PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५

एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु

एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु

सागर बुढाथोकी/पहिलोपोस्ट


  • सागर बुढाथोकी र गगन थापा -
यो ठाउँ राक्सिराङ गाउँपालिकाको औले हो, हेटौंडाबाट ६० किलोमिटर पश्चिम पहाडी कच्ची बाटो पार गर्नुपर्छ पुग्न। चेपाङ जातिको बाहुल्यता रहेको एउटा विकट बस्तीमा ४२ धुरीभित्र तीनसय भन्दा बढीको जनसंख्या अटाएको छ। अधिकांश इसाईमा रुपान्तरित भइसकेका छन्।

औले गाउँमा अभावका कथा धेरै छ। बाध्यताका कथा अनगिन्ती। यो चाहिँ एउटामात्र कथा हो - १२ वर्षमा आमा बन्दै गरेकी गंगाको।

नाम: गंगा प्रजा
उमेर : १२ वर्ष
मिति : २०७५ कातिक ९ गते
शुक्रवार बिहान ११ बजे ...


+++

झ्यालबाट चियाएर बाटोतिर हेर्दै एक तमासले टोलाइरहेकी छिन् उनी। उदास उदास अनुहार तै पनि झिनो आशा - राम्रो खबरको। कौतुहलतासहित बा-आमाको प्रतीक्षामा थिइन् जतिखेर हामीले यिनलाई भेट्यौं। छटपटाहटले धैर्यता नाघेको धेरै पटक भइसकेको रहेछ। उनको आँखा चाहिँ बावुआमा आउने बाटोतिरमात्रै एकोहोरिएको थियो।

गंगाका बावुआमा ज्वाइँ रञ्जित प्रजालाई खोज्न निस्केका छन्। उनलाई अलपत्र छाडेर हिँडेका ज्वाइँ ५ महिनासम्म नआएपछि खोज्न हिँडेका हुन् उनीहरु। रञ्जितको घर मकवानपुरको कैलाश गाउँपालिका, यहाँबाट ४ घण्टाको उकालो बाटो हिँडेपछि पुगिन्छ।



माटोको सानो भुँइतले घर। खरको छानो। पिँढीमा थिइन् उनी। कुर्ता सुरुवाल लगाएकी। हामी पुग्दा पातलो सलले पेट ढाकेकी थिइन्। घाँटीमा रातो माला। देब्रे हातमा सेतो चाइनिज चुरा। कलिली, दुब्ली र निराश अनुहार। हात र खुट्टाका औंला पनि कलिला। अनुहारको तुलनामा पेट अस्वाभाविक रुपमा ठूलो। गर्भमा ८ महिनाको बच्चा। 

+++

अस्वभाविक मौनतामा छिन् उनी। आफ्नै पेटले आलस्य बनाएको छ। सँगैका साथीहरु खेलिरहँदा पिढींमा बसेर हेरिरहेकी थिइन्। खेल्ने मन उनलाई पनि लाग्दो हो तर कुद्न र उफ्रिने कुरा कल्पना बाहिर। उभिन अडेस लाग्नु पर्छ। हिँड्न पनि गाह्रो। अनुहारमा निराशाबाहेक अन्य भाव देखिन्न्। 

आमा गुमाएको टुहुरो पाठो उनी नजिकै छ। त्यसैलाई अँगाल्छिन्, सुम्सुमाउँछिन्। त्यसैसँग खेल्छिन् पनि। घरि यता घरि उता बामे सर्छिन्। बोल्न फिटिक्कै मन गर्दिनन्। भुँई कोट्यारहन्छिन्। बल्लतल्ल बोली फुट्यो, 'थाहा नभएर यस्तो भयो।'

फ्लासब्याक : माघ ७ गते २०७४ साल

गएको वर्ष माघ ७ गते मामाघर गएकी थिइन् गंगा। त्यसपछि घर फर्केर आइनन्। परिवारले सोधखोज गर्दा, 'भागेर बिहे गरी' भन्ने खबर आयो। तीन दिनपछि आमा खोज्न जाँदा गंगाले सिन्दुर लगाइसकेकी थिइन्। बुहारी बनेर भित्रिसकेकी थिइन्।

मामाघरको छिमेकमा पास्नी थियो। त्यहीँ गएकी उनलाई १८ वर्षीय रञ्जित प्रजाले 'छोपे'। बिहे गरौँ भनेर ढिपी गरे। 

'म तिमीलाई छोड्दै छोड्दिन' भनेछन्। ललाई फकाइ गराएपछि उनी राजी भइछिन्। साढे ११ वर्षमा हिँड्दै गरेकी गंगाले 'नाई' भन्न नसक्दा कलिलैमा बिहे भयो। त्यसपछिको जोखिम अन्दाज नै थिएन उनलाई। 

'खै त्यतिबेला सम्झाउने मान्छे भएन। नाई भन्दा छोड्दै छोड्दिन भन्यो। अनि म उसको घरमा गएँ,' गंगाले सुनाइन्।

उनको बिहे हुँदा घरमा आमा राममाया र भाउजु सरस्वतीमात्र थिए। ६ जना दाजुभाइ सबै काठमाडौंमा। उनीहरु सबै काठमाडौँमै ज्यामी काम गर्थे। 

गंगा हराएको तीन दिनपछि आमा र भाउजु खोज्दै पुगे त्यहाँ। उनीहरु पुग्दा  बिहेको परम्परा सकिसकेको थियो। केही नभनी रुँदै फर्किइन् राममाया। सबै परम्परा गरेपछि फिर्ता ल्याउन नमिल्ने यहाँको चलन नै रहेछ। छोरीको बिजोक देख्दादेख्दै मन भारी बनाएर घर आइन्।

लावती प्राथमिक विद्यालयमा चार कक्षामा पढ्दैथिइन्, गंगा। स्कुल बिदा थियो। मामाघर जानु नै विवाह बन्धनमा बाँधिनु कारण बन्यो। श्रीमान् बिहे भएको महिना नबित्दै काठमाडौं लागे। बीचमा एकपटक घर पनि आए। फागुनमा 'पूङ' लाने परम्परा भयो। यो प्रकृया पूरा गरेपछि दुवै घरमा आउजाउको बाधा फुक्यो, चेपाङ समूदायमा बिहेले मान्यता पायो। 

गंगाको परिवारले ज्वाइ भित्र्याए। सम्धी सम्धिनी आउजाउ भयो। कानुनले बर्जित गरे पनि दुवै परिवारले बिहेलाई मान्यता दिए। 

काठमाडौं गएपछि गंगालाई रञ्जीतले वास्ता गर्न छाडिहाले। सासु ससुराको व्यवहार पनि ठीक थिएन। श्रीमानले नै वास्ता नगरेपछि के घर बस्नु भनेर माइत फर्किइन् उनी। 

'श्रीमान मसँग रिसाए। कैले नबोल्ने। रिसले हेर्न थाले। जहिले पनि बाहिरको बाहिर। आफ्नै घरमा जाँ, यहाँ नबस् भनेर गाली गरे,' माइती फर्कनुको कारण सुनाइन्।

फ्लासब्याक : असार, २०७५

उनी माइत आउन बाध्य भइन्। माइतीबाहेक साहरा दिने कोही थिएन।

माइत आएको २ महिना नपुग्दै गंगा बिरामी परिन्। ज्वरो आउन थाल्यो। रिंगटा लागेर बेहोस। कम्मर सहन नसक्ने गरी दुख्थ्यो। पेट दुखेर धुरुधुरु रुन्थिन्। धामीझाँक्री गर्दा केही सिप लागेन। स्वास्थ्य चौकी गएपछि थाहा भयो— उनी ५ महिनाको गर्भवती भइसकेकी रहिछन्। कलिलो उमेर, पाँच महिनाको गर्भ! गर्भपतन गर्दा ज्यान जाने जोखिम। बच्चा जन्माउने सल्लाह दिए स्वास्थ्यकर्मीले। गंगा स्तब्ध बनिन्। किनकि, श्रीमान् उनीबाट बेपत्ता भइसकेका थिए।

पाँच महिनादेखि श्रीमानसँग कुरा भएको छैन उनको। भेटघाट त टाढाको कुरो। तै पनि, श्रीमान् आउने आशामा बाटो कुरिरहिन्। महिनौं बित्यो। दशैं आयो, गयो। तर, श्रीमान् फर्केनन्। न कुनै खबर नै पठाए। श्रीमान् नआउलान् भन्ने चिन्ताले भने सताउन थाल्यो उनलाई। बच्चा जन्माउन मंसिर १० को मिति दिएका छन् स्वास्थ्यकर्मीले। तर, कुनै पूर्व तयारीको छनक यो घरमा देखिन्न। एकैसाथ पेटमा गर्भ र मनमा चोट छ उनको।

+++

गंगाका ६ जना दाजुभाइ छन्। एउटा दिदीले ११ वर्षमै बिहे गरिन्। अहिले १८ वर्ष पुगेकी दिदीको ५ वर्षको छोरा र ३ वर्षकी छोरी छन्। गंगासँगै जन्मिएकी बहिनी जमुना स्कुल जान्छिन्। कान्छो भाइ १० वर्षमै हिँड्दै छ। दाजु भाउजु र बच्चाहरु गरेर २० जनाको संयुक्त परिवार छ। खानाको अभाव। गोठको सुताई। लगाउने कपडाको अभाव उस्तै। कठ्याङग्रिने जाडोमा न्यानो कपडासमेत थिएन, उनको शरीरमा। कुर्था सुरुवाल र पातलो सलले जाडो छेकेकी छिन्। दिनभरमा खाजा खान पाउँदिनन्। न पानी नै। बिहान अबेर खाएको खाना नै दिनभरको आहारा हो उनका लागि।

यस्तै छ पारिवारिक अवस्था। समाज पनि फरक छैन। अभाव र दु:ख यहाँ ओरिपरि यत्रतत्र देखिन्छ। कुपोषण, भोकमरी अनि अज्ञानता र अशिक्षाको रोग जब्बर बनेर बसेको छ। 

उनको दाजुको मोबाइलमा फोनको घन्टी बज्यो। रिंगटोनले उनको मुहारमा फरक चमक छायो। आमाको फोन रहेछ। केही क्षण बोलेपछि उनको अनुहारको चमक सेलायो। फोन गंगाका लागि 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' भइदियो। श्रीमान् आउने खबरको आशा थियो, आशा रहेन। बावुआमा ज्वाइविनै घर फर्किँदै रहेछन्।

साँझ ६ बजे ...

साँझ झपक्कै परेपछि बाआमा आइपुगे। आमा राममाया पनि एकदमै दुब्ली। उनी पनि उत्तिकै निराश। बुवाको अवस्था पनि उस्तै कमजोर। आउनासाथ पिँढीमा बसिन्। एक अम्खोरा पानी घुट्क्याइन्। लामो खुइय गर्दै राममायाले भनिन्, 'के गर्नु यसको कर्म नै यस्तै रै'छ। आफूलेजस्तो दु:ख नपाओस् भनेको। झन् बढी दु:ख पाउने भइ, बालखैमा।'

त्यसपछि आमाले हामीलाई घटनाको बेलिविस्तार लगाइन्।

गंगाका श्रीमान् रञ्जित मादक पदार्थ अधिक सेवन गर्ने रहेछन्। गंगाभन्दा अघि एउटा बिहे गरिसकेका। जेठी श्रीमतीले छोडेपछि गंगालाई कान्छी बनाएका रहेछन्। 

'मामाघर गएकी छोरी फर्केर आइन। म आँशु पैतालामा खसाएर फर्केँ। अहिले यस्तो सहनुपरेको छ,' उनले भनिन्।

छोरीको कारण धेरै तनाव छ राममायालाई। यो अवस्थामा ज्वाइ हेर्न नआउँदा खिन्न छिन्। के होला अब कसैले सोच्न सकेको छैन। सबै भाग्यलाई नै दोष दिन्छन्। राममाया आफैँलाई सराप्छिन्।

छोरी लैजानु भनेर ज्वाइलाई पटक पटक फोन नगरेका होइनन्, उनीहरुले। आउँछु भने पनि आएनन् रञ्जित। धेरै पटक त फोन नै उठाएनन्। तर्किएर हिँडिरहे। त्यही भएर पनि रञ्जितको घर नै पुगेका थिए उनीहरु।

घरमै भेट त भयो रञ्जितसँग। केही दिनमा लिन आउने आश्वसन दिएका छन् जसरी यसअघि फोनमा भन्थे। आमा राममायाले भनिन्, 'यस्तो दुई जिउको अवस्थामा पनि सहारा नदिई हिँड्यो। यो भन्दा ठूलो दुर्भाग्य के होला र? यस्को कर्म नै यस्तो रै'छ।'

आमाले त्यसो भनिरहँदा गंगाको मुन्टो थप निहुरियो। बोल्न नसके पनि अनुहारमा पीडा झल्किएको थियो। आँखामा आँशु टिलपिल तर खसालिनन्। 

'यसअघि पनि त आउँछु भनेका नै थिए, आएनन्। अब आउँदैनन्,' भन्दै घरभित्र छिरिन्, गंगा।

जुम्ल्याहा बहिनी जमुना पनि उनको पछि लागिन्। जमुना कक्षा ६ मा पढ्दै छिन्। दिदीको अवस्थाले चिन्ताको पारो बढेको छ उनमा पनि।

+++

चेपाङ बस्तीमा अधिकांशको सानैमा बिहे हुन्छ। ९० प्रतिशत भन्दा बढी भागी बिहे। केही दिनअघि १८ वर्षीय छिमेकीले १२/१३ वर्षको केटी बिहे गरे। कलिलैमा भागी विवाह गर्ने परम्परा नै बनेको छ। गफ गरिरहँदा गंगाकी भाउजु सरस्वतीले भनिन्, '१६ वर्ष पुगेपछि त सबै छिप्पिहाल्छन् नि! बिहे त चौध, पन्ध्र वर्षमा गर्ने हो।' उनको बोली त्यहाँको समाज बुझाउन पर्याप्त थियो।

स्वास्थ्य चौकीबाट क्याल्सियम र आइरन चक्की दिएका छन् गंगालाई। त्यो खान जाँगर लाग्दैन् उनलाई। एक दिन खाए, चार दिन खान्नन्। 
'एक छाक मकै, एक छाक भोकै' को अवस्था छ। भन्छिन्, 'ज्वरो आइरहन्छ। कम्मर दुख्छ। पेट दुख्छ। रिंगटा लागिरहन्छ।' तर पनि आरामले बस्न फुर्सद छैन। घस्रँदै बढारकुडार गर्छिन्। खाना पकाउँछिन्। केटाकेटी खेलेको हेर्छिन्। यसरी नै दिन बित्छ। ९ महिना पुगेपछि के हुन्छ अन्दाज छैन, उनलाई। 'प्रभु'को भरोसामा छन्, उनीहरु।

+++

भोलिपल्ट...
बिहान ६ बज्दासम्म गंगाको घरमा कोही उठेका थिएनन्। पिढींको भुईमै बोरा ओछ्याएर लस्करै सुतेका थिए सबै। बच्चाहरु एकातिर। ठूला अर्कातिर। घरभित्र पनि त्यस्तै। गंगा भने त्यहाँ थिइनन्।

घरभन्दा अलि माथि रहेछ गोठ। तल गाई बाख्राको खोर। त्यसको माथि आमा बुवासँग सुतेको थिइन्, उनी। आमा बुवा उठे तर उनी उठिनन्। आमाले उठाइन्। बहिनीले पनि बोलाइन्। तै पनि उठ्न सकिनन्। आमाले घरको काम भ्याइन्। बाख्रालाई घाँस हालिन्। गोबर मिल्काइन्। त्यतिबेलासम्म गंगा नउठेपछि आमाले भनिन्, 'बेलुका भोकै सुतेकी अहिले उठ्न सकिन।'

'पेट दुखेर मर्ने बेला भएको छ। उठ्न सक्दिन,' जवाफ फर्काइन् गंगाले।

छोरीले त्यसो भनेपछि ओछ्यानमा पुगिन् राममाया। छोरीलाई सुम्सुम्याइन्। सिरक मिलाइदिइन र गहभरि आँशु पार्दै भनिन्, 'यो बालखाले के गरी बच्चा जन्माउँली? सानैमा बुद्धि बिगारी। अब जिन्दगीभर दु:ख पाउने भई।'

आफूले नपढेर दु:ख पाएको भन्दै छोरीलाई स्कुल पठाइन् उनले। पढेर ठूलो मान्छे बनुन् भन्ने सपना पालेकी थिइन्। उनका योजनाहरु चकनाचुर भयो। कुनै छोरीले पनि पढेनन्। 

'जे नहुनु त भइसक्यो। सम्झँदा पनि खिन्न हुन्छु। मेरो छोरीको जस्तो शत्रुको छोरीको पनि नहोस्,' उनले भनिन्।

जुम्ल्याहा छोरी जन्माउँदाको दु:ख सुनाउन सक्ने अवस्थामा छैनन्, राममाया। हुर्काउँदाको संघर्ष र अभाव पनि कहालिलाग्दो। अभावले अझै छोडेको छैन। दु:खले पछ्याइरहेको छ। सपना पूरा भएको छैन। जिन्दगीलाई सराप्दै बिरक्तिन्छिन्। 'छोराछोरीले सुख पाउलान् भन्ने आशा गरेथेँ, किन हुन्थ्यो,' उनले भनिन्। 

दिन धुम्मिएर मौसम चिसो थियो। बिहानीको घामलाई कुहिरोले छेकेको। आठ बजेपछि बल्ल कक्रक्क पर्दै उठिन् गंगा। 

गोठबाट तल झरिन्। घरभित्र छिरेर अंगेनोको छेउमा बसिन्। काखमा त्यही टुहुरो पाठो थियो। तातो पानी,चिया खाने चलन रहेनछ। बेलुकाको बासी भात दिइन् बहिनी जमुनाले। टमाटरको अचार हालेर निस्तै भात खान थालिन् उनी। खानपान हेर्दा गर्भवती हुनु र नहुनुमा केही अन्तर देखिएन।

निस्तो भात खान सकिनन्, उनले। उनले छाडेपछि अरु केटाकेटीले खाइदिए। उनी तरकारी टिप्न पाखो बारीतिर लागिन्। केही छिन चहारेर बोडी टिपेर ल्याइन्। त्यसपछि कपाल कोरिन्। लुगा फेरिन्। शनिवारको दिन भएकाले चर्चतिर प्रार्थना गर्न गइन्।

घरको १० मिनेट तल छ, चर्च। उनी पुग्दा गाउँका अरु मानिस भेला भइसकेका थिए। उनको लागि सबैले प्रार्थना गरे। उनले पनि प्रार्थना गरिन्। त्यहाँ पनि उभिँदा भित्ताको सहरा लिइरहिन् उनले। 

दिउँसो १२ बजे...
अब भने उनी खुलेर बोल्न थालिन्। भेटेको २४ घन्टापछिमात्र उनी हामीसँग डराउने अवस्थाबाट बाहिरिएकी थिइन्। उनी सजिलै नबोल्नुको कारण – बालविवाहको आरोपमा उनलाई समात्न त आएका होइनौं हामी भन्ने परेको रहेछ। 

बिहे गरेकोमा पश्चाताप गरिन्, हामीसँग। एक्लै हुँदा रोइरहने गरेको बताइन्। बुद्धि बिगारेँ भन्ने पनि परेको रहेछ। बिहे गर्दा यसरी बच्चा हुने भन्ने नै थाहा रहेनछ उनलाई। भनिन्, 'जहिले सोचिराख्छु, बेकारमा बिहे गरेछु।'

भविष्यबारे सोच्न सक्ने अझै भएकी छैनन्। अब पढ्नुपर्छ भन्ने चाहिँ परेको छ। किन पढ्ने भन्ने चाहिँ बताउन सकिनन्। परिवारलाई दोष दिने ठाउँ उनीसँग छैन। 'थाहा नभएर आफैँले गल्ती गरेँ, उनले भनिन्, 'सजाय भोगिरा'छु। अझै के के भोग्नुपर्ने हो?'



यो पनि पढ्नुहोस् :

एसिडले डढाएको संगीताको सपना

सर्कसको सकस : ‘जिन्दगी त त्यसै गइगो’

फेरि ती दिन सम्झन चाहन्न......!

असुरक्षित छन् छोरीहरु

सपना देख्नका लागि त निदाउन पाउन पर्यो नि! एउटा संघर्षको  कथा

जसका लागि कमाउन गएकी थिइन्, उसैमाथि एसिड आक्रमण : हान्निएर मलेसियाबाट फर्किन् धनमाया

विदेशिनुको पीडा भोग्दै यमनारायण : भने - मेरी श्रीमतीसँग बिहे गर्न नपाउँदा एसिड हान्यो



ट्रेन्डिङ पोस्ट