PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

च्याम्पियन्स लिग : सात ठूला क्लब अन्तिम १६ मा प्रवेश



पहिलोपोस्ट

च्याम्पियन्स लिग : सात ठूला क्लब अन्तिम १६ मा प्रवेश

युरोपको सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा युइएफए च्याम्पियन्स लिगका सात ठूला क्लब एकै दिन अन्तिम १६ मा प्रवेश गरेका छन्।

गएराती भएको खेलपछि स्पेनको रियल मड्रिड, जर्मनीको वायर्न म्युनिख, इटलीको युभेन्ट्स र रोमा, इंग्ल्याण्डको दुई म्यानचेष्टर क्लब र नेदरल्याण्ड्सको अयाक्सले प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्।

सबै क्लबले समूह चरणमा अझै एक खेल खेल्न बाँकी छ। यसअघि नै समूह ए बाट स्पानिस क्लब बार्सिलोना अन्तिम १६ मा पुगिसकेको छ।

समूह ई बाट वायर्न र अयाक्स अन्तिम १६ मा पुगेका छन्। वायर्नले एइके वेनफिकालाई ५-१ ले हरायो। जर्मन क्लबका लागि आर्येन रोवेन र रोवर्ट लेवान्डान्स्कीले दुई-दुई तथा फ्रान्क रिवेरीले एक गोल गरे।

यस्तै अयाक्सले दश खेलाडीमा झरेको एथेन्सलाई २-० ले हरायो। अयाक्सका लागि दुवै गोल डुसान टाडिकले गरे। जितपछि वायर्नको १३ तथा अयाक्सको ११ अंक छ। ४ अंक रहेको वेनफिका युरोपा लिगको लागि छनोट भएको छ भने एथेन्स अंकविहिन छ।

यस्तै समूह जी बाट स्पानिस क्लब रियल मड्रिड रोमालाई २-० ले पराजित गर्दै अन्तिम १६ मा पुगको छ। रियलका लागि गारेथ बेल र लुकास भजक्वेजले एक-एक गोल गरे।

यसै समूहको अर्को खेलमा भिक्टोरिया प्लेजनले सिएसकेए मस्कोलाई २-१ ले पराजित गरेपछि रियलसँग हारेपनि रोमाले पनि अन्तिम १६ मा स्थान बनाएको हो।

रियलको १२ र रोमाको ९ अंक छ। अन्य दुई क्लबको समान ४ अंक छ। यी दुई क्लबले बाँकी एक खेल जितेपछि रोमालाई भेट्ने छैन।

 

यस्तै समूह एचबाट इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड अगाडी बढेका छन्। युभेन्ट्सले भ्यालेन्सियालाई र युनाइटेडले योङ ब्वाइजलाई समान १-० को अन्तरमा हराए।

युभेन्ट्सलाई जित दिलाउन मारियो मान्डुकिचले निर्णायक गोल गरे। यस्तै युनाइटेडका लागि माराउने फेलिइनीले इन्जुरी टाइममा गोल गर्दै जित दिलाए।

जितपछि युभेन्ट्सको १२ र युनाइटेडको १० अंक भएको छ। ५ अंक रहेको भ्यालेन्सिया युरोपा लिगको लागि छानिएको छ। योङ ब्वाइजको एक अंक मात्र छ।

उता दुई पटक पछि परेर पनि फ्रेन्च क्लब लियोनसँग २-२ को बराबरी खेलेको म्यानचेष्टर सिटी समूह एफबाट अन्तिम १६ मा पुग्ने पहिलो पहिलो क्लब बनेको छ। सिटीका लागि एन्टोनिओ लापोर्टे र सर्जियो अगुएरोले गोल गरेका थिए।

लियोनका लागि म्याक्सवेल करनेटले दुई गोल गरेका थिए। बराबरीपछि सिटीको १० अंक भएको छ। अब उसले अन्तिम खेल हारेपनि समूहको शीर्ष दुई स्थानमा रहने पक्का छ। लियोन ७ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै होपेनहेइमलाई ३-२ ले पराजित गर्दै युक्रेनी क्लब साख्तर डोनेस्कले पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell