काठमाडौँ : यही मंसिर २२ गते (आगामी शनिवारदेखि) सुरु हुने एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ का लागि चितवन टाइगर्सले तेस्रो विदेशी खेलाडीको रुपमा जर्ज स्कटलाई अनुबन्ध गरेको छ।
टाइगर्सले शुक्रवार विज्ञप्ती जारी गर्दै २३ वर्षीय स्कटलाई अनुबन्ध गरेको जनाएको हो।
टाइगर्सले यसअघि आयरल्याण्डका पउल स्ट्रलिङ र इंग्ल्याण्डकै विकेटकिपर ब्याट्सम्यान जोन सिम्पसनलाई अनुबन्ध गरिसकेको छ।
मिडलसेस्का खेलाडी स्कटले पाँच फस्ट क्लास, दुई लिस्ट ए र १५ टी-२० क्रिकेट खेलेका छन्। दायाँहात ब्याट्सम्यान स्कटको अनुबन्धपछि चितवनको टोली थप बलियो भएको उक्त फ्रेन्चाइजले जनाएको छ।
यस्तै टाइगर्सले इपीएलका लागि लोकल ट्यालेन्ट हन्टबाट प्रारम्भिक ५ खेलाडी चयन गरेको छ। चितवनको क्याम्पाचौरमा आज भएको ट्यालेन्ट हन्टबाट आकाश थापा, गौतम केसी, अभिनास बस्याल, प्रशान्त महत र संघर्ष पौडेललाई छनोट गरेको विज्ञप्तीमा जनाएको छ। आकाशले गत वर्ष पनि ट्यालेन्ट हन्टबाट छनोट भएर इपीएल खेलेका थिए।
टाइगर्स मुख्य प्रशिक्षक कलाम अली, टिम लिडर तथा म्यानेजर श्यामसङजंग थापा, टोलीका खेलाडी तथा यू-१९ टिमका पूर्व कप्तान पृथु बास्कोटा ट्यालेन्ट हन्ट कार्यक्रममा गएका थिए।
नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्र सिंह ऐरी मार्की प्लेअर तथा कप्तान रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, ललितसिंह भण्डारी, कमल सिंह ऐरी, शहाब आलम, दीलिप नाथ, सन्दीप सुनार, भिम शार्की जस्ता युवा र प्रतिभावान खेलाडी छन्।