PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

माओवादीसित सरकारले वार्ता गर्दा मध्यस्थकर्ता भएका पद्मरत्न तुलाधरको निधन



पहिलोपोस्ट

माओवादीसित सरकारले वार्ता गर्दा मध्यस्थकर्ता भएका पद्मरत्न तुलाधरको निधन

काठमाडौँ : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा नर्भिक अस्पतालमा आइतबार निधन भएको छ। उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो।

उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, ' आज नै उनको निधन भएको हो।'
 
उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएकाले अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारमा न्युरो टोली डा. पंकज चलान डा. राजिव झा, छाती रोग विशेषज्ञ डा. रमेश चोखानी र मिर्गौला रोग विशेषज्ञ आरके अग्रवालको टोली खटिएको थियो।

तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए। 

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए। 

पञ्चायतकालमा २०४३ सालमा 'जनपक्षीय' उम्मेदवारका रुपमा सूर्य चिह्न लिई  राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए। 

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए।

तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell