काठमाडौँ : यही मंसिर २२ गतेदिख कीर्तिपुरस्थीत टीयू क्रिकेट मैदान एभरेष्ट प्रिमियर लिग (इपीएल)-२०१८ सुरु हुँदैछ।
यस पटक मुख्य आकर्षणको रुपमा विदेशी खेलाडी रहने पक्का छ। अहिलेसम्म सहभागि फ्रेन्चाइज टोलीहरुले घोषणा गरेको विदेशी खेलाडीको नाम हेर्दा विश्वस्तरिय खेलाडीले टीयू मैदानमा नेपाली खेलाडीसँगै खेल्ने भएका छन्।
इपीएलमा नेपालको ६ शहरको नामबाट ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्। आयोजकको नियमअनुसार प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी अनिवार्य रुपमा राख्नुपर्नेछ।
त्यसकै नतिजा स्वरुप अहिले विश्वका नाम चलेका खेलाडीहरुलाई फ्रेन्चाइजले नेपाल ल्याउन लागेका हुन्।
६ मध्ये चार टोलीले तीन जनाको विदेशी खेलाडीको कोटा पुरा गरिसकेका छन्। बाँकी टिमले पनि केही दिनभित्रै विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा छन्।
अहिलेसम्म घोषणा भएका खेलाडीहरुमा दक्षिण अफ्रिकाका रिचर्ड लेभी, जिम्बावेका सिकन्दर राजा, आयरल्याण्डका केभिन ओ'ब्रायन र पउल स्ट्रलिङ, नेदरल्याण्ड्सका रायन टेन डेसचाटे देखि युएईका कप्तान रोहन मुस्ताफा रहेका छन्।
गत वर्ष जस्तै यस पटक पनि काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सले खेल्दैछन्।
यसमध्ये काठमाडौँ, ललितपुर, भैरहवा र पोखराले तीन-तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेको छ। चितवनले पनि तीन खेलाडीको नाम सार्वजनिक गरेपछि उनीहरु व्यस्त तालिका अनुसार नआउने भएपछि त्यसको स्थानमा नयाँ खेलाडी घोषणा गर्ने क्रममा छ र एक खेलाडीको नाम पक्का गरिसकेको छ।
यस्तै गत वर्षको च्याम्पियन तथा नेपालका कप्तान पारस खड्काको विराटनगरले ओपचारिक रुपमा विदेशी खेलाडीको नाम घोषणा गरेको छैन। तर यसअघि नै हङकङका खेलाडीद्वय बाबर हायत र अंशुमन रथ नै आउने जानकारी आएको छ। दुवै खेलाडीले गत वर्ष विराटनगरबाट खेलेका थिए।
ललितपुरले गत सिजन खेलेका दुई खेलाडीलाई निरन्तरता दिँदै गौरव तोमरलाई यस सिजन नयाँ खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ। गत वर्ष खेलेका जय किसन कोल्सावाला र सन्नी पटेल यथावत छन्।
यस्तै काठमाडौँले जिम्वावेका सिकन्दर राजा, आयरल्याण्ड केभिन ओ'ब्रायन र युएईका कप्तान रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ।
गत वर्षको उपविजेता भैरहवाले डच खेलाडी रायन टेन डेसचाटे सहित युएईका फास्ट बलर मोहम्मद नाभिद र भारतका रवीइन्द्र सिंहलाई अनुबन्ध गरेको छ।
अर्को फ्रेन्चाइज पोखराले दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचर्ड लेभी, स्कटल्याण्डका कप्तान केल कोत्जर र इंगल्याण्डका पउल कग्घलिनलाई अनुबन्ध गरेको छ।
चितवन टाइगर्सले आयरल्याण्डका पउल स्ट्रलिङलाई नेपाल ल्याउने पक्का गरेको छ।
चितवनले यसअघि इंग्ल्याण्डका म्याक्स होल्डेन र न्यूजिल्याण्डका जेम्स फुलरलाई ल्याउने जनाएपनि यी दुई खेलाडी व्यस्तताका कारण नआउने भएका छन् र त्यसको स्थानमा स्ट्रिङलाई भित्र्याएको हो।
ललितपुर प्याट्रिओट्स
जय किसन कोल्सावाला, सन्नी पटेल, गौरव तोमर
काठमाडौँ किंग्स ११
सिकन्दर राजा, केभिन ओ'ब्रायन, रोहन मुस्ताफा
पोखरा राइनोज
केल कोत्जर,पउल कग्घिलन, रिचर्ड लेभी
भैरहवा ग्लाडिएटर्स
रायन टेन डेसचाटे, मोहम्मद नानभिद, रवीइन्द्र सिंह
चितवन टाइगर्स
पउल स्ट्रलिङ
विराटनगर वारियर्स*
बाबर हायत, अंशुमन रथ