PahiloPost

Nov 22, 2018 | ६ मंसिर २०७५

भक्तपुरको कुमाले टोलमा 'तिहार फिभर' : परिवार नै खट्दा पनि 'डिमाण्ड' पुर्‍याउन सक्दैनन्

भक्तपुरको कुमाले टोलमा 'तिहार फिभर' : परिवार नै खट्दा पनि 'डिमाण्ड' पुर्‍याउन सक्दैनन्

प्रविण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : शहरमा तिहारको फिभर चढिसकेको छ। मान्छेहरु किनमेल गर्नतिर व्यस्त छन्। घरहरु झिलीमिली हुन सुरु भइसके। फूलको व्यापार पनि उस्तै। तर, यतिबेला भक्तपुरस्थित पोटरी स्कवायर नामले चर्चित 'कुमाले टोल'मा भने माटाको भाँडा बनाउने कामको चटारो छ। 
प्रायः सबै व्यस्त देखिन्छन्। तिहारले गर्दा पालाको 'डिमाण्ड' दोब्बर बढेको छ। बोल्न समेत फुर्सद छैन। माग अनुसार माटाका भाँडा पुर्‍याउन नसकेर तनाव छ उनीहरुलाई।

त्यही टोलमा विनोदकुमार प्रजापतिको पसल छ। उनी माटाका भाँडाहरु बेच्छन्। बनाउने काम आफै गर्छन्। तर उनी एक्लै भने छैनन्। परिवारले सघाएको छ उनलाई। माटाका भाडा बनाउँदै गर्दा प्रजापतिले भने, 'यही बेला हो डिमाण्ड बढ्ने भाँडाका। त्यसैले धेरै खट्नुपर्छ। अरु बेला त आरामले गर्दा नि हुन्छ।'
विनोदका छोरा पाला बनाउँदै।

प्रजापतिको पुर्ख्यौली पेशा माटोको भाडा बनाउने हो। उनले ८ वर्षदेखि यही काम गर्दै आएका छन। पूरा परिवार नै यसमै निर्भर छ। सानो छोराले समेत स्कूल बिदा भएकाले पाला बनाउन सघाइरहेका छन्। सबैले यो काम गर्न सक्छन्। कामको विभाजन उमेर र सीप अनुसार हुन्छ।

माटाको भाँडा बनाउने काम सजिलो छैन। बस्ती बाक्लिएको कारण माटो सजिलै पाइन्न। बिहान झिसमिसैमा उठ्नुपर्छ। उठेदेखि राति अबेरसम्म कामको चटारो हुन्छ। प्रजापति भन्छन्, 'कमाउने बेला नै यही हो मेहनत त गर्नैपर्‍यो।'


यिनी हुन् न्हुच्छेबहादुर प्रजापति। ६५ वर्षका भए। ४० वर्षदेखि यही काम गर्दैछन्। बाउ बाजेको पेशा अंगालेका हुन उनले पनि। पाला बनाउँदै गरेका उनले भने, ' यो बेला त परिवारका सबै खट्नुपर्छ।'

युवाले दिनमा २ हजार देखि २५ सय पाला बनाउन सक्छन्। तर, उनी हजारभन्दा बढी बनाउन सक्दैनन्। माटोको काम परिश्रम ज्यादा हुन्छ। जो कोहीले गर्न सक्दैनन्। पुर्ख्यौली पेशा भएकाले त्यतिकै छोड्न नसक्ने बताउँछन प्रजापति। उनको परिवार सबैले यही काम गर्छन। परिवार नै नलागी पाला बनाउन सम्भव पनि छैन। परिवारको चार जना सदस्य सबै यही काममा व्यस्त छन्। उनीहरुको दैनिकी नै यही हो।

तिहारको सिजनमा उनीहरु दैनिक ५ हजारसम्म कमाउन सक्छन्। स्टक छ भने कमाइ बढ्छ। खुद्रा तथा होलसेल दुबै उनीहरुका ग्राहक हुन। भन्छन्, 'यहीबाट आएको आम्दानीले घर चलाउने हो, तिहार मनाउने हो।'

पहिलेको जस्तो माग छैन अहिले। पहिला माटाको ग्राग्रो, घ्याम्पा लगायतका ठूला साइजका भाँडा किन्ने मान्छे आउँथे। अचेल आउँदैनन्। प्लास्टिकका भाँडाले त्यसलाई विस्थापित गरिसक्यो। पाला (दियो) पनि बिक्री हुने तिहारको सिजनमा मात्रै हो। अरुबेला गमला र खुत्रुके अनि माटाका मूर्तिहरु बिक्री हुन्छन्। प्रजापतिले सुनाए, 'पाला मात्र हो पहिलाभन्दा धेरै जाने।'

 
६५ वर्षका न्हुच्छेबहादुर प्रजापति पाला बनाउँदै।
न्हुच्छेकी बुहारी काँचो माटोको पाला रङ्गाउँदै।
यसरी बन्छ पाला।
पाला घाममा सुकाउँदै।
पोटरी स्क्वायरमा अहिले जताततै माटाका भाँडा देखिन्छन्।
न्हुच्छेकी श्रीमती माटोका सामान बिक्रीका लागि सजाउँदै।
न्हुच्छेको पसल।
विनोदकुमार प्रजापति पाला बनाउँदै।
विनोदका छोरा पाला बनाउन सघाउँदै।
अहिले स्कूल विदा भएकोले विनोदको सानो छोरा यसैमा रमाइरहेका छन्।
परिवारनै माटोको भाँडाको व्यवसायमा छ।
पसलभित्र विनोद, बायाँ श्रीमती र दायाँ छोरा।


ट्रेन्डिङ पोस्ट