PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५


एकतापछिको प्रश्नः को होला नेकपाको नेता?


किशोर नेपाल

एकतापछिको प्रश्नः को होला नेकपाको नेता?

  • किशोर नेपाल -
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अस्वस्थ्यताले धेरै राजनीतिक कार्यसूचीलाई प्रभावित तुल्याएको छ। त्यसमा पनि सबैभन्दा महत्वपूर्ण मानिएको पार्टी एकताको कार्यसूचीपछि धकेलिएको छ। पार्टी एकता नभएसम्म नेकपाको राजनीति सहज हिसाबले सुचारु हुन नसक्ने स्पष्ट भएको छ।

दुई पार्टी बीचको एकताको आधारमा पार्टीले आफनो भावी नीति तय गर्ने बताइन्छ। पहिलेका एमाले नेताहरुले पछिल्ला राजनीतिक उपलब्धिहरुलाई पार्टीको नीतिको सफलताको रुपमा हेरेको पाइन्छ। त्यसैले नीतिगत यथास्थितिमा पार्टी एकता हुनुपर्ने धारणा राख्दछन्।

अर्कोथरीको भनाई छ एकतापछि गर्नुपर्ने गृहकार्य नगर्दा पार्टी असरल्ल परेको छ। कसको स्थान कहाँ हो र कसको हैसियत के हो? त्यो स्पष्ट नभएसम्म अहिलेको कम्युनिस्ट पार्टीको एकता गठबन्धनको प्रारुपका रुपमा मात्रै देखिने छ।

सशस्त्र संघर्षकालमा एमाले र माओवादी नेतृत्वका बीच बाक्लो वैमनस्यता देखिएपनि कार्यकर्ता तहमा त्यस्तो वैमनस्यता थिएन। उदाहरणका लागि, उतिबेला मध्य पश्चिमाञ्चल अर्थात् अहिलेको कर्णाली प्रदेशका केही उदाहरणले यसको पुष्टि गर्नेछन्। त्यतिखेर, एमालेका अधिकांश कार्यकर्ता माओवादीको सहयोगमा जुटेका थिए। उनीहरु दिनभर एमालेको कार्यालय रुँग्थे भने राति माओवादीलाई सघाउन घरबाट बाहिर निस्किन्थे।
 
कालिकोटका काशीचन्द्र बराल २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेबाट तत्कालीन फुकोट गाविस अध्यक्ष निर्वाचित भएका थिए। तर, उनी अध्यक्षको कार्यकाल बाँकी छँदै माओवादी समर्थक भइसकेका थिए। अध्यक्षको कार्यकाल सकिएपछि उनी पत्रकारितामा सक्रिय भए। बाहिर एमाले समर्थक पत्रकार देखिए पनि भित्रभित्रै माओवादी कार्यकर्ताको रुपमा उनको रुपान्तरण भइसकेको थियो। अन्ततः २०६० सालतिर उनी माओवादी कार्यकर्ताका रुपमा भूमिगत नै भए।

सशस्त्र द्वन्द्वकालमा एमालेको आवरणमा माओवादी गतिविधिमा संलग्न हुने काशीचन्द्र एक प्रतिनिधिपात्र हुन्। माओवादी विद्रोहको बढी प्रभाव रहेको कर्णाली क्षेत्रमा उनीजस्ता थुप्रै व्यक्तिहरु सरकारी पक्षबाट जोगिन एमालेको आवरणमा माओवादी विद्रोहीलाई सघाउँथे। यसले गर्दा ती व्यक्तिहरु सरकारी नजरबाट एकहदसम्म सुरक्षित हुन्थे र पनि सुरक्षाकर्मी र एमाले पार्टीमा भने ‘कन्फ्युजन’ उत्पन्न हुन्थ्यो।

सुर्खेतका पुराना पत्रकार कमलेश डिसी सशस्त्र द्वन्द्वकालभरि एमाले भएरै बसे। उनी तत्कालीन एमाले जिल्ला सचिव स्व.ऋषिप्रसाद शर्माका अत्यन्त नजिकका विश्वासपात्र थिए। तर, एमालेमा रहेका कमलेश द्वन्द्वकालमा माओवादी समर्थक थिए भन्ने रहस्य शान्ति प्रक्रियाको प्रारम्भमा नै खुल्यो। उनी एमाले परित्याग गरी माओवादी प्रवेश गरे। शान्ति प्रक्रियाले एमालेको खोल ओढेर द्वन्द्वकालमा माओवादीलाई सघाउने कार्यकर्तालाई माओवादी पार्टीमा विधिवत प्रवेश गर्ने बाटो खोलिदियो। यसले गर्दा डिसीजस्ता थुप्रै एमाले कार्यकर्ता माओवादीमा प्रवेश गरे।

 सशस्त्र विद्रोहको त्यो समयमा माओवादीले बढीभन्दा बढी एमाले कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने रणनीति बनाएको थियो। भूमिगत हुन नचाहनेलाई एमालेको आवरणमै बसेर सहयोग गर्न प्रेरित पनि गरेको थियो। कुनै कार्यकर्ता सरकारी सुरक्षाकर्मीको फन्दामा परिहाल्यो भने उसलाई छुटाउन एमाले नेता नै अघि सर्थे।

सुर्खेत क्याम्पस (शिक्षा) मा अध्यापन गर्ने उपप्राध्यापक विष्णुप्रसाद खनाललाई सुरक्षाकर्मीले पक्राउ गर्दा एमाले नेता नै प्रहरी–प्रशासन पुगेका थिए। अन्त्यमा उनलाई तत्कालीन क्याम्पस प्रमुख पीताम्बर ढकालको जिम्मामा थुनामुक्त गरिएको थियो।

सशस्त्र विद्रोहका बेला कार्यकर्ताको यस्तो राजनीतिक कार्यशैलीले सबैभन्दा बढी संकटमा एमाले नै थियो। बाहिर–बाहिर एमाले, भित्र–भित्र माओवादी ! विद्रोहको लागि चन्दा संकलनदेखि सुराकीसम्मका काम यिनै एमालेरुपी माओवादीले गर्ने गर्थे। त्यतिखेर एमालेको नेतृत्व निकै  अप्ठेरोमा थियो। आफनो खातामा दर्ता भएको कार्यकर्तालाई  ‘माओवादी’ भनेर उपेक्षा गर्न पनि नसकिने र पूरै विश्वास पनि गर्न नसकिने अवस्था थियो त्यो। यस्तो अवस्थामा उनीहरुलाई एमाले मानिदिनुको विकल्प एमालेसँग थिएन।

कालिकोट, थिर्पुका लक्ष्मणबहादुर बम त्यस्तै एक पात्र हुन्। उनी सशस्त्र द्वन्द्वकालभरि एमाले कार्यकर्ताको रुपमा व्यापार व्यवसायमा संलग्न भएपनि भित्रभित्रै माओवादीलाई सहयोग गरे। शान्ति प्रक्रिया शुरु भए लगत्तै उनी माओवादीमा प्रवेश गरे। अहिले उनी माओवादीको तर्फबाट पलाता गाउँपालिकाका अध्यक्ष चुनिएका छन्।

एमालेका ती कार्यकर्ताको माओवादी पार्टीमा कति बलियो प्रभाव थियो, त्यसको परिणाम हेर्न धेरैबेर कुर्नुपरेको थिएन। ती कार्यकर्ता शान्ति प्रक्रिया लगत्तै माओवादीमा प्रवेशमात्र गरेनन्, माओवादीको तर्फबाट महत्वपूर्ण जिम्मेवारी पनि पाउन थाले। विशेष गरी राजनीतिक नियुक्ति, पार्टी तथा पार्टी निकट मोर्चाका कमिटीमा उनीहरुको भूमिका विस्तारित भयो। उनीहरुलाई कतिपय माओवादीले ‘चैते माओवादी’ भनेर व्यङ्ग्य गर्दा उनीहरुको तर्क हुने गर्दथ्यो– ‘तिमीहरु भूमिगत भएर माओवादी देखियौ, तर हामीले भूमिगत नभएरै तिमीहरुलाई बचायौं र लड्नको लागि ऊर्जा पनि दियौं।’

***
अहिले देशमा एउटै ‘विशाल’ कम्युनिस्ट पार्टीको अस्तित्व स्थापित भएको छ। तर, यसको अस्तित्वको अक्षुण्णता त्यतिबेलासम्म देखिने छैन जबसम्म यसको एकता सम्पन्न हुनेछैन। अध्यक्ष ओलीको अस्वस्थताले एकता प्रक्रिया स्थगित भएपनि विश्लेषकहरुले एकीकृत कम्युनिस्ट पार्टीको भावी नेतृत्वबारे अनुमान गर्न शुरु गरी सकेका छन्।
***


यस्तै, सशस्त्र आन्दोलनका समयमा पूर्वाञ्चल (प्रदेश १) मा पनि एमाले कार्यकर्ता फडको मारेर माओवादी पार्टीमा लाग्ने क्रम बढेको थियो। द्वन्द्वकाल र शान्ति प्रक्रियाको क्रममा एमालेबाट माओवादीमा पार्टी परिवर्तन गर्ने नेतृत्व तहका व्यक्तिहरुको संख्या झण्डै ५ सय थियो।
त्यतिबेला एमालेबाट माओवादी पार्टीमा सामेल भएका उल्लेखनीय व्यक्तिहरुमा रामप्रसाद खनाल, बम देवान, एकराज कोइराला, कृष्ण नारायण पालिखे, भक्तशेर राई, अक्कलबहादुर मेयाङबो, मनोज भट्टराई, माया भुजेल, योगेन्द्र सुब्बा, अर्जुन ढकाल, लालबहादुर लिम्बु, दर्शन राई लगायत थिए।     

विशेषतः शान्ति प्रकृयाको क्रममा माओवादीका राजनीतिक मुद्दाले नेपालको राजनीतिक परिवर्तनमा स्थायित्व ल्याउन सक्छ भन्ने विश्वासका कारण उनीहरु माओवादीमा प्रवेश गरेको बताएका थिए। एमालेको राजनीति अस्पष्ट र गन्तब्य दिशाहीन भएकोले उनीहरु निराश भएका थिए। माओवादीले देशमा कम्युनिस्ट शासन स्थापित गर्न नसकेपनि परिवर्तन ल्याउने शक्तिको रुपमा माओवादी पार्टी त्यतिबेला धेरैको रोजाइमा परेको थियो।

सशस्त्र आन्दोलन ताकाको प्रभाव गुमाइसकेको देखियो। संविधान सभाको पहिलो निर्वाचनदेखि गएको स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा माओवादी पार्टीका नगर प्रमुख उम्मेदवार आइन्द्रविक्रम बेघाले ११ हजार मत प्राप्त गरी तेस्रो स्थानमा ओर्लिएका थिए। त्यो चुनावमा कांग्रेसका तिलक राईले २० हजार मत ल्याई दोस्रो स्थान प्राप्त गरेका थिए भने एमालेका तारा सुब्बा २४ हजार मत पाएर विजयी भएका थिए।

नेपालको राजनीतिमा पहिचानको आन्दोलनको मुद्दा मूल रुपले माओवादीले स्थापित गरेको हो। अहिलेको पहिचानको आन्दोलनको मूल आधार पनि त्यही हो। लिम्बुवान आन्दोलन एकीकृत रुपमा आउन नसक्दा माओवादी शक्तिलाई त्यसले कुनै बल पुर्‍याउन सकेन। यसले चुनावमा माओवादीलाई कमजोर नै बनायो। लिम्बुवान आन्दोलनको जनाधार झन कमजोर भयो। तत्कालीन माओवादीका धरान नगर संयोजक चोत्लुङ याक्थुङबा भन्छन्, ‘अहिलेको राजनीति माओवादीले स्थापित गरेको राजनीतिक मुद्दा कै उपज हो । अब कम्युनिस्ट पार्टी एकीकृत भएकोले यसलाई पूर्णता दिनेतिर लाग्नु पर्दछ।’ 

उदाहरणका रुपमा यहाँ प्रस्तुत गरिएको तथ्यले धेरै कुराको संकेत गर्दछन्। प्रदेश नम्बर १ र कर्णाली प्रदेशमा मात्र नभइ देशैभरका युवा कम्युनिस्ट कार्यकर्ताहरु माओवादीतिर लहसिएका थिए। यो अवस्था सुदूर पश्चिमाञ्चल, मध्यमाञ्चल, मधेश–तराई सबैतिर उस्तै थियो। एमालेको तत्कालीन नेतृत्वलाई यसको जानकारी थियो। त्यहीकारण, माधव नेपाल र वामदेव गौतम माओवादी नेतृत्वसँग सहकार्यमा लागेका थिए।

सशस्त्र आन्दोलनका बेला पनि कम्युनिस्ट कार्यकर्ताहरु कम्युनिस्ट एकताकै पक्षमा स्पष्ट देखा परेका थिए। उनीहरु मार्क्स, लेनिन र माओलाई प्रेरक पुरुष मान्ने साम्यवादी पार्टीको खोजीमा थिए। माओवादी क्रान्तिकारी पार्टी भएकोले धेरै कम्युनिस्ट कार्यकर्ताहरुको आदर्श बनेको थियो।  एमालेका झलनाथ खनाल, केपी ओली र वामदेव गौतममध्ये माधव नेपाल राम्रा नेताका हिसावले स्थानीय जनताको नजरमा चढेका थिए। संविधान सभाको पहिलो चुनावमा एमालेका वरिष्ठ नेता माधव नेपालको पराजय त्यतिबेला एमालेले लिएको नीतिप्रति कम्युनिस्ट कार्यकर्ताको असहमति मुख्य थियो।

माओवादी अध्यक्ष प्रचण्डले वामपन्थी सरकारको निर्माणका लागि वा एमाले अध्यक्ष ओलीप्रतिको स्नेहको कारण पार्टी एकताको कदम उठाएका होइनन्। माओवादीका कार्यसूची र आन्दोलनलाई वृहत शान्ति सम्झौताले मान्यता दिएपछि पार्टीले संविधान सभाको पहिलो चुनाव जित्यो। तर, पार्टीभित्रको कलह र कचिंगलका कारण यसले संविधान सभाको दोस्रो चुनाव र त्यसपछिको संसदीय चुनाव जित्न सकेन।

एमाले  अध्यक्ष तथा प्रधानमन्त्री ओलीको व्यवहारले आजित भएका प्रचण्डले पछिल्लो समयमा कांग्रेससँग सत्ता गठबन्धन गरे। तर, स्थानीय चुनावमा कांग्रेस कार्यकर्ताहरुको व्यवहार उनका लागि उदेक लाग्दो अनुभवका रुपमा रह्यो। कांग्रेस पार्टीसँग आधिकारिक सम्झौता भएको छ  गठबन्धनको। तर, कांग्रेसका कार्यकर्ता माओवादीलाई भोट हाल्न तयार छैनन्। कांग्रेसको यो अनौठो ‘कल्चर’ देखेर चकित भएका प्रचण्डका लागि देशमा एउटै कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य पूरा गर्नका लागि एमालेसँग एकताको विकल्प थिएन।

अहिले देशमा एउटै ‘विशाल’ कम्युनिस्ट पार्टीको अस्तित्व स्थापित भएको छ। तर, यसको अस्तित्वको अक्षुण्णता त्यतिबेलासम्म देखिने छैन जबसम्म यसको एकता सम्पन्न हुनेछैन। अध्यक्ष ओलीको अस्वस्थताले एकता प्रक्रिया स्थगित भएपनि विश्लेषकहरुले एकीकृत कम्युनिस्ट पार्टीको भावी नेतृत्वबारे अनुमान गर्न शुरु गरी सकेका छन्। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड,  माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मध्ये कार्यकर्ताले कसलाई चुन्लान्? को होला विजेता?

कम्युनिस्ट राजनीतिको भावी ‘कोर्स’ यसैमा निर्भर देखिन्छ।

 



एकतापछिको प्रश्नः को होला नेकपाको नेता? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट