PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'ब्ल्याक टप'मा यस्तो देखियो कलंकी-कोटेश्वर सडक, हेर्नुस् फोटोमा

'ब्ल्याक टप'मा यस्तो देखियो कलंकी-कोटेश्वर सडक, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ठाउँ ठाउँमा बस स्टप, सफा चिल्लो ८ लेनको सडक, व्यवस्थित र फराकिलो फुटपाथ, जामको समस्या हटाउनका लागि बनाइएको अण्डरपास।

आगामी दुई महिनाभित्र सम्पन्न हुन लागेको कलङ्की-कोटेश्वर सडक खण्ड विदेशका चिल्ला सडक जस्तै देखिन थालेको छ। 

चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार सडक विस्तारको फाइनल फेजमा काम भैरहेको छ। उनले एक तहको कालोपत्रे सकेर अहिले अन्तिम तहको ब्ल्याक टप गर्ने काम भैरहेको जानकारी दिए।

आयोजनाका अनुसार ब्ल्याक टप गर्ने काम पनि करिब ६ किलोमिटर सकिएको छ। ब्ल्याक टप गरिएका स्थानहरुमा लेनहरु छुट्याउने काम सुरु भइसकेको छ। जेब्रा क्रसिङ  बनाउने, सडक पेन्टिङ गर्ने लगायतका कामहरुसमेत सुरु गरिएको छ।

इन्जिनियर अर्यालका अनुसार सडकमा निर्माण गर्नुपर्ने पुल र ओभरहेड व्रिज समेत तयार भइसकेका छन्। चार वटा पुल र तीन वटा ओभरहेड व्रिज निर्माण गरिएको छ। अण्डरपासको काम सकेर संचालनमा ल्याइएको छ। 

आयोजनाले अधिकांश काम सकिएकाले दुर्इ महिनाभित्रमा सडक तयार पार्नका लागि कामलार्इ तिव्रता दिएको जनाएको छ। पछिल्लो संशोधित तालिका अनुसार डिसेम्वरमा सडक तयार पार्ने लक्ष्य लिर्इएको छ। अर्यालले १०.३९ किलोमिटर लामो सडकको करिव ४ किलोमिटर ब्ल्याक टप गर्न बाँकी रहेकाले डेढ महिनामा सकिने जानकारी दिए। अहिले एकान्तकुना क्षेत्रमा ब्ल्याक टपको काम भइरहेको छ।

त्यसैगरी फुटपाथ, ड्रेन निर्माणको कामलार्इ समेत अन्तिम रुप दिने काम भइरहेको आयोजनाले जनाएको छ। विभिन्न ठाउँहरुमा पब्लिक बसहरुका लागि आवश्यकता हेरे बस स्टप निर्माण समेत भइरहेको छ। सडक ८ लेनमा विस्तार गर्न लागिएको छ। चार लेनको मुख्य सडक रहेको छ भने दुवैतिर दुर्इ दुर्इ लेनको सहायक सडक निर्माण गरिएको छ। त्यस्तै फुटपाथ र ड्रेनेज समेत निर्माण गरिएको छ। 

चीन सरकारको अनुदान सहयोगमा २०७१ सालबाट विस्तारको काम चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सनले सुरु गरेको थियो। निर्माण सुरु गरेको तीन बर्ष अर्थात २०७४ भित्रमा सक्ने लक्ष्य राखिएको थियो। तर वीचमा विभिन्न खालका समस्या आएपछि करिव दुर्इ बर्ष ढिलो गरि सम्पन हुन लागेको हो। सडक र अण्डरपास चीन सरकारको करिव पाँच अर्व रुपैया अनुदान सहयोगमा निर्माण पुरा गर्न लागिएको हो।

नेपालकै पहिलो अण्डरपास
कलङ्कीचोकमा निर्माण भएको अण्डरपास नेपालकै पहिलो हो। जुन  अहिले निर्माणको मुख्य काम सकेर संचालनमा आइसकेको छ। कुल ८ सय मिटर लामो अण्डरपास गत भदौदेखि संचालनमा ल्याइएको हो।

८ सय मिटर लामो अण्डरपास कलङ्की चोकबाट खसीबजारतिर चार सय मिटर पर्छ भने सितापाइलातिर अर्को चार सय मिटर पर्दछ। यो अण्डरपास चक्रपथ परिक्रमा गर्ने सवारीसाधनले प्रयोग गर्छन्। अण्डरपास चारलेनमा निर्माण गरिएको छ। 

सडक विभागले सुधार गर्ने 
चिनियाँ कम्पनीले निर्माण सकेर हस्तान्तरण गरेपछि सडक विभागले अध्ययन गरेर पैदल यात्रुको सुरक्षाका लागि ओभरहेड व्रिज र जेव्रा क्रसिङ बनाउने योजना बनाएको छ।

सडक विभामगका प्रवक्ता मुक्ति गौतमले सडक हस्तान्तरण भएपछि थप पाँच वटा ओभरहेड व्रिज, आवश्यकता अनुसार जेव्रा क्रसिङ बनाउने जानकारी दिए। 'हामी यसको अध्ययन गराएर केके आवश्यक देखिन्छ अनि त्यस अनुसार काम गर्छौ' उनले भने।

कोटेश्वर-कलङ्की ८ लेनको सडकको बीचमा 'मेडियन' नराखेर डिजाइन नै गलत भएको भन्दै विरोध गरिएको थियो। दोस्रो तथा तेस्रो खण्डमा भने डिजाइन परिवर्तन गरेर काम गरिने चक्रपथ सुधार योजनाले जनाएको छ।

अब विस्तार हुने अरु खण्डमा बीचमा मेडियन, आवश्यकता अनुसार जेव्रा क्रसिङ, ओभरहेड व्रिज, ग्रिनरी वेल्ट, साइकल लेन हुने छ।



ट्रेन्डिङ पोस्ट

Ncell