PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


एसिड पीडित वसन्तीकी आमाको अस्पतालबाट पुकार, 'हे, पशुपतिनाथ छोरीलाई बचाइदेऊ!'


सागर बुढाथोकी

एसिड पीडित वसन्तीकी आमाको अस्पतालबाट पुकार, 'हे, पशुपतिनाथ छोरीलाई बचाइदेऊ!'
फोटो: गगन थापा

'हे, पशुपतिनाथ मेरो छोरीलाई बचाइदेऊ! अब तिम्रै भर छ' ४६ वर्षीय कल्पना परियार एकोहोरो बिलौना गरिरहेकी छिन्। पुकार पशुपति क्षेत्रमा हैन, महराजगञ्जस्थित शिक्षण अस्पतालमा। गहभरि आँसु पार्दै, दुई हात जोडेर अनुनय विनय गरिरहेकी छिन्।

अस्पतालमा पशुपतिनाथको पुकार अनौठो सुनिन्छ। छोरीको नाजुक अवस्था देख्दा भगवान पुकार्नुको विकल्प देख्दिनन् उनी। वसन्ती परियारकी आमा हुन उनी। उनकी छोरी वसन्ती एक महिनाअघि नवलपरासीमा एसिड आक्रमणमा परेकी थिइन्। अस्पतालमा उपचाररत रहेकी उनको अवस्था सुधार हुँदै आएको छ।

दुई साता भयो कल्पना काठमाडौँ आइपुगेकी। अस्पतालमै बास छ। निराश छिन्। छोरीको अवस्था देख्दा पुराना दृश्यहरु स्मृतिमा आइरहेका छन्। अब के होला ? सोच्न सकेको छैन दिमागले। मनदेखि बारम्बार भनिरहन्छिन्, 'हे पशुपतिनाथ मेरी छोरी बचाइदेऊ।'

सोध्छिन्, 'यस्तो अवस्थामा मेरी वसन्ती बाँच्ली त ?'

छेउमै रहेकी संगीता मगर आशा देखाउँछिन्, 'चिन्ता नलिनु आमा, उहाँ बाँच्नुहुन्छ। पैला मेरो अवस्था त्यस्तै थियो। ६ महिना अस्पताल बसेपछि बाँचे। तपाईँको अगाडि छु अहिले।'

कल्पनाको अनुहार केही उज्यालिन्छ, भन्छिन्, 'तै पनि आमाको मन त पोलिहाल्ने रहेछ नि। मेरो फूलजस्ती छोरी १८ दिनदेखि लम्पसार छे।'

कल्पना लगातार बोल्न थाल्छिन्। 

सँगै भए पनि राम्रोसँग बोलचाल भएको छैन। बोलचाल गर्ने अवस्थामा छैनन् वसन्ती। खाना पाइपबाट खुवाउनुपर्छ। आँखा देख्दिनन्। अनुहार भरी ब्याण्डेज बेरिएको छ। सुस्त सुस्त बोल्छिन्, बोली स्पष्ट बुझिन्न।

वसन्तीकै छेउमा बस्छिन्। छोरीलाई हेरिरहन्छिन्। हेर्दै टोलाईरहन्छिन। एक्लै छोड्न मन मान्दैन। वसन्तीले आमालाई पीडा सुनाइन्, 'आमा बाँच्दिनँ होला म। झन् धेरै दुखिराछ। शरीर भतभती पोलिराछ। भोक नि असाध्य लागेको छ।'

छोरीको पीडा सुनिसक्दा बोल्न सक्दिनन्। भक्कानिन्छिन्। आँसु झार्छिन्। र, त्यहाँबाट बाहिर निस्किन्छिन्। सबैको सान्त्वनाको आवाज सुनेपछि बोल्छिन्,'के गर्नु मन धरधरी रुन्छ। देखाउन पनि नपाउने।'

***
वसन्तीलाई भरतपुर अस्पतालमा राख्दा पनि पुगेकी थिइन उनी। छोरीको अवस्था हेर्न जाँदा अस्पतालबाट फर्काइदिएका थिए।विक्षिप्त वसन्तीको अवस्था हेर्दा विचलित हुने भयले त्यसो गरेका थिए आफ्नै परिवारले। तर, आमाको मन के मान्थ्यो र! अहिले काठमाडौँ आएकी छिन् उनी। घरमा बस्न मनले नमानेर आएको बताउँछिन्।

'यत्रो दिन नातिनातिना हेरेँ। आज ठिक होला, भोलि ठिक होला तर, भएन', उनले सुनाइन्, 'उता बस्न मनले मानेन। अनि गाडी चढेर काठमाडौँ आएँ।'

नातिनातिनाले 'आमा बाबा' कहिल्लै फर्कने भनेर भनेर बारम्बार सोधे कल्पनालाई। कल्पनाले भरे भोलि भन्दै यत्रो दिन झुलाइरहिन्। दसैँमा बुवाआमा घर आउने आशामा थिए उनीहरु। नयाँ कपडा पाउने आश थियो उनीहरुको। वसन्तीको यो अवस्थाको अन्दाज थिएन उनीहरूलाई। आमा बाबा घर पुगेपछि नयाँ लुगा लाउने र खसी काट्ने योजना बनाएका थिए।

ती सबै योजना चकनाचुर भए। न त खसी नै काटियो।  न नयाँ लुगा लगाएर टीका लगाउन नै पाए। पहिले पहिले झैँ बाबासँग दसैँ मनाउन पाएनन्। यसअघि बाबा विदेश भएकाले टीका लगाउन पाएका थिएनन्। नेपालमै भए पनि अहिले  टीका लगाउन सक्ने अवस्था भएन।  लगातार ९ वर्ष वैदेशिक रोजगारमा भएकाले बाबासँग दसैँ मनाएको अनुभव थिएन। यसपटक भव्य दसैँ मनाउने योजना पनि पूरा भएन।

कल्पना भन्छिन्, 'उनीहरू आमाले के ल्याउली भनेर बाटो कुरेर बसिरहेका थिए। आमा यता ‌ओछ्यानमा लडेकी। दसैँमा आमा बाबा नपुग्दा फोनमै रुवावासी गरे उनीहरुले।'

यति भनेर कल्पना चुप भइन। सुस्केरा हाल्दै बोलिन्, 'दुखियाको कर्म नै यस्तै रैछ। त्यत्रो वर्ष विदेश बसेर आएका ज्वाईँ। बल्ल-बल्ल अवस्था सुध्रिँदै गएको थियो। छोराछोरी रमाउँदै थिए। चकनाचुर भो परिवार।'


यसरी भएको थियो घटना

वसन्ती असोज ८ गते तरकारी किन्न बजार गएकी थिइन। फर्कँदा एसिड आक्रमण भयो। कपाल समातेर छुरा हानियो। घाटीमा पनि छुराको चोट। गालामा नि छुरा। छातीमा छुरा लागेर फोक्सोसम्म चोट लागेको थियो। अनुहार डढेर कालो भएको।

त्यस दिन वसन्तीले उनको श्रीमान यमनारायणलाई बारी 'खन्दै गर्नु भोलि साग छर्नुपर्छ' भनेर गएकी थिइन। तर उनी फर्केर घर आइपुगिनन्। त्यसदिनदेखि अस्पताल भर्ना भएकी उनलाई चितवनको भरतपुर अस्पतालमा ७ दिन राखियो। त्यसपछि शिक्षण अस्पताल ल्याएर उपचार भइरहेको छ। चिकित्सकको अनुसार अवस्था सुध्रदो छ।

एसिड हान्ने विमल श्रीपाली छिमेकी हुन। उनले त्यसै दिन राति १० बजे प्रहरी चौकी गएर आत्मसमर्पण गरिसकेका छन्। प्रहरीको बयानमा श्रीपालीले श्रीमान/श्रीमती दुबैलाई मार्ने योजना भएको बताइसकेका छन्।


किन हान्यो त एसिड ?

वसन्तीको श्रीमान यमनारायणलाई वसन्तीले सुनाए अनुसार विमलले उनको पिछा गरिरहन्थे। भागेर बिहे गरौँ भन्ने प्रस्ताव पटक-पटक राखेका पनि थिए। भनेको नमाने परिवारलाई तहसनहस पार्ने धम्की समेत दिएका थिए श्रीपालीले। तर, वसन्तीले उसको कुरा पत्याएकी थिइनन्। के नै गर्ला र आफ्नै छिमेकी त हो भनेर बसेकी थिइन।

वसन्तीविरुद्ध भएका तमाम घटना कल्पनाले थाहा पाइसकेको छिन्।  छोरीको पीडा अन्दाज गरेसकेकी छिन्। ज्वाईँ यमनारायणको छटपटी पनि महसुस गरिरहेकी छिन्। ती लाला बाला नातीनातिनाको सम्झना झल्झली आइरहेको छ। भन्छिन्, 'मान्छेले मान्छेलाई किन यस्तो बीभत्स बनाउँछ। किन सोच्दैन उसको घर परिवार र लाला बाला। त्यस्तो पापीलाई नि त्यसै गर्नुपर्छ। अनि मात्र यो आमाको मन शीतल हुन्छ।'

 

समबन्धित समाचार

विदेशिनुको पीडा भोग्दै यमनारायण : भने - मेरी श्रीमतीसँग बिहे गर्न नपाउँदा एसिड हान्यो
श्रीमती एसिड आक्रमणमा परेपछि श्रीमानको फोन : आइसियूमा छ, उसलाई बचाउन सहयोग गरिदिनुस्
अस्पतालमै बित्यो यमनारायणको दसैँ, छोराछोरी भने बाबु आमाकै प्रतीक्षामा
शक्ति साधना : शोकलाई शक्तिमा बदल्दै सीमा र संगीता



एसिड पीडित वसन्तीकी आमाको अस्पतालबाट पुकार, 'हे, पशुपतिनाथ छोरीलाई बचाइदेऊ!' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट