PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५

१२ वर्षकै उमेरमा आमा बन्दै गरेकी गंगाको यसरी भयो 'रेस्क्यु', अब लेख्न नपरोस् यस्ता स्टोरी

१२ वर्षकै उमेरमा आमा बन्दै गरेकी गंगाको यसरी भयो 'रेस्क्यु', अब लेख्न नपरोस् यस्ता स्टोरी

सागर बुढाथोकी/पहिलोपोस्ट


मंसिर २ गते मध्याह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरको फोन आयो। फोनमा उनले भने, '१२ वर्षमा आमा बन्दै गरेकी गंगाको जीवनरक्षाको लागि प्रधानमन्त्रीले चासो देखाउनुभएको छ। तपाईँले सहयोग गर्नुपर्‍यो।'

गंगालाई उद्दार गर्नको लागि त्यही दिन प्रधानमन्त्री कार्यालयबाट निर्देशन गइसकेको रहेछ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी अशमान तामाङ, राक्सिराङ गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लको पहलमा गंगाको खोजी कार्य सुरु पनि भइसकेको रहेछ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले फोन राख्दै भने, 'गंगाको कथा सार्वजानिक गर्नुभयो, धन्यवाद। अब के, हुन्छ फलो गरेर जानकारी दिनुहोला। सरकारको तर्फबाट हामी काठमाडौँ ल्याउन पहल गर्छौं।'

कुँवरले फोन राखेको केही क्षणपछि मकवानपुरका सिडिओ अशमान तामाङले फोन गरेर सुनाए, 'गंगाको परिवारसँग सम्पर्क भयो। भोलि हेटौडा अस्पताल ल्याउन पहल गर्छौं।'

तामाङले ५ महिनादेखि बेपत्ता गंगाको श्रीमान् पनि सम्पर्कमा आएको बताए। हामी गंगाको स्टोरी गर्न मकवानपुरको दुर्गम गाउँ औले पुग्दा उनी तिनै बेपत्ता श्रीमान् भेटिने आशामा कुरिरहेकी थिइन्। 

पढ्नुस् : एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा 


सोमबार, मंसिर ३ ...
दिउँसो १२ बजे राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले फोन गरे। 'हामीले गंगा र उसको आमालाई हेटौडा अस्पताल ल्याएका छौं। यहाँ स्वास्थ्य जाँच गरेपछि के गर्ने खबर गरुम्ला,' उनले सुनाए। 

मल्लका अनुसार गंगा अस्पताल आउन मानेकी रहिनछिन्। सम्झाइबुझाइ गर्दा पनि ल्याउन गाह्रो परेको बताए उनले। प्रधानमन्त्री कार्यालयबाट जसरी हुन्छ उद्दार गर्ने निर्देशन दिइएकाले उनको मन्जुरीबिना नै अस्पताल ल्याइएको थियो।

साँझपख सिडिओ अशमान तामाङले फोन गरेर भने, 'कलिलो उमेर भएकाले गंगा र उसको जन्मिँदै गरेको बच्चालाई यहाँ राख्नु नै रिस्क हो।' उनले भोलिपल्ट गंगालाई काठमाडौँ पठाउने जानकारी दिए।

पढ्नुस्: १२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल

म‌ंगलवार, मंसिर ४ गते
दिउँसो ११ बजे सिडिओ तामाङले फेरि फोनमा सोधे, 'काठमाडौंको एउटा निजी अस्पतालले सम्पूर्ण उपचार गर्छु भनेर फोन गरेको छ। गंगालाई लिन हेलिकप्टर पठाउँछु पनि भनेको छ। के गर्ने होला?'

'सरकारले सबै गर्छु भन्दाभन्दै निजी अस्पताललाई जिम्मा नदिने हो कि,' मैलै सुझाव दिएँ।

त्यसको केही घण्टापछि तामाङले गंगालाई काठमाडौं पठाएको जानकारी दिए। गंगासँगै एम्बुलेन्समा हेल्थ एसिस्टेन्ट प्रकाश कार्की पनि खटाइए। उनको नम्बरमा टेक्स्ट गरेँ- आइपुग्ने बेलामा खबर गर्नुस्।

बल्खुमा हामी एम्बुलेन्सको प्रतीक्षामा थियौं। करिब ४ घण्टा यात्रा पूरा गरेर एम्बुलेन्स बल्खु आइपुग्यो। त्यतिबेला साँझको ५ बजेको थियो। 

एम्बुलेन्समा थिए, गंगाकी आमा राममाया, श्रीमान् रञ्जित र हेल्थ असिटेन्ट प्रकाश।

गंगा रञ्जितको काखमा निदाएकी थिइन्। बान्ता गर्दागर्दा लखतरान भएकाले कोही बोल्ने अवस्थामा थिइनन्, राममाया। रञ्जितको मनस्थिति पनि उस्तै। हेल्थ असिस्टेन्ट प्रकाशले भने, 'बीच बाटोबाटै गंगा झण्डै भागिन्। जान्न भनेर आउन मानेकै थिइनन्। अहिले पनि फर्कन्छु भन्दिन्छिन् फेरि।'

सरकारले पहल गर्नुअघि पनि केही समाजसेवीहरुले गंगालाई काठमाडौँ ल्याउन तत्परता देखाएका थिए। बालविवाहको आरोपमा कारवाही हुने डरले विकट गाउँको यो परिवार उपचारकै लागि पनि आउन तयार भएन। यसपटक भने प्रधानमन्त्रीकै चासोमा पहल भएको थियो। घरमै लिन पुगेकाले उनीहरु काठमाडौँ आउन बाध्य भएका थिए। 

एम्बुलेन्समै रहेका गंगाको श्रीमान् रञ्जितलाई सोधेँ, 'तपाइँ कहिले आउनु भयो? पहिला त सम्पर्कविहीन हुनुहुन्थ्यो त।'

'काठमाडौँमा काम गर्थेँ। मोबाइल हराएर फोन गर्न पाइनँ। हिजोमात्र आएको,' रञ्जित पनि धेरै बोल्ने मुडमा देखिएनन्। 

'फेरि छोडेर हिँड्नुहुन्छ कि?' मैले फेरि सोधेँ। 

'अब छोड्दिनँ, सर,' यतिमात्र बोले।

लामो खैरो कपाल,  ग्रन्च पाइन्ट र पातलो ज्याकेटमा थिए रञ्जित। १८ वर्ष पुगेको बताए पनि हेर्दा कलिलै देखिन्थे। घोसे मुन्टो लगाएका उनले हामीलाई हेर्दै हेरेनन्। एम्बुलेन्स जाममा पर्दा भने मुन्टो उठाएर अगाडितिर हेर्थे।

अफिस टाइम भर्खरै सकिएकाले बाटो जाम थियो। एम्बुलेन्सको 'साइरन' बिग्रिएर नबज्ने रहेछ। एकातिर जाम अर्कातिर मोटरसाइकलले बाटै नछाड्ने। एम्बुलेन्स चालक हैरान भएका थिए जामले। यस्तै जाममा फसेका एम्बुलेन्समा धेरैले ज्यान गुमाइसकेका छन्। राममाया पनि कतिबेला पुग्ने भन्दै चिन्तित थिइन्। बल्खुबाट थापाथली पुग्नमात्रै २० मिनेट लाग्यो। थापाथली चोकमा कार्यरत ट्राफिक प्रहरीले साइरन नबजाएको भन्दै उल्टै गाली गरिन्। बजे पो बजाउनु।

थापाथलीमा रहेको प्रसुति गृह पुगेर एम्बुलेन्स रोकियो। त्यहाँ मन्त्रिपरिषदका सहसचिव विनोद कुँवर पुगिसकेका रहेछन्। गंगालाई एम्बुलेन्सबाट झारियो। एडमिट गर्न अस्पतालमा फर्म म आफैँले भरिदिएँ। त्यहाँ उनलाई देख्नेहरुले साउती गर्न थाले, 'हाम्रा १२ वर्षका छोरीहरुलाई खाना आफैँ खुवाउन पर्छ। ऊ चाहिँ आमा बन्न लागेकी, बिचरा!'

डाक्टर तथा नर्सहरुको प्रतिक्रिया पनि त्योभन्दा फरक थिएन। अस्पतालका बिरामी कुरुवाको ध्यान गंगातिर गयो। एकछिनमै भिड पनि जम्मा भयो। केही पछि अस्पतालका सुरक्षा गार्डले भिडलाई शान्त गराए।

सहसचिव कुँवरले प्रशासनिक चाँजोपाँजो मिलाए। प्रधानमन्त्रीले यो घटनालाई गम्भीर रुपमा लिएको बताउँदै उनले यस्ता घटना अन्त्य गर्ने योजना बनाइरहेको सुनाए। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गंगाको उद्दार भएको जानकारी उनले मिडियालाई दिए, 'गंगा एउटा प्रतिनिधिपात्र मात्र हो। अब यस्ता घटना हुनै नदिन सरकारले योजना बनाएर काम गर्छ। यो घटनालाई सरकारले गम्भीर रुपमा हेरेको छ।'

***
एडमिट गर्नासाथ उनलाई राख्ने ठाउँको समस्या, सरकारी अस्पतालमा बेड पाउनु सजिलो कुरो होइन। बल्लतल्ल एउटा क्याबिन मिलाएर उनलाई त्यतै सारियो। एकसरो लुगामा थिए, उनीहरु। पातलो ज्याकेट, ओड्नका लागि बर्कोमात्र। अस्पतालको क्याविनमा भएको सिरकले मंसिरको जाडो थाम्ने अवस्था थिएन। चिन्ता लाग्यो। तर, अपर्झट केही सहयोग गर्न सक्ने अवस्था थिएन।

क्याविनमा जाँच गर्न आइन्, डाक्टर अल्का श्रेष्ठ। सामान्य जाँच गरेपछि उनले एउटै बेडमा आमा छोरी दुवैजना सुत्न नमिल्ने बताइन्। गंगाकी आमाले भनिन्, 'आबुई, यो बच्चा कहाँ एक्लै सुत्छ र? हामी सधैँ आमा छोरी सुत्ने हो। एक्लै सुत्न डराउँछे।'

डाक्टर श्रेष्ठ हाँस्दै बाहिरिइन्।

काठमाडौँ नै पहिलोपटक आएकी हुन् गंगा। गंगाकी आमा पनि यसअघि एकपटक मात्र आएकी। नयाँ ठाउँ भएकाले चिन्तित देखिन्थे उनीहरु। एम्बुलेन्सको यात्राले थकाएको पनि थियो। 

मंगलबार राति केही खाएनन्, उनीहरुले। गंगाले जिउ दुखेर कटकटी खाएको बताइरहेकी थिइन्।

'रिंगटा लाग्यो। पेट दुख्यो। एकदम गाह्रो भयो,' उनले भनिन्, 'मान्छे त हेर्नै मन छैन मलाई। कोहीसँग बोल्न मन छैन।'

गंगाले यसअघि कहिले पनि गाडी चढेको थिइनन्। कहिल्यै नआएको ठाउँ भएकाले आउन मन पनि थिएन। अस्पतालमा बस्नु पर्ने भएकाले दिक्क देखिएकी थिइन्।

त्यहीबेला नर्स आइपुगिन्। नर्सले ट्वाइलेट देखाइन्। के गर्ने के नगर्ने सिकाइन्। र, क्याल्सियम र आइरन खान अह्राइन। तर, गंगासँग न त क्याल्सियम थियो, न आइरन चक्की नै। त्यो थाहा पाएपछि नर्स औषधि ल्याउँछु भन्दै बाहिरिइन्।

रञ्जित श्रीमती गंगासँग बिदा मागेर दाजुको कोठामा गए। हिँड्ने बेला श्रीमतीलाई भने, 'म भोलि बिहान आउँछु है। राम्रोसँग सुत्नु।'

गंगाले 'हस्' भनेर मुन्टो हल्लाइन्।

अस्पताल ल्याए पनि राममायाको चिन्ता सकिएको छैन। नयाँ ठाउँमा के गर्ने भेउ पाएकी छैनन्। अस्पतालको कोठामा एक्लै बस्न गाह्रो हुने बताउँछिन्। नयाँ ठाउँमा निन्द्रा नलाग्ला भन्ने पनि पीर। अरुको भरमा आएकाले के हुने हो भन्ने डर उत्तकै छ।

कुराकानी गर्दागर्दै सात बज्यो। आमाछोरी भुसुक्क निदाए। त्यसपछि हामी त्यहाँबाट निस्कियौं।
 
बुधवार बिहान १० बजे...
अस्पतालको क्याविनमा पुग्दा गंगा सुतिरहेकी थिइन्। आमा राममाया भित्तामा अडेस लगाएर बसिरहेकी। हामी पुग्दा खाना खाइसकेका रहेछन्। सोध्यौँ, 'जाडो भयो कि भएन राति?'

'भएन' हामीले सोचेँ भन्दा फरक उत्तर आयो। गोठमा सुतेर रात कटाइरहेका उनीहरुको लागि अस्पतालको बेड न्यानो नै भयो। तै पनि हामीले केही सहयोग गर्‍यौं। किनकि, साथी गगन गंगालाई पहिलो पटक देखेको दिनदेखि नै चिन्तित थिए। 

खानेकुरा दियौँ। गंगाले खान मानिनन्। खान धेरै कर गरेपछि भनिन्, 'खाको खाई त कुखुराले पो गर्छ, मान्छेले त बिहान बेलुकामात्रै खाने हो।'

गंगाको कुराले साथी गगनले हाँसो थाम्न सकेनन्।

गोठको सुताइ, एक छाक भोकै, र  एक छाक निस्तै दिन कटाइरहेका उनीहरुको लागि यो सुविधामा बानी परेको थिएन। तर, बानी लगाउन एकै दिन कहाँ सक्नु?

गंगाले खान नमानेपछि राममायाले छोरीलाई सम्झाइन्, 'आफ्नो हैन, सरकारको खाने हो। खा न किन लाज मान्छेस्? थाप्लो पोल्ने गरेर काम गर्नु परेको छैन। खा सुत।'

आमाको कुराले गंगा झनै जंगिइन्, 'कति सुत्नु, आएदेखि सुतेको सुत्यै। बाहिर निस्किन खोज्यो नर्सले समाएर कोठामा ल्याउँछन्। बाहिर निस्किन नि दिँदैनन्।'

छोरीको कुरा सुनेर राममाया चुप भइनन्। भनिन्, 'तँलाई नै राम्रो हुन्छ भनेर ल्याएको हो नि सरहरुले। घरमा भए कत्ति काम गर्नुपर्थ्यो। मर्थिस् कि बाँच्थिस्।'

त्यसपछि घोप्टो परेर सुतिन् गंगा। राममायाले उनलाई सुम्सुम्याउँदै भनिन्, 'तँ धेरै नरिसा है गंगा। उठेर बस्। गाह्रो हुन्छ। वर्षभरि सुताउन ल्याएको हैन। केही दिनमात्रै हो, तेरै राम्रो होस् भनेर।'

गंगा त्यत्तिकै सुतिरहिन्। त्यहीबेला नर्स भित्र आइन्। घोप्टो परेर सुतेको देखेर नर्सले भनिन्, 'घोप्टो परेर सुत्नु हुन्न नानी बच्चालाई गाह्रो पर्छ।'

गंगाले सुनेको नसुन्यै गरिन्। उनलाई बुझाउन नर्सलाई हम्मेहम्मे पर्‍यो।

त्यसपछि प्रसुति गृहका निर्देशक जागेश्वर गौतमलाई भेट्न गयौं हामी। गौतमले गंगाको विषय गम्भीर भएको सुनाए। गौतमले भने, 'गंगाको उपचारमा हाम्रो विशेष टीम लाग्छ। हामी केही कमी हुन दिन्नौं, तपाईँहरु चिन्ता नलिनुस्।'

मध्याह्न अस्पतालबाट बाहिरियौं हामी। अस्पतालको निर्देशकको कुराले सान्त्वना मिल्यो। १ महिनामात्र भयो गंगाको गाउँ पुगेर रिपोर्टिङ गरेको। गंगाको पीडा थाहा पाएपछि सरकारले जीवन रक्षाका लागि पहल गरेर अस्पताल ल्याइसकेको छ। अब गंगा सम्भावित खतराबाट धेरै हदसम्म जोगिँदै छिन्। त्यो गाउँको बिजोक अवस्थामा देखेको गंगालाई अस्पतालमा देख्दा सन्तोष मिलेको छ। सरकारले यस्ता अरु गंगाको लागि दीर्घकालीन रुपमा काम गरोस् अनि यस्ता समाचार नै लेख्न नपरोस्।
अस्पताल पुर्‍याइएपछि गंगा
सह सचिव विनोद कुँवर गंगाको अवस्था जानकारी लिँदै
अस्पतालबाट बाहिरिनुअघि गंगाका श्रीमान्
अस्पतालमा आमाछोरी


ट्रेन्डिङ पोस्ट