PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

निर्मला प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टलाई कारबाही, सेवाबाट हटाइयो



सविन ढकाल

निर्मला प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टलाई कारबाही, सेवाबाट हटाइयो

काठमाडौँ: १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले कारबाही गरी सेवाबाट हटाइएको छ। 

बिहीबार गृह मन्त्रालयमा बसेको गृहसचिव स्तरको बैठकले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो।

प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो मात्रै एसपी विष्ट र भट्टकोको दोस्रो स्पष्टीकरणसहितको पत्र गृह मन्त्रालयमा बुझाएको थियो।

त्यसअघि बुधबार एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो। दुवैको स्पष्टीकरणमा चित्त नबुझेपछि सेवाबाट हटाउने निर्णय गरिएको हो।

एआइजी धीरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान गरी बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टलाई कारबाही गर्नको लागि पत्र लेखेको थियो।

दुई पटकसम्म २४ घन्टे स्पष्टीकरण सोध्ने र चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाउने वा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ।

गृह मन्त्रालयले एसपी विष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो।

प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शङ्कास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए।

निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसँगै एसपी विष्ट कारबाहीमा परेका थिए।

(यसअघिको समाचारमा एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गरिएको उल्लेख भएकोमा सच्याइएको छ। उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएको हैन- सम्पादक)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell