
- कञ्चनपुरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
के घटनास्थल त्यही हो? या अन्तै घटना गराएर शव त्यहाँ फ्याँकिएको हो? #WhoKilledNirmala शृङ्खलाको तेस्रो भाग आज यही विषयमा
***
साउन १० गते दिउँसो सवा २ बजे बम दिदीबहिनीको घरबाट निस्किएकी भनिएकी निर्मला पन्त त्यसपछि बेपत्ता थिइन्।
उनको साइकल त्यही दिन दिउँसो ४ बजे घना भण्डारीले खोलामा देखेकी हुन् तर बिग्रेको साइकल फालेको होला भनेर वास्ता गरिनन्।
भोलिपल्ट निर्मला खोज्न हिँडेकाहरुले साधुराम चौधरीले खोलाबाट निकालेको अवस्थामा साइकल भेटे। त्यसपछि उनीहरुको खोज त्यही ठाउँ वरपर केन्द्रित भयो।
निर्मलाको कपी र अम्बा राखेको कालो प्लास्टिकको झोला पनि त्यतै बाटो मुनितिर भेटियो।
घटनाको चार महिनापछि गत साता भूपू सैनिक मोतीबहादुर नेपालले हामीलाई साइकल र कापी भेटिएको स्थान यसरी देखाए -
सीधा नाप्ने हो भने साइकल भेटिएको ठाउँबाट शव भेटिएको ठाउँसम्मको दूरी त्यस्तै ५० मिटर होला। तर, शव भेटिएको उखुबारी सडकसँग जोडिएको भने छैन। सडकसँगै करिब १५ फिट चौडाइ भएको नहर छ। नहरमा सधैँजसो नै घुँडाभन्दा माथि पानी बगिरहन्छ।
साउनको महिना लगातार परेको झरीका कारण शव भेटिएको दिन नहरमा पानीको मात्रा झनै बढी भएको हुनुपर्छ। सामान्य अवस्थामा मानिसले उखुबारी भित्र पुग्न यो बाटो प्रयोग गर्दैनन्। तर, त्यो बाटोबाट जानै नसकिने भने हैन। जाने हो भने नहर पारी एउटा ढिस्को पनि उक्लिनुपर्छ। त्यसपछि बल्ल उखुबारी भित्र पुग्न सकिन्छ।
बारीभित्रै सडकबाट सहजै नदेखिने चौरजस्तो ठाउँ पनि छ।
उखुबारी पुग्न अर्को विकल्प पनि छ। साइकल भेटिएको स्थानबाट सडक हुँदै करिब सय मिटरको दुरीमा नहर पारी जाने काठको साँघु छ। २० मिटर जति लामो र १ मिटर चौडा साँघु हुँदै पारी पुगिन्छ। रातको समयमा लाइट नबालिकन साँघु तर्नसमेत मुस्किल पर्छ। बीचमा खुट्टा छिर्ने डर हुन्छ। यो साँघु तरेपछि करिब ३० मिटरको दुरीमा नै चक्रदेव बडुको घर छ। चक्रदेवको घरबाट साँघुबाट वारपार गर्ने मानिस प्रस्टै देखिन्छ। त्यतिमात्र हैन त्यहाँ राति कोही आए घरको कुकुरसमेत भुक्ने गरेको बडुको परिवारका सदस्यले बताए।
.png)
साँघु तरेपछि नहरको किनार हुँदै देब्रेतिर ३० मिटर लागेपछि केही सुनसान ठाउँ छ। यो ठाउँ सडक पारी बाट र चक्रदेवको घरबाट सहजै देखिँदैन। त्यो स्थानबाट १५ देखि २० मिटरभित्र उखुबारीमा छिरेपछि निर्मलाको शव भेटिएको स्थान पुगिन्छ। घटनापछि अहिले उखुबारीमा शव भएको स्थान पुग्न उखु माडेर बाटो बनाइएको छ। निर्मलाको शव भेटिएको स्थान बडुको घरबाट त्यस्तै ३०/४०मिटरको दुरीमा छ।
घटनाको चार महिनापछि हामी पुग्दासमेत उखुबारीभित्र हुँदै शव भेटिएको ठाउँसम्म पुग्न गाह्रो भयो। यो भिडियोमा हेर्न सक्नुहुन्छ -
हामी पुग्दा उखुबारीको बीचमा शव भेटिएको ठाउँमा पानी थिएन। तर, घटनास्थलमा खिचिएका फोटोहरु हेर्दा भने त्यतिबेला त्यहाँ पानीसमेत देखिन्छ।
अब प्रश्न उठ्छ - के घटनास्थल त्यही हो?
कि अन्तै घटना गरेर शव त्यहाँ फ्याँकिएको हो?
अघिल्लो दिन ४ बजे नै साइकल देख्नेहरु भएकाले दिउँसै यस्तो स्थानमा बलात्कार गर्न सम्भव छ? योजनावद्ध रुपमा बलात्कार गर्ने अपराधीले यस्तो ठाउँ छनौट गर्न सक्छ?
पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी केही अपराधीहरुले अपराध गर्न मौकाको खोजी गर्ने बताउँछन्। मान्छे नहुने र एकान्त ठाउँमा नै बढी यस्ता घटना हुने गरेको देखिएको उनको अनुभव छ। भन्छन्, 'एक्सिडेन्ट्ली यस्तो अपराध भएको भए बेग्लै हो। अपराध योजनावद्ध हो भने, यस्ता घटनामा कसैले नदेख्ने र सुरक्षित ठाउँ नै खोज्ने गरेको देखिन्छ।'

माथिको फोटो शव भेटिए लगत्तै खिचिएका फोटोहरुमध्येको एक हो। फोटोमा कम्मरमुनि निर्मलाको कपडा छैन। (यो फोटोमा ब्लर गरिएकोछ) माथि उनले त्यही रातो टिसर्ट लगाएकी छिन्, जुन उनको मिडियामा आएको क्रप गरिएको फोटोमा लगाएकी थिइन्।
गृह मन्त्रालयले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा पनि शवको अवस्थाको विवरण उल्लेख छ - शवको आधा शरीरसम्मको भाग पानीमा रहेको र बायाँ खुट्टा आधा खुम्च्याएको अवस्थामा छ। नली खुट्टादेखि आधा तिघ्रासम्मको भाग पानीमा डुबेको छ। दायाँ खुट्टाको गोलीगाँठोदेखि तिघ्रासम्मको भागसमेत पानीमा डुबेको, मुखको भाग सीधा जमिनतर्फ फर्की पानीमा डुबेको छ। दायाँ हातको नाडीदेखि पाखुरासम्मको भागसमेत पानीमा डुबेको अवस्थामा छ।
प्रतिवेदनमा योनीको भाग पूरै पानीमा रहेको र शव पल्टाई हेर्दा योनीको भागबाट पानीसँगै रगत बग्दै गरेको, योनीको भित्री भागमा जमेका रगत जस्तो देखिने वस्तुहरु देखिएको पनि उल्लेख छ।
त्यस्तै प्रतिवेदनमा शव फेला परेको स्थानमा दुई वटा उखुको बोट हल्का बांगो र एउटा बोट तत्काल भाँचिएको अवस्थामा रहे बाहेक अन्य उखुका बोट तथा पात भाँच्चिएको वा मडारिएकोसम्म नदेखिएको पनि उल्लेख छ।
प्रतिवेदनमा उल्लेख नभएको एउटा विषय छ जसले अनुसन्धानकर्ताहरुलाई समेत झुक्याएको थियो- निर्मलाको एउटा हातले उखुको लाँक्रो समात्न लागेको जस्तो देखिएको छ।

यसैका आधारमा निर्मलाले प्रतिकार गरेको जस्तो देखिएको विश्लेषण गर्दै प्रहरीले सुरुमा घटनास्थल नै यही हो भनेको थियो।
तर, मानिस मरिसकेपछि खुल्ला रहेको हात वा शरीरको भाग केही दोब्रिने र कक्रिने भएकाले पनि यस्तो देखिन सक्ने अर्कोखाले तर्क छ।
मानिस मर्नुभन्दा अघि शरीरको अंग खुम्चिने, तन्किने प्रकिया हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फोरेन्सिक डिपार्टमेन्टका निर्देशक डाक्टर प्रमोदकुमार श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'जब मानिस मर्छ, तब शरीरको एटिपी* भन्ने तत्व कम हुँदै जान्छ। यसको कारण बिस्तारै शरीरका अंगहरु कक्रिने वा खुम्चिने हुन्छ। मानिस मरेको ४ वा ६ घण्टापछि यस्तो देखिन्छ।'
'मानिस मरेपछि अन्य अंगहरु पनि कडा हुँदै, खुम्चिँदै र कक्रिँदै जान्छ। तर, धेरैको ध्यान हातमा जान्छ,' डा. श्रेष्ठ भन्छन्, 'जस्तोसुकै प्रकृतिको मृत्यु भए पनि शरीरको अंग कक्रिएको नै हुन्छ।'
डा. श्रेष्ठको भनाईलाई आधार बनाउने हो भने निर्मलाको त्यो हात मृत्यु भइसकेपछि कक्रिएर उखु समातेको जस्तो देखिएको पनि हुनसक्छ। त्यसैले प्रतिकार गरेको देखिएको आधारमा घटनास्थल नै त्यही हो भन्ने ठोकुवा गर्न सकिन्न।
अहिले प्रहरी 'क्राइम सिन' नै त्यही ठाउँ भएको भनेर ठोकुवा गर्दैन, ‘हुन पनि सक्छ’ चाहिँ भन्छ।
'घटनाको प्रकृति हेर्दा घटनास्थल त्यही पनि हुन सक्छ भन्ने हो। तर, अहिले नै यही नै हो भन्न सक्ने अवस्थामा हामी पुगेका छैनौं,' कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी कुबेरबहादुर कठायतले भने। घटना हुँदाताकाका एसपी दिल्लीराज विष्टपछि जिल्लाको कमान्ड अहिले उनैले सम्हालिरहेका छन्।
पानी र हिलो भएको ठाउँमा जबर्जस्ती गर्न असम्भव नै त नहोला तर सजिलो भने नहुने स्पष्टै छ।
यदि त्यो ठाउँ 'क्राइम सिन' होइन भने अर्को कुन ठाउँ हो त?
.png)
शंकाको घेरामा : होटेल ओपेरा
निर्मलाको बलात्कार र हत्यामा सर्वसाधारणको शंकाका कुरा गर्दा ओपेरा होटलको पनि नाम आउँछ। महेन्द्रनगर बजारमा रहेको नाम चलेको होटल हो, ओपेरा। शव भेटिएको स्थानबाट होटेल करिब ३ किलोमिटरको दुरीमा पर्छ।प्रहरी अनुसन्धानमा भएको लापर्वाहीले घटना सुरुदेखि नै विवादमा परेको थियो। त्यसैले जिल्लाका प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न खडा भयो। कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण निर्मला हराएको दिन होटेल ओपेरामा देखिएका थिए। त्यसैले होटल ओपेरा र एसपीका छोरा किरण दुवैमाथि प्रश्न उठ्यो।
फोटो स्रोत : गुगल म्याप
कल्पना गरौँ, होटलको कुनै कोठामा निर्मलाको बलात्कार भयो। त्यसपछि उनको हत्या गरियो। अब शव व्यवस्थापन गर्न होटलबाट त्यसलाई निकाल्नु पर्यो। कसरी निकाल्ने? कसैले शंका नहुने गरी निकाल्न सुटकेस वा त्यस्तै कुनै झोला चाहियो। होटलका अरु पाहुना र रिसेप्सनिस्टलाई छल्दै जानु पर्यो। त्यसपछि होटलको मूलगेटमा रहने सुरक्षाकर्मीको शंकाबाट पनि बच्नु पर्यो।
मानौँ, यो सब गरेर शवसहितको सुटकेस वा झोला होटल बाहिर ल्याइपुर्याउन अपराधी सफल भयो। अब के? शवसहितको झोला काँधमा बोकेर लग्न सम्भव छैन।
गाडीमा राखेर लग्न भने सकिन्छ। शव उखुबारीको बीचमा फ्याँकिएको छ। त्यो ठाउँमा गाडी पुग्दैन। त्यसैले बीच बाटोमा गाडी रोकेर शवसहितको झोला काठको साँघु भएको ठाउँबाट लानु पर्यो। अरुले देख्ने डरका कारण दिउँसो यो सम्भावना कम छ। राति भने दिउँसोभन्दा जोखिम कम हुनसक्छ।
रातको अवस्थामा भए छेउकै नहरमा नफाली किन शव उखुबारीको बीचमा फ्याँक्नु पर्यो? साँघुबाट एक्लै टर्च नबाली शवसहितको भारी बोकेर पार हुन सजिलो पक्कै हुँदैन। टर्च बालेर कोही हिँडेको थियो भने, नजिकैको चक्र बडुको घरबाट प्रस्ट देखिने सम्भावना रहने भएकाले यसमा पनि जोखिम रहन्थ्यो नै।
त्यतिमात्र होइन, यदि सुटकेसमै प्याक गरेर शव ल्याइएको थियो भने सुटकेशबाट निकाली फालेर थप जोखिम किन लियो? त्यसै मिल्काउँदा पनि हुन्थ्यो। तर, बरामद भएको शवको अवस्था त्यसरी मिल्काएजस्तो थिएन।
यी सब कारणले होटलदेखि उखुबारीसम्म शव व्यवस्थापन गर्न अत्यन्तै जोखिम देखिन्छ। पूर्व डिआइजी मल्ल भन्छन्, 'अपराधीले जोखिम कम हुने विकल्प नै रोज्छन्।'
फेरि निर्मला हराएको दिन नै दिउँसो ४ बजे साइकल देख्नेहरु छन्। अन्त कतै हत्या गरेर उनको साइकल चाहिँ दिउँसै त्यहाँ ल्याएर फाल्ने हिम्मत कसैले गर्ला? साइकल फ्याँक्नु, लाश व्यवस्थापन गरे जत्तिकै जोखिम हुने विषय पनि थियो।
(कञ्चनपुरमा महेन्द्र बम, काठमाडौँमा सागर बुढाथोकी र एनिमेसनमा रमेशमान श्रेष्ठको सहयोगमा)
(निर्मला बम दिदीबहिनीको घरमा जाने भनेर गएकी र घर नफर्किएका कारण शंकाको सुई त्यहाँ पनि तेर्सिएको छ। निर्मलाको शव भेटिएको ठाउँबाट ३० मिटरको दुरीमा चक्रदेव बडुको घर छ। निर्मला रोशनीको घरबाट निस्किएको केही बेरमा नै पानी परेको थियो। के पानी परेपछि ओत लाग्न निर्मला चक्रदेवको घरमा पुगिन्? कतै घटना चक्रदेवको घरमा त भएको होइन? चक्रदेव कसरी प्रहरीको शंकाको घेरामा परे र समातिए? अनि कसरी छुट्न सफल भए? पहिलोपोस्टको #WhoKilledNirmala श्रृंखलाको अर्को भागमा)
#WhoKilledNirmala शृङ्खला
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथाशृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्यो अनुसन्धानको घेरामा
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।'
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु
शृङ्खला १२ : निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए?