PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ए डिभिजन लिगमा आज दुई खेल हुँदै, मनाङलाई शीर्ष स्थानमा उक्लने मौका, सरस्वती र ब्रिगेडको नजर दोस्रो जित



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल हुँदै, मनाङलाई शीर्ष स्थानमा उक्लने मौका, सरस्वती र ब्रिगेडको नजर दोस्रो जित

पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्पमा हुनेछ।

पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड ब्वाइज क्लब र सरस्वती युथ क्लब भिड्दैछन्। यस्तै साढे २ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।

यस सिजन लिगमा शतप्रतिसत नतिजा हात पारेको मनाङले खेलेको तीनवटै खेल जितेको छ। एपीएफ विरुद्ध पनि जित हात पार्दै मनाङ उक्त लयलाई कायम राख्न चाहन्छ। मनाङले यसअघि थ्री स्टार क्लबलाई पराजित गरेको थियो। 

एपीएफले भने यस सिजन सोचेअनुसार प्रदर्शन गर्न सकेको छैन। एपीएफले तीन खेल खेल्दा एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको थियो। पछिल्लो खेलमा एपीएफ ब्रिगेडसँग ३-१ ले पराजित भएको थियो।

यस खेलमा जित हात पारे मनाङ पुन: शीर्ष स्थानमा फर्कनेछ। थ्री स्टार समान ९ अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ। अपराजित आर्मी चार खेलबाट १० अंक लिएर पहिलो स्थानमा छ।

९ अंक नै रहेको संकटा चौथो स्थानमा छ।

यस्तै ब्रिगेड र सरस्वती लिगमा दोस्रो जितको खोजीमा छ। आजको खेलमा जित हात पार्दै अंक तालिकामा स्थान सुधार गर्ने उनीहरुको जोड हुनेछ। पछिल्लो खेलमा ब्रिगेडले एपीएफलाई र सरस्वतीले फ्रेण्ड्सलाई पराजित गरेको थियो। दुवै टोलीले तीन खेल खेल्दा एक-एक जित हात पारेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell