुने गर्छ। 

केटालाई केटी जस्तो र केटीलाई केटा जस्तो अभ्यास गराउने पहिले निकै विवादास्पद मानिएको यो प्रयोग हाल करिब तीन लाख ३५ हजार जनता रहेको टापु देशमा निकै चर्चित हुँदैछ। 

तीन दशकअघि खुलेको पहिलो सट्ली विद्यालयपछि हाल आइसल्यान्डको नर्सरी कक्षामा पढ्ने उमेरका ८ प्रतिशत बालबालिका यस्तो विद्यालयमा पढ्दैछन्।

पुतलीहरु केटाका लागि मात्र     

केही दिनअघि एक सट्ली प्राथमिक विद्यालयमा दुर्इ केटाहरु बेबिसिटर (बालबालिको हेरचाह गर्ने व्यक्ति ) बनेको अभिनय गर्दै थिए। 
मार्ग्रेटले 'हामीले बच्चाहरुलार्इ छिट्टै तयार पार्नुपर्छ। उनीहरुको अभिभावक आउँदैछन्' भन्दै गर्दा ओलीज त्यहाँको टेबलमा रहेको डल्स (पुतलीहरु) मिलाउँदै थिए। उनकी साथी अरी लिलजन 'तिमीले बच्चाहरुलार्इ यसरी बोक्नुपर्छ' भन्दै सिकाउँदै थिए।

उनीहरुका शिक्षक क्रिस्टिन कार्डिउले कक्षाकोठामा मैनबत्ती बाल्नुका साथै कलाकारको अभिनय गर्न भरिएको कोठामा 'ब्लाइन्डस' बनाएका थिए। कक्षाकोठाको अर्को कुनामा केटाहरु एकअर्काका कपाल मिलाउँदै थिए,  नेलपोलिस लगाउँदै थिए वा शरीर मसाज गर्दै थिए।

हप्तामा एक पटक 'जेन्डर कम्पेनसेसन'को कक्षा संचालन गर्ने बताउँदै कार्डिउ भन्छन् 'डल्सहरु केटाहरुका लागि मात्र हो। केटीहरुले यो अभ्यास गर्नुपर्दैन।'  

यसको मुख्य उद्देश्य केटाहरुमा सहानुभूति र स्याहार गर्ने प्रवृत्तिलार्इ सशक्त बनाउनु हो। यस्तै केटीहरुलार्इ उनीहरुमा साहस र आत्मविश्वासहरुलार्इ सशक्त बनाउनु हो। त्यसका लागि उनीहरुलार्इ नचिच्याई खाली खुट्टा हिउँमा दौडिन लगाइन्छ। 

ओलाफस्डोटिर भन्छिन्, 'जब सन्तानका रुपमा एक छोरी मात्र हुन्छ। तब केही पनि 'गर्ली' लाग्दैन। त्यहाँ पुराना लैंगिक सोच रहँदैन। यस्तै केटाहरुले केही हदसम्म केटीहरुको जस्तै व्यवहार गरेको खण्डमा उनीहरु गर्ली वा सिस्सी कहलिँदैनन्।'

तर केही नयाँ व्यवहारहरु प्राकृतिक रुपमा नै आउने गर्छ। त्यसलार्इ 'जेन्डर कम्पेनसेसन वर्क'बाट मिलाउनुपर्नेमा ओलाफस्डोटिरले बताइन्। उनी केटीहरु सामाजिक रुपमा सक्षम हुनेमा विश्वस्त छिन्।  

केटाहरु भने आफैमा केन्द्रित हुन्छन्। ‘म’ भन्ने विषयमा केन्द्रित हुन्छन्। अघि आउँछन् र खेलहरु प्रति झुकाव राख्छन्। 

कार्दिउ उनको कक्षामा रहेका अरु केटाहरुले यस्तो 'कम्पेनसेसन' कार्यहरुमा रमाउन थालेको बताउँछिन्। यसलार्इ उनीहरुले बाध्यकारी भन्दा पनि मनोरञ्जनका रुपमा लिन्छन्। 

तर केटाहरु कहिलेकाहीँ आफ्नो 'लाइन'बाट विमुख हुन्छन्। 

कलासम्बन्धी कक्षाका लागि जाने बेलामा उनीहरुबीच ठेलमठेल भयो। 

'मलार्इ ऊ भन्दा अगाडि जाने अनुमति छ,' आफ्नै कक्षाको एक साथीलार्इ इंगित गर्दै एक बालकले भन्यो।

कार्डिउले 'तिमीसँग अनुमति छैन' भन्दै उसलार्इ यथास्थानमा फर्काइदिए। 

'कुट्नु र चोट पुर्‍याउनु केटाहरुको चरम कमजोरी हो।'

ओलाफस्डोटिरका लागि कुट्नु र चोट पुर्या उनु 'ब्लु हेज' भित्र पर्छ। 

रुन हुँदैन, आँसु पुछ्न प्रतिबन्ध

विद्यालयमा केटीहरुका कारण पनि केही समस्या देखिएका छन्। सहभागीहरुले रुख चढ्नुका साथै पर्खालमा हिँड्नु थियो। 

'मलार्इ उचाइबाट डर लाग्छ,' एक बालिकाले भनिन्। 

'तिमी यहाँ १०० पटक हिँडिसकेकी छौ,' उनकी शिक्षक अडा हल्डले उसलार्इ निडर हुन प्रेरणा दिँदै थिइन्। 

केही समयपछि अर्की एक केटीले आफू रुखमा अड्किएँ भन्दै कराइन्। 

हल्ड भन्दै थिइन् ' तिमीलार्इ सहयोग चाहिँदैन। तल झर।'

दुर्इ केटीहरु ठुस्स पर्दै थिई। 'म उनीहरुप्रति नजर राखिरहन्छु। तर उनीहरुले मसँग कुरा गर्न सक्नुपर्छ' भन्दै हल्डले सबै केटीहरुले सिधै स्पष्ट बोल्नु आजको आवश्यकता भएको बताइन्। 

आपतकालीन अवस्थामा बाहेक त्यस विद्यालयका शिक्षकहरु सहायताका लागि अघि आउँदैनन्। 

रुनलार्इ निरुत्साहित गरिएको छ भने आँशु पुछ्न प्रतिबन्ध लगाइएको छ। 

कार्डिउ भन्छिन्, 'मानिसहरु त्यसलार्इ अलि क्रुर भएको ठान्छन्। तर महिलाहरुलार्इ नरोक्दा उनीहरु झनै कमजोर हुन्छन्।'

विज्ञहरुका अनुसार केटीहरुलार्इ रोएर आफूलार्इ प्रस्तुत गर्न सिकाइन्छ। त्यसैलार्इ गलत प्रमाणित गर्न यो मोडल अपनाइएको उनी बताउँछिन्।

तीन पुस्ताको योगदान

बाहरा रगहिलडरडोटिर तीन दशक अघि सट्ली नर्सरी स्कूलमा प्रवेश गर्ने पहिलो ब्याचकी विद्यार्थी थिइन्। त्यसबेला उनी दुर्इ वर्षकी थिइन्। 
टेबलबाट उफ्रिनु र हिउँमा खाली खुट्टा दौडेको उनलाई राम्ररी याद छ।

'त्यसले मलार्इ साहस दियो। त्यसले मलार्इ चुनौतीहरुबाट नडराउन सिकायो।'

सट्ली मोडेलले आफूलार्इ पछि सहायता गरेको बताउने ३१ वर्ष पुगेकी बाहराले आफ्नी छोरी रगन्हलडुर ओबिनलार्इ लउफस्बोर्ग विद्यालयमा पठाएकी छिन्।

केटाहरुले गर्ने कामको बारे आफूले धेरै सिकेको बताउँदै उनले आफूले फाइनान्सियल इन्जिनियरिङ भन्दा पहिले केही महिलाका साथ कम्प्युटर साइन्स सिकेको बताइन्। हाल एक टेलिकम्युनकेशन कम्पनीमा प्रोजेक्ट म्यानेजर रहेकी उनी कार्यालयको बैठकहरुमा आफू एक्लो महिला हुने बताउँदै थिइन्।

आमाको नाताले विद्यालयको प्रभाव आफूले बुझेको बताउँदै उनले 'एक दिन छोरीलार्इ निदाउनका लागि गीत सुनाउन खोज्दा छोरीले आफूमा हिम्मत भएको र निदाउनका लागि गीत सुन्न नपर्ने' भनेकी सम्झिन्छिन्। 

छोरीले आफूहरुको भाषामा हुने गल्ती औँल्याइदिने बताउँदै भन्छिन्, 'उनी 'पुलिस वमन' बन्न चाहन्छिन्। 'पुलिस मेन' होइन। यो ठूलो कुरा हो। उसलार्इ ऊ एक लिडरको रुपमा बलियो छौ भनेर बुझाउन पाउँदा म खुसी छु।'

रगहिलडरडोटिरकी आमा रगदिडुर सिगमन्डोटियर अनुसार ओलाफ्सडोटिरले एक जमानामा नराम्रो मानिएको विद्यालय उनकी छोरीका लागि राम्रो हो भनेर बुझाइन्।     

१९८० तिर सट्ली विद्यालयमा अध्यापन गराएकी ६३ वर्षीया सिगमन्डोटियर भन्छिन् 'मेरो उद्देश्य भन्नु नै महिलाहरुलार्इ बलियो बनाउने थियो।' 

साथै उनले यसका कारण आइसल्यान्डमा लैंगिक समानता बढेको बताउँदै थोरै जनसंख्या भएकाले आफूहरुलार्इ आवाज उठाउन सजिलो भएको बताइन्। 

सिगमन्डोटियरले आइसल्यान्डका महिलाहरु निकै सशक्त रहेको तर्क गरिन्। 

कृषिमा आधारित आइसल्यान्डको अर्थतन्त्रमा महिला र पुरुषले खेतीपातीमा समान स्तरले काम गर्छन्। यसकासाथै श्रीमानहरु समुन्द्री क्षेत्रमा कामको लागि जाँदा महिलाहरुले नै घरको सबै व्यवस्था मिलाउँछन्। 

केही दशक अघि आइसल्यान्डमा महिलाहरुले ठूलो आन्दोलन गरेका थिए। त्यसबेला महिलाहरुले एक दिनका लागि काम गर्न, खाना पकाउन, घर सफा गर्न र बालबालिकाहरुलार्इ हेर्न बन्द गरिदिएका थिए। 

यही वर्षको सुरुवातमा आइसल्यान्डमा महिला र पुरुषलार्इ समान पारिश्रमिक दिने कानुन बनाउने प्रकिया सुरु भएको थियो। 

अस्पष्ट मोडेल

बालबालिकाहरुमा सट्ली मोडेलको प्रभाव भने अझै स्पष्ट हुन सकेको छैन। 

सन् २०२४ देखि २०१६ सम्म युनिभर्सिटी अफ रेकजाभिकले गरेको अनुसन्धानका क्रममा आइसल्यान्डमा रहेका अरु सार्वजनिक विद्यालयमा भन्दा सट्ली विद्यालयमा पढेका विद्यार्थीहरु लैंगिक समानताका बारेमा सजग रहेको उल्लेख छ।

सट्ली विद्यार्थीहरुले अभिभावकहरुले नै परिवार र घरायसी कामहरुको दायित्व लिनुपर्ने बताएका छन्। 

सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थी भन्दा सट्ली विद्यार्थीहरुले शैक्षिक क्षेत्रमा राम्रो गरेका छन्।

तर यस रिपोर्टका सह लेखक बर्गलिन्ड जिसलाडोटिरले भने सबै निष्कर्षहरु सकारात्मक नरहेको बताएकी छिन्। उनले एउटै कुरा पढ्दै गर्दा पाँच छ कक्षामा पढ्ने विद्यार्थीहरुको पढ्ने बानी निकै कमजोर रहेको बताइन्।  

युनिभर्सिटी अफ आइसल्यान्डका प्राध्यापक क्रिस्टिन कार्लसडोटिरले ग्राह्रो प्रश्नहरुको उत्तर सट्ली विद्यार्थीहरुले दिँदा छक्क परिन्। खेलकुदका साथै बालबालिकाहरुलार्इ सल्लाह दिइने हुँदा उनीहरु निकै कल्पनात्मक भएको भन्दै क्रिस्टिन भन्छिन् 'फरक फरक क्षमतालार्इ एकै साथ प्रयोग गरी काम गर्न उनीहरु सिपालु छन्।'

तर यो पद्धति सट्ली विद्यालयमा मात्र नभई आइसल्यान्डमा संचालित अरु नर्सरी विद्यालयमा रहेको उनको बुझाइ छ। 

 शैक्षिक पद्धतिमा मात्र नभई केटा र केटीहरुलार्इ छुट्टाछुट्टै राखिनुले पनि यो मोडलको आलोचना हुने गर्छ। ओलफस्डोटिरलार्इ त बालबालिकाहरुको लैंगिक परिवर्तन गरेको आरोपसमेत लागेको थियो। 

लामो समयदेखि सट्ली मोडेलको आलोचक रहेका युनिभर्सिटी अफ एकुरिएरीमा 'अर्ली चाइल्डहुड'का प्राध्यापक रहेका क्रिस्टिन डफ्रजोरोले त्यस्ता स्कुलहरु राजनीतिक, व्यापारी र धार्मिक नेताहरुको धनी सन्तान पढ्ने विद्यालय रहेको बताइन्। 

सट्ली विद्यालयहरु निजी हुन्। आइसल्यान्डको सार्वजनिक विद्यालयभन्दा यसको शुल्क महंगो छ। एक जना बच्चालार्इ एक महिनासम्म विद्यालय पठाउँदा करिब २ सय ८१ डलर पर्छ। सार्वजनिक विद्यालयमा भने महिनाको २ सय २७ डलर पर्छ। 

डफ्रजोरोका अनुसार सट्ली विद्यालय पद्धतिमा विगत ३० वर्षदेखि कुनै नयाँ परिवर्तन भएको छैन। त्यसैले उनी त्यसमा बालबालिकाहरुको विकासका लागि केही कार्यक्रमहरु थप गर्नुपर्ने बताउँछिन्।

उनले आइसल्यान्डमा सिकाइने सट्ली सिद्धान्तमा आधारित लैंगिक समानताको मोडल कुनै नयाँ वा अदभूत नभएको तर्क गरिन। 

‘राजकुमारले बचाउन आउला भनेर पर्खिन्नँ’


सट्लीबाट आफैँमा विश्वास गर्नुपर्छ भन्ने भाव केही केटीहरुले सिकिसके। परी कथाहरु बारे उनीहरु स्पष्ट विचार राख्ने भइसके। उनीहरुका लागि कमजोर राजकुमारी र बहादुर राजकुमारको कथा पुरानो भइसक्यो। 

  'यदि म राजकुमारी भएको भए र मेरो अगाडि ड्रागन भएको भए म आफैँ समाधान खोज्थेँ,' ९ वर्षीया काथा भन्छिन् ' म कुनै राजकुमार आएर मलार्इ बचाउन आउने प्रतिक्षामा हुन्नथेँ।'

काथाको कुरामा अरु केटीहरुले पनि सहमति जनाइन्। त्यसपछि उनीहरु योद्धा बनी अभ्यास गर्न थाले।

(एनबिसी न्युजबाट सहयोग रञ्जितको भावानुवाद)
  

 



केटाहरुलाई ‘बेबी डल’ खेलाएर, केटीहरुलाई उफ्रन लगाएर लैँगिक समानता सिकाउँदै आइसल्यान्डको स्कूल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट