लियोनल मेसी युरोपियन च्याम्पियन लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेको दिन बार्सिलोनाले पीएसभी आइन्डहोभनलाई २-१ ले पराजित गरेको छ।
यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको स्पानिस क्लब यस जितपछि समूह बी को विजेता बन्ने पक्का छ।
पिएसभीको मैदानमा भएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। बार्सिलोनाका लागि मेसीले ६१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। जेरार्ड पिकेले ७०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
उक्त गोलपछि मेसीले च्याम्पियन्स लिगमा बार्सिलोनाका लागि १०६ गोल गरिसकेका छन्। उनले रियल मड्रिडका लागी १०५ गोल गर्ने क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्।
डच क्लब पीएसभीका लागि लुक डे जोङले खेलको अन्त्यतिर गोल फर्काए।
समूह बी मा अपराजित रहँदैं बार्सिलोनाले पाँच खेलबाट १३ अंक जोडेको छ। उता पाँच खेलबाट एक अंक मात्र रहेको पिएसभी भने समूह चरणबाटै बाहिरिएको छ। यसै समूहको खर्को खेलमा इन्टर मिलानलाई १-० ले पराजित गर्दै टोटनहमले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ।
टोटनहमको जितपछि लण्डन क्लब र इन्टरको समान ७ अंक छ। अब समूहको अन्तिम खेलमा टोटनहमले बार्सिलोना तथा इन्टरले पिएसभीसँग खेल्नेछ।
यसैगरी फ्रेन्च क्लब पीएसजीसँग पराजित भएपछि अर्को इंग्लिस क्लब लिभरपुलको नकआउट यात्रा केही कठिन बनेको छ।
घरेलु मैदानमा पीएसजीले लिभरपुललाई २-१ ले पराजित गरेको हो। पीएसजीका लागि हुवान बर्नाट र नेमारले गोल गरे भने लिभरपुलका लागि जेम्स मिल्नरले पेनाल्टीमा एक गोल फर्काए। लिभरपुल विरुद्धको गोलपछि नेमार युरोपियन च्याम्पियन्स लिगमा धेरै गोल गर्ने ब्राजिलियन खेलाडी बनेका छन्। नेमारको यो ३१औँ गोल हो। उनले काका (३०) को कीर्तिमान तोडेका हुन्।
समूहमा लिभरपुलको यो तेस्रो हार हो। अर्को खेलमा एफके जेज्दालाई ३-१ ले पराजित गरेको इटालियन क्लब नेपोली पाँच खेलबाट ९ अंक जोड्दै समूह डी को शीर्ष स्थानमा छ। नेपोलीका लागि ड्राइस मर्टेन्सले दुई तथा मारेक ह्यामसिकले एक गोल गरे। समान खेलबाट ८ अंक रहेको पीएसजी दोस्रो तथा ६ अंक रहेको लिभरपुल तेस्रो स्थानमा छ। जेज्दाको ४ अंक छ।
अब अन्तिम खेलमा लिभरपुलले शीर्ष स्थानको नेपोलीसँग खेल्नेछ भने पीएसजीले जेज्दासँग खेल्नेछ। लिभरपुलले अन्तिम १६ मा स्थान बनाउन नेपोली विरुद्धको खेल जित्नैपर्ने दबाबमा छ र अर्को खेलको नतिजा पनि कुर्नुपर्नेछ। लिभरपुल र पिएसजी विजयी भएका पिएसजीको ११ तथा लिभरपुल र नेपोलीको ९-९ अंक हुनेछ। यस्तोमा गोल अन्तरको आधारमा नकआउट पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ।