1.jpg)
- कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
साउन १० गते बिहीबार बिहान निर्मला पन्तले आफ्नो घर नजिकैकी छिमेकी मञ्जु भट्टसित अनुमति मागेकी थिइन्। निर्मला तीन दिदीबहिनीमा माहिली। लगातार तीन छोरी जन्माएपछि बाबु कान्छी आमा लिएर अलग्गै बस्न थालेको १० वर्ष बितिसकेको थियो। मञ्जुको पाँच वर्षका छोरालाई निर्मला आफ्नै भाइ जस्तै माया गर्ने गर्थिन्।
'पर्दैन लैजान, फर्किएर आएपछि घरमा लगेर खेल्नू,' मञ्जुले नकारिन्।
'हस्' भन्दै निर्मला साइकल चढेर रोशनीको घरतर्फ लागिन्।
तर, त्यसपछि फर्किनन्।
त्यसको केही दिनपछि नै निर्मलाको एउटा फोटो सबै मिडियामा छाउन थाल्यो - एउटी निर्दोष पीडित किशोरीको रुपमा जसको निर्मम हत्या भइसकेको थियो।
निर्मला घरबाट साथीको घरतर्फ जाँदै गरेको अन्तिम पटक देख्ने मञ्जु नै थिइन्। अहिले सारा नेपालले चिन्ने निर्मलाको 'आइकनिक' फोटोको मञ्जुको परिवारसँग नजिकको सम्बन्ध छ।
***
रातो टीका, निधारको आधा भागसम्म झरेको कपाल, कालो फ्रेमको चश्मामा रातो टिसर्ट।
अनि हल्का मुस्कान।
विगत चार महिनादेखि दिनहुँजसो मिडियामा देखिने फोटो हो यो। यसको प्रयोग यति धेरै भइसक्यो कि आकृति देख्ने बित्तिकै नचिन्ने शायदै कोही होलान्।
दशैँमा कलाकार सुनील सिग्देलले निर्मलाको यही फोटोमा देवीको रुप 'फ्युजन' गरेर चित्र बनाए- 'माई गडेसेस लस्ट दी ब्याटल'। चित्र सामाजिक सञ्जालमा भाइरल भयो।
तिहारमा यही फोटोको आधारमा बनाइएको मण्डल पनि उसैगरी भाइरल भयो।
.jpg)
यो 'आइकनिक' फोटोको पछाडि पनि एउटा कथा छ। निर्मलाको यो फोटो उनको 'सिङ्गल' फोटो भने हैन।
१३ वर्षीया किशोरीको घरबाट नजिकैको उखुबारीमा जस्तो अवस्थामा लाश भेटियो, त्यसले जोसुकैको मन विचलित बनाउँथ्यो। त्यही दिनदेखि स्थानीय हत्यारा पत्ता लगाउन आन्दोलित भएका थिए।
हत्यारा पत्ता नलागेसम्म शवको पोस्टमार्टमसम्म गर्न नदिने पक्षमा थिए स्थानीय वासिन्दा। समाचारहरुमा सुरुमा घटनास्थलकै विभत्स फोटोहरु पनि आएका थिए। किनभने निर्मलाको फोटो कसैसित थिएन। हातमा बोक्ने पम्पलेट तथा पर्चा छाप्नसमेत निर्मलाको फोटो खोजी भयो।
निर्मलाको न्यायका लागि संघर्ष गरिरहेको समितिकी संयोजक मीना भण्डारीले सुनाइन्, 'घर, स्कूल, साथीभाइको मोबाइल कहीँ कतै फोटो भेट्नै मुस्किल भयो।'
.jpg)
उनले थपिन् 'पछि एउटा भिडियो फेसबुकमा भेटियो। हामीले सोधखोज गर्यौँ। त्यही भिडियोसँगै फोटो पनि खिचिएको रहेछ। ग्रुपमा भएको त्यही फोटोमा निर्मलामात्र लाई क्रप गरी फोटो निकाल्यौँ। क्रप गरेको फोटो निर्मला भन्दा मेच्योर देखिन्छ तर फोटोमा देखिए जस्ती ठूली थिइनन् उनी। '
भिडियो फेसबुकमा अपलोड गरेका थिए लक्ष्मण भट्टले। लक्ष्मण निर्मलाकी छिमेकी मञ्जुका श्रीमान्।
हराएको दिनदेखि नै खोजीमा लागेका थिए लक्ष्मण। हराएको राति २:३० बजेसम्म निर्मला भेटिन्छे कि भन्ने आशमा आमा दुर्गादेवीलगायतसँग खोजेरै बसेका थिए उनी। भोलिपल्ट बिहान साढे नौ बजेतिर शव भेटिएको दिन पनि उनी उखुबारी पुगेका थिए। निर्मला र उनको परिवारसँग आवतजावत बढी भएकाले त्यो घटनाले आहत् थियो भट्ट परिवार।
लक्ष्मणले लाश भेटिएको ठाउँबाट फर्किएपछि आफ्नो मोबाइल हेरे।
गएको वैशाख १ गते घरमा जेठो छोराको चूडा (पहिलो पटक पूजासहित कपाल काट्ने हिन्दु संस्कार) गर्दा निर्मलाले कपाल थापेको भिडियो देखे। सामान्यतया फूपु, दिदी बहिनीले कपाल थाप्ने चलन हुन्छ। भट्ट परिवारको कोही थिएन। त्यसैले निर्मलाले नै सेतो कपडामा कपाल थापेकी थिइन्।
त्यो भिडियोले उनलाई झनै मर्माहत् बनायो। 'उहाँले नै त्यो भिडियो मध्याह्न १२ बजेर १२ मिनेटमा फेसबुकमा हाल्नु भएको हो,' श्रीमती मञ्जुले भनिन्।

आन्दोलनकारीले मागेपछि उनले त्यतिबेला नै खिचेको अर्को एउटा फोटो दिएर पठाए। फोटोमा निर्मला, निर्मलाकी बहिनी, मञ्जु, उनका छोरासहित ६ जना देखिन्छन्। यही फोटोमा रहेकी निर्मलाको मात्र अनुहार क्रप गरिएको फोटो नै अहिले प्रचारमा आएको हो।
'क्रप गरिएको फोटो हेर्दा उनको उमेर बढी जस्तो देखिन्छ। तर, हैन बिचरी सानी थिइन्। त्यो फोटोमा उनी जस्तो थिइन्, त्यस्ती देखिएकी छैनन्', मञ्जुले सुनाइन्।
हुन पनि हो, त्यति बेलाको भिडियोमा निर्मला यस्ती देखिन्छिन्-
संयोगले वैशाखमा खिचेको यही फोटोमा लगाएकै रातो टिसर्ट हत्या भइसकेपछिको फोटोमा पनि देखिन्छ।
***
मञ्जुलाई आफ्नो छोरा निर्मलासँगै पठाएको भए आज यो दिन हुँदैन थियो कि भन्ने सोच एकमनमा अझै परिरहन्छ।
उनको छोरा आफ्नो घरमा भन्दा बढी समय निर्मलाकै घरमा हुन्थ्यो। नजिकै भएकाले कहिले ऊ आफैँ जान्थ्यो, कहिले निर्मलाले बोकेर लैजान्थिन्। निर्मलाको घरमा टिभी नभएकाले टिभी हेर्ने घर पनि मञ्जुकै घर बनेको थियो।

'टिभी हेर्न भन्दै हाम्रोमा नै आउँथिन्। एकछिन हेरेपछि ममीले मार्नुहुन्छ भन्दै फर्की हाल्थिन्। घरबाट कतै निस्किने स्वभाव नै थिएन,' उनले भनिन्।
साउन १० गते बिहान साढे १० बजेतिर निर्मला घरबाट करिब २ किलोमिटरको दुरीमा रहेको साथी रोशनी बमको घरमा जानका लागि निस्किन्।
'रोशनीलाई म राम्रोसँग चिन्छु। निर्मलाको घरमा आइरहन्थिन्। आन्टी के छ खबर भनेर राम्रो सँग नै बोल्ने गर्थिन्। असल केटी थिई,' मञ्जुले सुनाइन्, 'घटना भइसकेपछि मेरो रोशनीसँग भेट भएको थियो। तर त्यतिबेला भने उनले पहिले जसरी बोलिनन्।'
***

धर्नास्थल वरपर निर्मलाको त्यही फोटो र पर्चा देखिन्थ्यो। जिल्ला प्रशासन कार्यालयको गेटमा समेत यस्तै पर्चा टाँसिएका थिए। भीमदत्त नगरपालिकाका अटोरिक्साहरुमा समेत हत्यारालाई तुरुन्त सार्वजनिक गर्नुपर्ने मागसहित निर्मलाको यही श्यामश्वेत तस्बिरसहितको पर्चा टाँसिएका थिए।
निर्मलाको घरमा समेत अरु कुनै फोटो नरहेको धर्नास्थलमा भेटिएकी संयोजक मीना भण्डारीसहित अरुले पनि दावी गरे।
हामी निर्मला पढ्ने स्कूलतर्फ लाग्यौँ। सोध्यौँ- भर्ना गर्दाका फोटो छन् कि। निर्मलाको घर छेवैमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानअध्यापक जगन्नाथ पाण्डेले लगातार पढिरहेका विद्यार्थीको फोटोसहित भर्ना गर्नु नपर्ने सुनाए। अतिरिक्त क्रियाकलापका केही फोटोहरु छन् कि भनेर सोध्दा पनि उनले नभएको बताए।
सात कक्षा पढ्दै गरेकी निर्मलाकी बहिनी सरस्वती स्कूलकै चौरमा पढिरहेकी थिइन्। शिक्षकहरुले बोलाएपछि उनी हामीसामु आइन्। उनले दिदीको एउटा फोटो घरमा भएको बताइन्।
स्कूल छुट्टी भएपछि हामी नजिकैको घरतर्फ लाग्यौँ। जस्ताको छानो भएको भूइँतल्ले घरमै निर्मलाकी आमाले गोलगप्पा (पानीपुरी) बेच्ने गर्थिन्। घटनापछि भने त्यो बन्द छ। त्यतिबेला आमा चार किलोमिटर पर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नास्थल थिइन्। उनको दैनिकी नै अहिले बिहान छोरीहरुलाई खाना पकाउने, धर्नास्थलमा जाने र साँझ घर फर्किने भएको छ।
सरस्वतीसँगै दिदी मनीषा पनि घर आइपुगिन्। उनीहरुले हामीलाई दुई वटा फोटो देखाए, जुन अहिलेसम्म सार्वजनिक भएको थिएन।
मनीषाले घरभित्रबाट एउटा फोटो ल्याइन्। ब्वाइज कट कपाल, पुक्क परेको गाला र हातमा श्रीकृष्णको फोटो। देखिरहेकोभन्दा फरक। फोटो लेमिनेसन गरिएको थियो।

बहिनी सरस्वतीले अर्को सानो अटो साइजको फोटो ल्याइन्। अटो साइजको यो फोटोमा निर्मला अझै सानी देखिन्थिन्।


(महेन्द्र बमको सहयोगमा)
(निर्मलाको घरबाट उनले पढ्न जाने भनेको रोशनी बमको घर कति टाढा छ? बाटो कस्तो छ? उनलाई पढ्न गएको देख्ने र फर्केको देख्ने कोही छन् कि छैनन्? घटनास्थल कस्तो छ? यो विषयमा पहिलोपोस्टको स्थलगत रिपोर्टिङ अर्को पटक)
#WhoKilledNirmala शृङ्खला
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथाशृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्यो अनुसन्धानको घेरामा
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।'
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु
शृङ्खला १२ : निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए?