PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ओलम्पिक छनोटको लागि तयार नेपाली महिला फुटबल टिम, भोली भारतसँग पहिलो खेल खेल्ने



पहिलोपोस्ट

ओलम्पिक छनोटको लागि तयार नेपाली महिला फुटबल टिम, भोली भारतसँग पहिलो खेल खेल्ने
फोटो सौजन्य : एन्फा

काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक अन्तर्गत महिला फुटबल प्रतियोगिताको लागि एसियाली छनोटको समूह सी को खेलहरु भोलीबाट म्यानमारमा सुरु हुँदैछ।

यस समूहमा नेपालसहित दक्षिण एसियाली राष्ट्रद्वय भारत र बंगालदेश तथा आयोजक म्यानमारले प्रतिस्पर्धा गर्नेछन्।

भारत र बंगलादेश नेपालको लागि परिचित प्रतिद्वन्दी हो। यी दुई टिमसँग नेपालले धेरै पटक खेलिसकेको छ। तर नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन। त्यही भारतसँग भोली पहिलो खेल खेल्दै नेपालले छनोट यात्रा सुरु गर्नेछ।

नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्काले पहिलो खेल महत्वपूर्ण भएको बताएका छन्। 'हाम्रो लागि भोलीको खेल धेरै महत्वपूर्ण छ। भारत दक्षिण एसियाको पावर हाउस हो र म्यानमार हामीभन्दा माथिल्लो वरियताको टिम हो। बंगलादेशले पनि प्रगति गरिरहेको छ।'

छनोटमा नेपाल भन्दा बलियो टोलीहरु भएपनि खड्काले प्रतियोगिताको लागि नेपालले राम्रो तयारी गरेको र दोस्रो चरणमा छनोट हुने लक्ष्य राखेको बताए।

'अरु टिम जस्तै हामी पनि राम्रो गर्नका लागि यहाँ आएका छौँ। हामी अर्को चरणमा छनोट हुन चाहन्छौँ। हामीले चीनमा तीन वटा मैत्रीपूर्ण खेल खेल्यौँ। तयारी राम्रो भएको छ।'

भारत र बंगलादेश भन्दा नेपाल अगाडी नै म्यानमार पुगेको थियो। नेपाली टोली चीनबाट सिधै गत शुक्रवार म्यानमार पुगेको हो। भारत र बंगलादेश भने हिजो मात्र म्यानमार पुगेका छन्।

'हाम्रो लागि सबै विषय राम्रो भइरहेको छ। हामी तीन अंकका साथ प्रतियोगिता सुरु गर्न चाहन्छौँ।' खड्काले भने।

नेपालले नोभेम्वर ११ मा म्यानमार र नोभेम्वर १३ मा बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell