PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ला लिगा : तीन सातापछि मैदान फर्केर मेसीले दुई गोल गरेपनि बार्सिलोना बेटिससँग पराजित, शीर्ष स्थानमा भने कायमै



पहिलोपोस्ट

ला लिगा : तीन सातापछि मैदान फर्केर मेसीले दुई गोल गरेपनि बार्सिलोना बेटिससँग पराजित, शीर्ष स्थानमा भने कायमै

स्पानिस ला लिगामा आइतवार भएको खेलमा शीर्ष स्थानको बार्सिलोना रियल बेटिससँग घरेलु मैदानमै स्तब्ध बनेको छ।

कप्तान लियोनल मेसी तीन सातापछि मैदान फर्किएर गोल गरेपनि बार्सिलोना बेटिससँग ४-३ ले पराजित भयो। मेसीले दुई गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन्। मेसीले दुई गोल गर्दा पनि बार्सिलोनाले कुनै पनि प्रतियोगितामा पराजित भएको यो पहिलो पटक हो।

इभान राकिटिचले ८२औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोनाले दोस्रो हाफको अन्तिम ८ मिनेट १० खेलाडीमा झरेर खेलेको थियो।

नोउ क्याम्पमा पहिलो हाफमै २-० ले पछि परेको बार्सिलोनाका लागि मेसीले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर कम पारेका थिए। बेटिसले दोस्रो हाफमा पनि दुई गोल नै थप्यो। बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दा पनि जितका लागि पर्याप्त भएन।   

जुनिएर फिर्पोले २०औँ र जाओक्विनले ३४औँ मिनेटमा गोल गर्दै बेटिसलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।

नोभेम्वर २० मा सेभियासँगको खेलमा दायाँ हात भाँचिएपछि तीन साता आराम गरेर मैदान फर्किएका मेसीले ६८औँ मिनेटमा गोल गर्दै गोलअन्तर कम पारे। त्यसको तीन मिनेटपछि गिओभानी डे सेल्सोले गोल गर्दै बेटिसलाई ३-१ को अग्रता दिलाए।

७९औँ मिनेटमा बार्सिलोनाका लागि वैकल्पिक खेलाडी अर्टुरो भिदालले गोल गर्दै खेललाई ३-२ को स्थितीमा पुर्‍याए। तर ८२औ मिनेटमा राकिटिचले रातो कार्ड पाएपछि त्यसको एक मिनेटपछि नै बेटिसको लागि सर्जियो कानालेसले गोल गर्दै बेटिसलाई ४-२ को अग्रता दिलाए। इन्जुरी टाइममा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तरमा कम पारेपनि जित दिलाउन सकेनन्।

हारका बावजुत पनि बार्सिलोना अंकतालिकामा शीर्ष स्थानमा यथावत छ। यस सिजन बार्सिलोनाको यो दोस्रो हार हो। १२ खेलबाट २४ अंक रहेको बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा एक अंकले अघि छ।

यस्तै आइतवार भएको खेलमा हुएस्कालाई २-१ ले पारजित गर्दै अलाभेज तेस्रो स्थानमा उक्लेको  अभालेजको १२ खेलबाट एट्लेटिको समान २३ अंक नै छ तर गोल अन्तरमा पछि छ।

ला लिगामा आइतवारै चौथो स्थानको स्पानयोलले पाँचौ स्थानको सेभियासँग खेल्नेछ भने छैटौँ स्थानको रियल मड्रिडले सेल्टाभिगोसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell