काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले 'सामाजिक सुरक्षा कोष'को घोषणा सरकार कहाँ छ भन्नेका लागि जवाफ रहेको बताएका छन्।
ठूलो प्रचारसहित आज सरकारले कोषको घोषणा गरेको हो। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पत्रपत्रिकामा सरकार कहाँ हरायो भनेर प्रश्न गरेको प्रसंग उठाए। उनले भने, 'अहिलेको सरकार जुम्रा मार्न र सिन्का भाच्न बनेको होइन। सरकार कहाँ छ भन्ने थाहा पाउन तपाईंले चश्मा लगाउन पर्दैन। 'पावर एड' गर्नु पर्दैन, नचाहे पनि देख्नु पर्छ। मजदुरलाई सोध्नुस् थाहा पाउनुहुन्छ।'
उनले सरकारले गरेका कामको व्याख्या गर्न पनि भ्याए। 'मेलम्ची आउँदैछ। सरकार त्यहाँ देखिन्छ। सडकमा धुलो उड्दैन। अब बडारिन्छ पखालिन्छ। त्यहाँ देखिन्छ सरकार,' प्रधानमन्त्री ओलीले भने, 'नागढुंगा सडक द्रुतगतिमा बन्दैछ त्यहाँ छ सरकार। बाटोमा अलिअलि धुलो उड्न कम भएको छ, अलिअलि सरकार त देख्नु पर्ने हो।'
हिजो साँझ देखि नै सोलार बत्तीमा प्रधानमन्त्रीको यो घोषणा कार्यक्रमको प्रचार सामग्री झुन्ड्याउन थालिएको थियो। साथै आज बिहानका सबै ब्रोडसिट दैनिक पत्रिकामा सरकारको यही कार्यक्रमको 'ज्याकेट एड' छापिएको छ। अनलाइन मिडियाबाट पनि सरकारले सक्दो प्रचार गरेको छ। 'भोलि कसैले भन्न सक्छन् यो तामझाम किन?,' त्यही विषय उप्काउँदै प्रधानमन्त्रीले भने, 'हो उनीहरूलाई देखाउन। आज नौमती बाजा बजाइएको छैन, भोलि बज्नेछ।'
सरकारको कार्यक्षमतामाथि उठेका प्रश्नहरु एक एक गर्दै मन्तव्यमा ओलीले नै उठाएका थिए। '९ महिना बित्यो। एयरपोर्ट किन बनेन् भन्छन्, संसारमा कहाँ ९ महिनामा एयरपोर्ट बनेको छ? मेलम्ची किन आएन? सरकार आएपछि रातदिन काम गरको छ। अब जनता निरास हुनुपर्दैन।'
उनले सामाजिक सुरक्षाको योजना २५ वर्षअघिबाट थालेको उल्लेख गर्दै त्यतिखेर कनिका छरेर ढुकुटी रित्याएको आरोप सहन परेको बताए। उनले हिजो विरोध गर्नेहरुले आज यही कार्यक्रमलाई आफ्नो देखाउन लागि परेकोसमेत दावी गरे।
'आधुनिकतासँगै हाम्रो समाजका सहयोग सेवा भाव कम हुँदै गयो। तीन चार पुस्ता सँगै रहने हाम्रो परिवार अहिले साना परिवारमा छौँ,' प्रधानमन्त्रीले नयाँ घोषणाको उद्देश्यबारे प्रस्ट्याए, 'राज्यले दायित्व लिन जरुरी थियो, हामीले सुरु गर्यौं। कतिले बुझेनन्। कतिले निन्दा गरे। अहिले यसका मम्मी ड्याडी बन्न खोजिरहेका छन्। उमेर हद घटाउने र भत्ता बढाउने खेल पनि भयो।'
उनले जनता निरास हुनुपर्ने कुनै कारण नरहेको बताए। 'राणा फाल्छु भन्यो, फाल्यो। राजा फाल्छु भन्यो, फाल्यो। संविधान बनायो। चुनाव नचाहनेलाई परास्त गर्छु भने, परास्त गरे। कम्युनिस्टलाई जिताउँछु भने, जिताए। हामीलाई पार्टी एकता गर भने, गर्दियौं। निरास हुने ठाउँ छैन,' प्रधानमन्त्री ओलीले भने।