PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त प्रक्रियामा, के जागिर जाला?



पहिलोपोस्ट

निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त प्रक्रियामा, के जागिर जाला?

काठमाडौं: सरकारले १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका तत्कालिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त प्रकृया थालेको छ।

एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं विदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टद्वयको बर्खास्तको लागि पत्र लेखेको थियो। बर्खास्त गर्नु अगाडि गृह सचिवको नेतृत्व समितिले एसपीलाई स्पष्टीकरण सोध्नुपर्ने हुन्छ।

गृह सचिव नेतृत्व समितिले दुईपटक सम्म २४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ। स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ। गृह सचिव प्रेमकुमार राईले बर्खास्त प्रकृया सुरु भएको जानकारी दिए। सचिव राईले भने,' प्रहरी प्रधान कार्यालयबाट पत्र आइसकेको छ। हामीले प्रकृया शुरु गरेका छौं। नियम अनुसार नै प्रकृया अगाडि बढ्छ।'

गृह मन्त्रालयले एसपी बिष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो। प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए।

निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानविन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसगैं एसपी विष्ट कारबाहीमा परेका हुन्।

प्रहरी नियमावलीमा आफ्नो पदीय जिम्मेवारी पुरा नगरेमा, आचरण सम्वन्धी कुरा बारम्वार उल्लङ्घन गरेमा, बारम्वार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न मिल्ने व्यवस्था छ। निर्मला प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को बारेमा भने प्रहरी प्रधान कार्यालयले कुनै कारबाहीको लागि सिफारिस गरेको छैन। सरकारले गठन गरेको छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमासमेत घटनाको अनुसन्धान गरेका डिएसपी अंगुर जिसीको बयान समेटिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell