PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जय छठीमाई : सझिया घाटेमा वीरगंजमा यस्तो झिलीझिली

जय छठीमाई : सझिया घाटेमा वीरगंजमा यस्तो झिलीझिली

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज: तराई–मधेसको लोक आस्थाको छठ पर्वको आज विशेष दिन अर्थात सझिया घाटे हो। सूर्यको उपासना गरी चार दिनसम्म मनाइने यो पर्वको लोकप्रियता तथा महत्व दिनप्रतिदिन मधेससँगै पहाडमा पनि बढ्दै गएको छ।

पुत्र प्राप्ति, चर्मरोग एवं आफूले चिताएको कुरा पुरा हुने भन्ने धार्मिक विश्वासका साथ पुस्ते पिच्छे मधेसको अधिकांशले मनाउने गर्छन्। 

कात्तिक माहिनाको चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व कठोर पर्वको रूपमा पनि लिइन्छ। ३६ घण्टासम्म पानी पनि नखाई अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको अर्घ्य चढाई मनाउने यो पर्वले अनुशासित पर्वको रूपमा पनि लिइन्छ। ‘छठीमाई रिसाउने देवीको रूपमा चिनिन्छन्, पर्वको समयमा केही कमीकमजोरी भयो भने दुःख पाइन्छ भन्ने मान्यता छ,’वीरगंज –२१ लिपनी विर्ताकी सुशीला देवीले भनिन्,‘त्यसैले यो पर्व निष्ठाको प्रतीक पनि हो, कसैले गल्ती गर्न जान्दैनन्।'

छठ गर्नेहरूको घरमा कात्तिक महिनाभर शाकाहारी परिकार खाने चलन छ। नहाय खाएके, खारना, सझिया घाटे र बिहनीया घाटे गरी चार दिनको विशेष विधि तथा पूजापाठको चलन छ। कात्तिक शुल्क चर्तुर्थीको दिन छठ पर्व शुरु हुने पहिलो दिनलाई नाहाय खाएके अर्थात अरबाअरवाइन भनिन्छ भन्ने दोस्रो दिन रसियाव रोटी खारना भनिन्छ, जुन दिन दिन भर भोकै बसी साँझ छठी मातालाई रसियाव रोटी चढाएर पूजापाठ गरी प्रसाद ग्रहण गर्ने गरिन्छ। 

तेस्रो दिन अर्थात विशेष दिन सझिया घाटेको हो। आजको दिन व्रतालुसँगै घरपरिवारका श्रद्धालुहरू छठ गरिने नजिकको पोखरी तलाउ, खोलाको किनारको छठ घाटमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिई केही घण्टा घाटमै बसेर छठीमाताको भजनकीर्तन तथा लोक गीत गाइन्छ। चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर यो पर्वको समाप्ति हुन्छ। छठको अवसरमा वीरगंजको मुख्य छठ घाट घडीअर्वा पोखरी परिसरलाई झकिझकाउ बनाइएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell