PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


शक्ति साधना : शोकलाई शक्तिमा बदल्दै सीमा र संगीता


सागर बुढाथोकी

शक्ति साधना : शोकलाई शक्तिमा बदल्दै सीमा र संगीता

शहरदेखि गाउँसम्म दशैंले झपक्कै छोपेको छ। विदेशिएकाहरु देश फर्किरहेका छन्, शहरकाहरु गाउँतिर। 

किनमेलले बजारको चहलपहल ह्वात्तै बढाएको छ। बालबालिकादेखि वृद्धसम्मलाई 'दशैं फिभर' लागेको छ। सपिङ फिभर उत्तिकै। 

सीमा बस्नेत र संगीता मगरको पनि दौडधुप बढेको छ, यतिबेला। तर, उनीहरुको दौडधुप बजारमा हैन, अस्पतालमा। चाड मनाउन हैन, एसिड आक्रमणमा परेका महिलाहरुलाई सहयोग जुटाउन।

पछिल्लो समय एसिड आक्रमणका घटना धेरै भए। धेरै महिलाको अनुहार एसिडले पोलेको छ। 

सीमा र संगीता पनि त्यसको अपवाद हुन सकेनन्। चार वर्षअघि उनीहरुमाथि ट्युसन पढ्दै गर्दा प्रहार भएको थियो, एसिड। जिन्दगीको भयानक घटना। त्यसपछिघरबाट निस्कन सकेनन्। समाजमा अनुहार देखाउने हिम्मत आएन।

'अरुले के भन्लान्?' यही डरले कोठामै गुम्सिए। शरीरमात्र हैन मन पनि त्यसरी नै गुम्साए। उकुसमुकुसले होला, लामो समयसम्म टिकेन कोठाभित्रको गुम्स्याँइ।
 
बाँच्नुको यथार्थ अनुहार लुकाएर बस्नु हैन - यही कुरालाई आत्मसात गरे र अनुहार देखाएर हिड्ने हिम्मत गरे।

सजिलै जुटेको हिम्मत थिएन, त्यो।

एक महिनाअघि संगीताको अपरेसन चल्दै थियो। अस्पतालमै हुँदा खबर पाइन्, रौतहटका दिदी बहिनीमाथि सुतेकै ठाँउमा एसिड प्रहार भयो। यस्तो सुन्दा असह्य पीडा भयो संगीतालाई। केही दिनपछि सुनिन्, कीर्तिपुर अस्पतालमा उपचार गर्दा गर्दै दिदी सम्झनाको मृत्यु भयो।

आफ्नै अपरेसन चलिरहेकोले अस्पताल पुग्न सकिनन् उनी। रुनुबाहेक संगीतासँग अरु उपाय थिएन। केही दिनपछि फेरि सुनिन्, नवलपरासीमा एक जना महिलालाई छिमेकीले एसिड प्रहार गरे।

असह्य भयो। छटपटाहटले रोक्न सकिनन् आफूलाई। त्यसपछि केही गर्नैपर्छ भन्ने लाग्यो। 

त्यही बेला सीमाको फोन आयो,  'जाउँ हिड चितवन। एसिड आक्रमणमा परेकी वसन्ती परियारलाई सहयोग गर्नुपर्छ।' 

ढुंगा खोज्दा देउता मिलेजस्तो भयो संगीतालाई। 

चितवन यात्रा शुरु भयो। एसिड आक्रमणमा परेपछि कोठाबाहिर संगीताको पहिलो यात्रा थियो त्यो। 

'एकाएक यस्तो निर्णय कसरी?

'एसिड आक्रमण बढ्दै गएपछि अति भयो जस्तो लाग्यो,' संगीताले भनिन्, 'अब त जसले जति हेरोस्, अनुहार लुकाउँदिन। आफू जस्तैका लागि लड्छु।'

विगत सम्झेर निराश नहुने आँट पलाएको छ संगीतामा। घरमै गुम्सिएर बस्ने गल्ती नदोहोर्यादउने सुनाउँछिन्।

'हिजोका दिन सबै सपना चकनाचुर भएजस्तो लाग्थ्यो, आज तीभन्दा ठूला सपना देख्न थालेकी छु,' दृढपूर्वक संगीताले थपिन्, 'शोकलाई शक्तिमा बदलिसकेको छु। अब मेरो अनुहारबाट मुस्कान हराउने छैन।'

सँगै दुर्घटनामा परेकी सीमाले यस्तो हिम्मत केही वर्ष अघि नै गरेकी थिइन्। उनले एसिड आक्रमणमा परेकाको लागि काम थालेको पनि धेरै समय भइसकेको छ।

गत महिना रौतहटका दुई दिदीबहिनी एसिड आक्रमणमा परेर अस्पतालमा हुँदा ढुक्कै अस्पतालमै बसिन्। औषधि किन्नेदेखि ब्लड लिनसम्म आफै पुगिन्। सामाजिक सञ्जाल फेसबुकबाट सहयोग जुटाएर ७० हजार रुपैयाँ परिवारलाई दिइन्।

त्यस्तै वसन्तीको परिवारलाई संगीता र सीमा दुवैले सहयोग जुटाइरहेका छन्। दुवै अस्पताल धाइरहेका छन्। चितवनदेखि काठमाडौँसम्म सँगै छन्, उनीहरु। 

वसन्तीलाई जहाजमा उडाएर शिक्षण अस्पताल ल्याए उनीहरुले। केही दिनअघि मात्र सामाजिक सञ्जालबाटै सहयोग जुटाएर वसन्तीका श्रीमान् यमनारायणलाई एक लाख रुपैयाँ दिए।

वसन्ती अझै अस्पतालमै उपचाररत छिन्। त्यसैले दौडधुप सकिएको छैन उनीहरुको। फुर्सद छैन, दशैं मनाउन। सपिङ र घुमघाम प्राथमिकतामा छैन। 'फेस्टिभ मुड'ले अल्छे बनाएको छैन। खुशी छन्, आफ्नो कर्मदेखि। खुशी छन्, आफैंदेखि।

यसैबीच उनीहरु एसिड आक्रमणमा परेका महिला र तिनका परिवार भेट्न विभिन्न जिल्ला पुगे। हेटौंडा, सिन्धुली र रौतहटमा कार्यक्रम गरे। त्यतिबेला सीमा र संगीता सँगसँगै थिए।

सीमा भन्छिन्, 'संगीता यसरी सँगै हिड्दा खुशी लागेको छ। अब हाम्रो सपना एउटै हो। यो हाम्रो शक्ति हो। संघर्ष हो।'

महिला हिंसाविरुद्ध लड्ने प्रण गरिसकेका छन् उनीहरुले। कुनै संघसंस्था छैन, उनीहरुको। कतै आवद्ध पनि छैनन्। 

सच्चा मनले काम सुरु गर्न कुनै संस्था नचाहिने उनीहरुको भनाई छ। भन्छन्, 'यो संघर्षको पहिलो पाइला हो। हामी बल्ल हाँस्न थालेका छौँ। अब हामीजस्तैलाई हसाउँछौ। अनि सधैँ मुस्कुराइरहने कोसिस हुनेछ।'



शक्ति साधना : शोकलाई शक्तिमा बदल्दै सीमा र संगीता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट