PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अनशनको एक सय १२ औं दिनमा अग्रवालको निधन, गंगा सफाइको माग गर्दै थिए धर्नामा



पहिलोपोस्ट

अनशनको एक सय १२ औं दिनमा अग्रवालको निधन, गंगा सफाइको माग गर्दै थिए धर्नामा
फाइल फोटो : पिटिआइ

दिल्ली : भारतमा ११२ दिनदेखि गंगा सफा गर्नुपर्ने माग गर्दै आमरण अनशनमा बस्दै आएका वातावरणविद् प्राध्यापक जीडी अग्रवालको निधन भएको छ। स्वामी ज्ञानस्वरुप सानंदका नामले परिचित अग्रवालले गंगा नदी र त्यसको सहायक नदीहरुको आसपास भइरहेका जलविद्युत परियोजना निर्माण बन्द हुनुपर्ने लगायतका माग राख्दै आएका थिए। 

जुन २२ देखि अनशनमा बसेका अग्रवालले ९ अक्टोबरदेखि पानी समेत पिउन बन्द गरेका थिए। त्यसपछि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलार्इ जबर्जस्ती अस्पतालमा भर्ना गरिएको थियो। 

८६ वर्षे अग्रवालले गंगालार्इ अविरल बनाउनका लागि गंगा संरक्षण प्रवन्धन अधिनियम लागू हुनुपर्ने माग गर्दै आएका थिए। 

अधिनियम पारित गरिएको अवस्थामा गंगासँग सम्बन्धित धेरै समस्याहरु आफै समाधान हुने उनको तर्क थियो। विधेयक पारित नभएसम्म उनले आफू अनशनबाट पछि नहट्ने बताएका थिए। 

उनले मोदी सरकारले संसदको आगामी सत्रमा सो विधेयक पारित गरे धेरै राम्रो हुने तर सरकारले त्यसो नगरे धेरै व्यक्तिहरुको मृत्यु हुने बताएका थिए। 

अनशनका क्रममा अग्रवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ आफ्नो भाइका रुपमा सम्बोधन गर्दै गंगा नदीका सम्बन्धमा तीन पत्र पठाएका थिए। तर, मोदीले उनको कुनै पनि पत्रको उत्तर नदिएको दी वायरले जनाएको छ। 

तर, उनै मोदीले भने अग्रवालको निधनप्रति ट्वीटर मार्फत् समवेदना व्यक्त गरेका छन्। मोदीले अग्रवालले गंगा नदीको स्वच्छताका लागि पुर्यामएको योगदान सधै याद रहने बताएका छन्।

यता, सामाजिक संजालमा भने जीवित रहेसम्म मोदीले अग्रवाललार्इ बेवास्ता गरेको र मृत्युपछि भने राजनीति गर्दै शोक प्रकट गरेको भन्दै आलोचना भएको छ।  

सन् २०१४ मा मोदीले गंगालार्इ सफा गर्ने बताएका थिए। तर, हालसम्म गंगालार्इ स्वच्छ र सफा बनाउनका लागि प्रभावकारी कदमहरु नउठाएको विभिन्न रिपोर्टहरुले उल्लेख गरेको छ। 

गंगा नदीका सम्बन्धी अध्ययन गर्न बनेको एक संसदीय समितिले सरकारले गंगा सफाइका लागि गरेको कार्यहरु पर्याप्त नभएको निष्कर्ष निकालेको थियो। 

गंगा नदी सम्बन्धी मुद्दालार्इ लिएर सन् २०११ मा अनसन बसेका स्वामी निगमानंदको पनि ११५ दिन पछि निधन भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell