PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकार ढलाएर म प्रधानमन्त्री, मेरी श्रीमती राष्ट्रपति बन्न खोजेको हो र, न्याय पो मागेको : निर्मलाका बुबा



एम बम

सरकार ढलाएर म प्रधानमन्त्री, मेरी श्रीमती राष्ट्रपति बन्न खोजेको हो र, न्याय पो मागेको : निर्मलाका बुबा

भीमदत्त: कञ्चनपुर जिल्ला प्रशाासन कार्यालय बाहिरको परिसर अहिले निर्मलामय छ। गेटैमा निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहितका पोस्टरहरु टाँसिएका छन्। कार्यालयलाई सामुन्नेमा राखेर सडक परी पट्टी एउटा पाल बनाइएको छ, जसको माथिपट्टी कालो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको ब्यानर छ- निर्मला पन्तको हत्यारा सार्वजनिक गर। 

मुनि थपिएको छ- अनिश्चितकाली २४ घण्टे धर्ना कार्यक्रम। निर्मलाको फोटोसहितका पर्चा पम्पलेटहरु लहरै उनिएको डोरी टाँगिएको छ। 

निर्मलाको बुबा यज्ञराज पन्त आफ्नी कान्छी श्रीमतीको काखमा सुतिरहेका छन्। उनको दायाँ पट्टी निर्मलाकी आमा दुर्गादेवी पन्त टोलाइरहेकी छिन्।  

विगत १० दिनदेखि निर्मलाको परिवार अनिश्चितकालीन धर्ना बसिरहेका छन्। निर्मलाकी आमा घरमा दुई छोरीहरु भएकोले राति त्यहाँ बस्दिनन्। साँझ पर्ने बित्तिकै कहिले अटोमा कहिले साइकल चढेर घर फर्किन्छिन्। 

ओढ्ने, ओछ्याउने सब त्यहाँ तयार पारिएको छ। मंसिरको जाडोलाई छल्न अनशन स्थलको अगाडि आगो बालिन्छ। निरन्तर धर्नामा निर्मलाका बुबा छन्। 

'जबसम्म मेरी छोरीलाई न्याय मिल्दैन तबसम्म म यहाँबाट उठ्दै उठ्दिनँ', यज्ञराजले पहिलोपोस्टलाई बताए। 

सरकारले आफ्नो माग सुन्दै नसुनेको गुनासो गर्दै उनले भने, 'के मैले सरकारलाई कानमा लगाउने मेसिन पठाइदिनु पर्न हो?'

अझै आक्रोशित हुँदै उनले थपे, 'पेटिकोट सिलाएर पठाउनु पर्ने हो कि चुराहरु प्याकिङ गरेर पठाउनु पर्ने हो कि?'

'मेरो माग के हो भनेर मान्छेहरुले सोध्छन्। सरकारलाई ढलाउनै खोज्या हो भनेर सोध्छन् पत्रकारले आएर', यज्ञराजले सोधे, 'सरकारलाई ढलाएर म निर्मला पन्तको बुवा प्रधानमन्त्री र मेरो श्रीमतीहरु राष्ट्रपति बन्न खोजेको हो र?'

निर्मलाकी आमा दुर्गादेवीले न्याय पाउने सम्भावना झिनो हुँदै गएकोमा असन्तुष्टि पोख्दै भनिन्, 'अब कमसेकम प्रमाण नष्ट गर्नेहरुमाथि कारबाही भएको हेर्न पाए न्याय पाएको जस्तो हुन्थ्यो', 

 उनीहरुप्रति ऐक्यवद्धता जनाउन स्थानीय बासिन्दा र अधिकारकर्मीहरु आउने गर्छन्। काठमाडौँमा सामाजिक सञ्जालमार्फत् जस्टिस फर निर्मला अभियान चलाइरहेका केही अभियन्ता पनि सोमबार धर्नास्थल पुगे। ऐक्यवद्धता जनाए।

'दोषी संरक्षण गरिरहेको आरोपबाट एसियाकै सक्षम भनी दावी गर्ने नेपाल प्रहरी मुक्त हुने गरी काम देखाउन आवश्यक छ', धर्नास्थल पुगेर अभियन्ता अमृता लम्सालले बताइन्। 

काठमाडौँमा पनि आफूहरुले सोसल मिडियामार्फत् ऐक्यवद्धता जनाइराखेको बताउँदै अर्का अभियन्ता लुना भट्टराईले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले पनि पत्रपत्रिकामा आएका न्युजहरुलाई संकलन गर्ने मात्र काम गरेर प्रतिवेदनमा नयाँ तथ्य फेला पार्न नसकेको देखिएको बताइन्। 'अनुसन्धानमा प्रश्न गर्ने ठाउँ नै ठाउँ छ', उनले भनिन्। 

 च्यवन घिमिरेले प्रहरी प्रशासनले विगतदेखि विश्वसनीय अनुसन्धान गर्न नसकेको प्रष्ट भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell