PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

काठमाडौँको ज्यानमारा खाल्डो : बल्खु टियु गेट नजिकैको मंगालले ३८ वर्षीय साइकल यात्रुको ज्यान लियो



पहिलोपोस्ट

काठमाडौँको ज्यानमारा खाल्डो : बल्खु टियु गेट नजिकैको मंगालले ३८ वर्षीय साइकल यात्रुको ज्यान लियो
फोटो सौजन्य : सुनीलरञ्जन सिंह/फेसबुक

काठमाडौं : काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको गेट नजिकै रहेको ढलको खाल्डोमा मान्छे खसेको खबर एकाबिहानै प्रहरीलाई आयो। 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका सई बलराम झाका अनुसार बिहान ६ बजे खबर आएपछि प्रहरी घटनास्थल पुग्दा एक युवक खाल्डोभित्र मृत अवस्थामा भेटिए। सँगै रातो रङको साइकल (माउन्टेन बाइक) पनि थियो।

पछि सनाखत भयो - काठमाडौं महानगरपालिका वडा नम्वर १५ चागल बस्ने ३८ वर्षीय श्याम श्रेष्ठ। 

शनिवार बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको सई झाले जानकारी दिए।

सई झाले भने, 'खुल्ला मंगाल रहेछ। साइकलमा रहेका उनले खाल्डो नदेखेपछि दुर्घटना भएको देखिन्छ।'

श्रेष्ठ कति बजे खाल्डोमा खसेको भन्ने खुल्न नसकेको उनले बताए। 

अधिवक्ता सुनीलरञ्जन सिंहले फेसबुकमा घटनास्थलको फोटो राख्दै लेखेका छन्-  त्यहाँ महिनौँदेखि ढलको छोप्ने भाग खुल्ला छ। जहाँ मेरो बच्चा लगायत सयौं विद्यार्थीहरु दिनहुँ स्कूल जाने आउने गर्छन्। कुनै किसिमको छेकबार छैन। सरकार, अझै यस्तो पासो थापेर कति नेपालीलाई मार्नु हुन्छ?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell