PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्नपूर्णलगायत प्रमुख ट्रेकिङ रुटको प्रवेश शुल्कमा ५ सय प्रतिशतसम्म वृद्धि, पूर्व जानकारी नै नदिई एक्कासी शुल्क बढाइएकोमा आपत्ति



पहिलोपोस्ट

अन्नपूर्णलगायत प्रमुख ट्रेकिङ रुटको प्रवेश शुल्कमा ५ सय प्रतिशतसम्म वृद्धि, पूर्व जानकारी नै नदिई एक्कासी शुल्क बढाइएकोमा आपत्ति

काठमाडौँ : ट्रेकिङको हाइ सिजन सुरु हुँदै गर्दा सरकारले प्रमुख ट्रेकिङ रुट र राष्ट्रिय निकुञ्जहरुको प्रवेश शुल्कमा भारी वृद्धि गरेको छ। 

सोमबार (असोज २९ गते) राजपत्रमा सूचना प्रकाशित गर्दै शुल्क बढाइएको हो। बढेको दर अनुसार शुल्क लिन आजकै मितिमा मातहतका कार्यालयहरु र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लगायतलाई पत्राचार गरिएको छ।  

विदेशी पर्यटकहरुको प्रमुख रोजाइमा पर्ने अन्नपूर्ण, गौरीशंकर र मनास्लु संरक्षित क्षेत्रको प्रवेश शुल्कमा ५ सय प्रतिशतसम्म वृद्धि गरिएको छ। यी संरक्षित क्षेत्रमा प्रवेशका लागि सार्क क्षेत्र बाहेकका देशका नागरिकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। अघिल्लो दरभन्दा यो १५० प्रतिशत बढी हो। 

त्यसैगरी सार्क क्षेत्रका देशका नागरिकलाई ५ सय प्रतिशत शुल्क बढाएर १ हजार रुपैयाँ तोकिएको छ। नेपाली नागरिकहरुले पनि अब १०० रुपैयाँ तिर्नुपर्नेछ। 

तराई टुर्स एन्ड ट्राभलका एमडी विज्ञान अर्यालले ट्रेकिङ कम्पनी र एसोसिएसनलाई पूर्व सूचना नै नदिई एक्कासी आजैदेखि लागू हुने भनी संशोधित शुल्कबारे खबर गरिएकोमा आपत्ति जनाए। 

'यसले पर्यटन क्षेत्र विशेष गरी एक्यापमा नकारात्मक असर पर्ने निश्चित छ', अर्यालले प्रश्न राखे, 'सरोकारवालालाई पूर्व जानकारी नै नदिई एक्कासी कसरी शुल्क बढाउन मिल्छ?'

राष्ट्रिय निकुञ्जहरुको प्रवेश शुल्कमा वृद्धि

सरकारले राष्ट्रिय निकुञ्ज नियमावली २०३० को नियम २४ ले दिएको अधिकार प्रयोग गरी प्रवेश दस्तुर पनि संशोधन गरिएको छ। संशोधित दर अनुसार अब चितवन राष्ट्रिय निकुञ्जमा नेपाली नागरिकले प्रति व्यक्ति प्रति दिन १५० रुपैयाँ तिर्नुपर्नेछ। सार्क मुलुकका नागरिकले १ हजार रुपैयाँ र अन्य विदेशी नागरिकले २ हजार रुपैयाँ तिर्नुपर्नेछ। 

यसअघि विदेशी नागरिकले भ्याटसहित १६९५ तिर्नुपर्थ्यो भने सार्क क्षेत्रका नागरिकले ८४७ रुपैयाँ ५० पैसा र नेपाली नागरिकले ११३ रुपैयाँ तिर्नुपर्थ्यो। 

त्यसैगरी हिमाली राष्ट्रिय निकुञ्जमा नेपालीलाई १००, सार्कका नागरिकलाई १५ सय र अन्य विदेशीलाई ३ हजार शुल्क तोकिएको छ। यस्तै खप्तडमा नेपालीलाई १००, सार्कलाई ५०० र विदेशीलाई १५ सय शुल्क तोकिएको छ। 

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा नेपालीलाई १००, सार्कलाई ७५० र विदेशीलाई १५ सय तोकिएको छ।

हात्ती चढेर राष्ट्रिय निकुञ्ज वा आरक्ष घुम्न अब नेपाली नागरिकलाई प्रति व्यक्ति प्रति घण्टा ५ सय रुपैयाँ पर्नेछ भने सार्क मुलुकका नागरिकलाई १५ सय र अन्य विदेशीलाई २५ सय पर्नेछ। 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका लागि नेपालीले प्रवेश शुल्क १०० तिर्नुपर्नेछ भने सार्क मुलुकका नागरिकले ६ सय र अन्य विदेशी नागरिकले १ हजार रुपैयाँ तिर्नुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell