PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट (#WhoKilledNirmala शृङ्खला ८)


पहिलोपोस्ट

पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  (#WhoKilledNirmala शृङ्खला ८)

  • महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
‘तपाईँहरु सिआइडी हो?’

स्थलगत रिपोर्टिङका लागि महेन्द्रनगर पुगेर सूचना संकलन गर्दैगर्दा एक महिलाले हामीमाथि शंका गरिन्।  

परिचयपत्र देखाएपछि बल्ल उनले हामी काठमाडौँबाट आएको पत्रकार भनेर विश्वास गरिन्। 

उनको छेउमै बसेका अर्का पुरुषले भने, ‘पुलिस  आए भने त सबै मिलेर कुटेर खेदाउनुपर्छ।'

उनको यो आक्रोशपूर्ण प्रतिक्रियाले त्यहाँ प्रहरीप्रतिको विश्वास कुन तहमा झरेको छ अनुमान गर्न सकिन्छ। 

'अहिले त पुराना प्रहरी सबै फर्काएर नयाँ आएका छन् हैन र?' हामीले सोध्दा समेत उनीहरुको जवाफ थियो-'उस्तै त हुन् नि सबै।'

उनीहरुको यस्तो प्रतिक्रियाले प्रहरीप्रति स्थानीयको आक्रोशमात्र देखाउँदैन, अनुसन्धानमा जुट्न भनेर यहाँ पुग्ने प्रहरीलाई काम गर्न कति कठिन छ भन्ने पनि देखाउँछ।

‘स्थानीयको सहयोग हुँदा प्रहरीलाई अनुसन्धानमा अत्यन्तै सहज हुन्छ,’ पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल भन्छन्, 'सहयोग भएन भने प्रहरीले अनुसन्धान त गर्छ तर निकै घुमाउरो र कठिन हुन्छ।'

उनी उदाहरण दिँदै भन्छन्, ‘कुनै ठाउँमा कसैलाई गोली हानेर भागेमा स्थानीयले देखेको भए फलानोले गोली हान्यो भन्छ। यस्तो लुगा लगाएको थियो, हुलिया पनि खुलाउँछ। र, स्थानीयले यतिखेर घटना भयो भन्ने जानकारी दिँदा अनुसन्धानमा सहज हुन्छ। त्यही कुरा दिएनन् भने प्रहरीले घुमाउरो र समय खर्चेर अनुसन्धान गर्नुपर्छ।‘ 

कञ्चनपुरमा प्रहरीप्रति यो हदसम्मको अविश्वास कसरी उब्जियो त?

प्रहरीकै व्यवहारका कारणले। 

घटनाको पहिलो जानकारी पाउँदादेखि नै प्रहरीले बेवास्ता गरेको र पीडित परिवारको विश्वास जित्न नसक्नुको परिणाम अहिले सिङ्गो प्रहरी संगठनले भोगिरहेको छ।

+++

पूरै जिल्लाको कमान्ड सम्हालिरहेका प्रहरी प्रमुख दिल्लीराज विष्टको कार्यालयको दूरी निर्मलाको शव भेटिएको ठाउँबाट करिब तीन किलोमिटर मात्रै छ। तर, पनि उनी घटनास्थलमा चार दिनपछि मात्रै पुगे।  घटनास्थलबाट नजिकै रहेको निर्मलाको घरमा परिवारलाई भेट्न पनि उनी पुगेनन्।

त्यस्तै लापरवाही निर्मलाको घर पर्ने वडा प्रहरी कार्यालयका इञ्चार्ज इन्सपेक्टर जगदीश भट्टले पनि गरे। भट्टको घर पनि सोही वडामा छ। उनले राति ८ बजे नै निर्मला हराएको खबर पाएका थिए। तर, चासो लिएको देखिन्न। गृह मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदनमा उनले भनेका छन्, ‘बिहान शव भेटिएर खबर पाएपछि मात्र घटनास्थल पुगेको हुँ।'

निर्मलाको शव भेटिएको उखुबारी लोकेन्द्र भट्टको हो। लोकेन्द्र जगदीशका भतिजा हुन्। समितिको प्रतिवेदनमा उनले भनेका छन्- 'लोकेन्द्र भट्ट र मेरो घर सँगसँगै छ।'

बम दिदीबहिनीको घरबाट निस्केर करिब ४ सय मिटरको दुरी पार गरेपछि वरपर कतै घर नभएको सुनसान ठाउँ आइपुग्छ। बायाँतिर रुख र झाडी छ भने दायाँतिर खुला खेत। करिब २ सय ४० मिटर ठाउँ यस्तै छ।

त्यसभन्दा पर जाने हो भने, दुई वटा घर देखिन्छ। दायाँ लोकेन्द्र भट्टको घर र बायाँ चक्रदेव बडुको। वरपर अरु कुनै घर छैन।

प्रतिवेदनको बयानअनुसार निर्मला फर्कने बाटो वरपर नै इन्स्पेक्टर जगदीश भट्टको घर पनि छ। 

नहरको पानीमा रहेको भनिएको निर्मलाको साइकल बाहिर निकाल्ने माइलो भन्ने गोपाल चौधरी उनकै भतिजाको घरमा बसेको पनि प्रतिवेदनमा उल्लेख छ। 

विश्वास गुम्ने र शंका उब्जने कारण पहिलो दिनदेखि नै

छोरी घर नफर्किएपछि निर्मलाकी आमा दुर्गादेवी पन्त छोरीको साथीको घरमा दुई पटक जान्छिन्। साँझ ६ बजेतिर एक्लै र ७ बजेतिर छिमेकी लक्ष्मण भट्टसँग। तर, दुवै पटक दिउँसो नै घरबाट गइसकेको जवाफ पाउँछिन्। तर, घर पुगेकी हुँदिनन् निर्मला। त्यसपछि निर्मलाकी आमा प्रहरीको सहयोग खोज्न जान्छिन्। अस्थायी प्रहरी पोस्ट सल्लाघारीमा रिपोर्ट दिन पुग्दा मध्यरात भइसकेको थियो।

‘राति साढे १२ बजेतिर निर्मलाकी आमा आफै आएर घटनाबारे जानकारी गराएको हो,’यो प्रहरी चौकीका इन्चार्ज सई रामसिंह धामीले समितिलाई बताएका छन्, ‘रातिमा केटी मान्छेमात्र बसेको ठाउँमा जान नसकिने, भोलि बिहान जाउँला भनी पठाएको हुँ।'

प्रहरीले यो बिन्दुबाटै पीडितको विश्वास गुमाउन थालिसकेको थियो। धामीको बयानबाट निर्मलाकी आमाले बम दिदीबहिनीको घरमा गएर हेरिदिनु पर्‍यो भन्दै गुहारेको झैँ देखिन्छ। महिलामात्र बसेको घर भए महिला प्रहरी लिएर वा छरछिमेकीमार्फत् त्यो घरभित्र हेरिदिएको मात्र भए पनि पीडितको विश्वास जित्न सकिन्थ्यो।

त्यसो त धामी त्यो दिन पानी परेको बताउँछन्। तर, यसलाई मात्र कारण बनाउँदैमा प्रहरीले गरेको बेवास्ता ढाकछोप हुन्न । 

तत्काल नगए पनि बिहान साढे चार बजे नै प्रहरी बम दिदीबहिनीको घरमा गएको सई धामीले बताएका छन्। तर, त्यो दिन तत्काल रेस्पन्स गर्न चुक्दा प्रहरीले आफूमाथि शंका उब्जने वातावरण बनाएको हो।

यस्ता घटनामा प्रहरीले पीडित पक्षलाई विश्वासमा लिनु कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा काठमाडौंको रानीबारी हत्याकान्डले पनि देखाउँछ।

२०५९ सालमा काठमाडौंको रानीबारीमा इन्जिनीयर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको खुकुरी प्रहार गरी हत्या भयो। घटनाको एक दशक नाघ्दासम्म पनि प्रहरीले अपराधीको सुइँको पाउन सकेको थिएन। यो घटनामा पनि १८ वटा समिति बनेका थिए। 

हत्यारा पत्ता नलागे पनि प्रहरीले पीडित परिवारको विश्वास भने जितेको थियो। पीडित परिवारले कहिले पनि प्रहरी र सरकारको आलोचना गरेनन्। परिवारले दिएका सूचना र शंकालाई बेवास्ता नगरी प्रहरीले सुन्दै आयो। अन्ततः १२ वर्षपछि हेमन्त मल्ल ठकुरीको नेतृत्वमा रहेको सिआइबी टोलीले हत्या गर्ने मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गर्न सफल भयो।

निर्मलाको हत्या भएको लगभग एक महिनापछि भदौ ४ गते राजधानीको बबरमहलमा पूर्व राजदूत केशव झाको हत्या भयो। अहिलेसम्म हत्यारा पत्ता नलागे पनि पीडित पक्षले सरकार र प्रहरीको आलोचना गरेको देखिएको छैन। 

दोस्रो दिन घटनास्थलको दृश्यले प्रहरी अझ 'नाङ्गियो' 

निर्मला प्रकरणमा पहिलो दिनमात्र हैन, त्यसपछिका प्रत्येक घटनाक्रमले प्रहरीलाई पीडित पक्ष र अरुले पनि शंका गर्नुपर्ने स्थिति बनाएको छ।

निर्मला हराएको भोलिपल्ट बिहान ९ बजेतिर उखुबारीमा शव भेटियो। माउन्टेन टेलिभिजनका पत्रकार पुष्कर भट्टले घटनास्थलको भिडियो खिचेका थिए। त्यो टेलिभिजनमा प्रसारण पनि भएको थियो। सामाजिक सञ्जालमा पनि घटनास्थलको भिडियो र फोटो छ्याप्छ्याप्ती भइसकेको थियो।

यी फोटो र भिडियोले घटनास्थलको अनुसन्धानमा प्रहरी कति कमजोर रहेछ भन्ने छरपष्टै पार्‍यो। 

घटनास्थलमा सिन अफ क्राइम (सोको अफिसर) खटिने गर्छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (सिआइडी) मातहत सोको अफिसर रहने गर्छ। 

विभागका प्रमुख एआइजी पुष्कर कार्की भन्छन्, ‘सोको अफिसरले घटनास्थल घेर्ने, रेखाङ्कन गरेर सुरक्षित गर्ने, प्रमाण जुटाउने, घटनाको विश्लेषण गर्ने काम गर्छ। घटनास्थलमा खटिनुअघि उनीहरुलाई ९० दिनको विशेष तालिमसमेत दिइएको हुन्छ।'

नेपाल प्रहरीले प्रत्येक अपराध अनुसन्धान गर्ने एकाईमा सोको अफिसर, प्रमाण संकलन गर्न सोको किट बक्सको समेत व्यवस्था गरेको छ। तर, भिडियो हेरेपछि प्रष्ट हुन्छ- यसको व्यवहारिक प्रयोग कति भयो?

घटनास्थलमा क्राइम सिन प्रोटेक्सन (पहेँलो) टेप लगाएर प्रवेश निषेध गर्नुपर्ने हो। त्यो छैन भने डोरी नै बाँधेर भए पनि सुरक्षित बनाउनु पर्ने हो, त्यसो गरेको देखिएको छैन। प्रहरी र सर्वसाधारण सँगसँगै उभिएर ‘तमासा हेरे जस्तो’ देखिएको छ।

अझ घोप्टो अवस्थामा फेला परेको निर्मलाको शवलाई उत्तानो पार्दा गुप्ताङ छोप्न शवकै छेउमा भेटिएको उनको सुरुवाल प्रयोग गरिएको छ। त्यो पनि पानीमा चोपल्दै।

सोको अफिसर हरसिंह धामी गृह मन्त्रालयको छानबिन समितिलाई भन्छन्,‘मैले त्यसो गरेको देखिनँ।'

प्रमाण संकलन र घटनास्थल संरक्षणमा तालिम पटक्कै छैन भन्ने गतिलो प्रमाण यो भिडियो नै छ।

घटनास्थल सुरक्षित नभए धेरै प्रमाण लोप हुनसक्ने  पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। उनी भन्छन्,'घटनास्थल अनुसन्धानको लागि सुरक्षित हुनुपर्छ। मानिसलाई सहजै घटनास्थलमा छिर्न दिनुहुँदैन।'

उखुबारीभित्र प्रहरीले कसैलाई रोक्न  सकेन। न त कुनै सीमा रेखा नै बनाइएको देखियो। शव भेटिएपछि घटनास्थल पुगेका वडा सदस्य रविन्द्र तिवारी भन्छन्,'मैले जगदीशलाई कति पटक भनेँ, सबै मानिस घटनास्थलमा गइरहेका छन्, रोक्नुेपर्‍यो भनेर। तर, उसले वास्तै गरेन।'

घटनास्थलमा कुकुर किन प्रयोग नगरिएको भनेर पनि प्रश्न उठाइएको छ। 

कमान्ड कहाँ चुक्यो?

हामीले बुझे अनुसार कञ्चनपुर जिल्लाको जिम्मेवारी सम्हालिरहेका एसपी विष्टको कमान्ड यति फितलो थियो कि उनकै कार्यालयमा रहेका जुनियर प्रहरीहरुको समेत विश्वास उनले जित्न सकेका थिएनन्। उनका कतिपय अन्तरङ्ग कुरा त उनकै कार्यालयबाट उनकै मातहतका कर्मचारीबाट बाहिरिएको पाइएको छ। 

तर, प्रहरी चेन अफ कमान्डमा चल्ने संस्था भएकाले एसपी विष्टको कमान्डलाई मात्रै दोष दिएर प्रहरी नेतृत्व उम्कने ठाउँ छैन। प्रहरीको चेन अफ कमान्ड अनुसार घटनास्थलबाट एसपी विष्टले संघीय प्रहरी इकाई कार्यालयलाई रिपोर्ट गर्नुपर्थ्यो। त्यतिबेला त्यहाँ एसएसपी विक्रम चन्दको कमान्ड थियो।

एसएसपी चन्दले रिपोर्ट गर्नुपर्ने ठाउँ प्रदेश प्रहरी कार्यालय हो। त्यतिबेला त्यहाँ एसएसपी हरिराज वाग्लेको कमान्ड थियो। 

प्रदेश प्रहरी कार्यालयले रिपोर्ट गर्नुपर्ने ठाउँ सिधै मुख्यालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हो।

जघन्य प्रकृतिको अपराध भएकाले यो घटनाको रिपोर्ट आइजी तहसम्मै भएको हुन्छ। आइजीको निर्देशनबिना केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिँदैन। डिएसपी अंगुर जिसीको नेतृत्वमा सिआइबीको टोलीलाई आइजीले साउन १३ गते नै कञ्चनपुर खटाएको छ।

अब प्रश्न उठ्छ- घटनास्थलमा 'सर्वसाधारणको चित्त बुझाउन भए पनि कुकुर प्रयोग गर' भनेर संघीय प्रहरी इकाई कार्यालयबाट एसएसपी विक्रम चन्दले एसपी विष्टलाई नभनेको या भनेर पनि विष्टले नटेरेको? अथवा 'कुकुर प्रयोग गर है' भनेर प्रदेश कार्यालयले संघीय प्रहरी इकाई कार्यालयलाई नभनेको या भनेर पनि नटेरेको? 

घटनाक्रम हेर्दा लगभग एक महिनापछि भदौ ७ गते बल्ल प्रदेश प्रहरी कार्यालयले एसएसपी चन्दलाई छानबिन तथा अनुसन्धानका लागि कञ्चनपुर पठाएको देखिन्छ। जबकि, घटनाबारे शव भेटिएको तेस्रो दिन साउन १३ गते नै प्रतिनिधि सभामा समेत आवाज उठेको छ।

पपुलिस्ट बन्न खोज्ने आइजी

आइजी सर्वेन्द्र खनालको कमान्ड पनि यो घटनामा छरपष्टै भयो। एसपी विष्टमाथि अनुसन्धानमा लापरबाही गरेको र जिम्मेवारी नसम्हालेको मात्र आरोप थियो। तर, उनले आफ्नै एसपीको पनि डिएनए चेक गराउन लगाए। निर्मलाको भेजिनल स्वाबमा भेटिएको पुरुष वीर्यको डिएनएसित अरु डिएनए म्याच हुन्छ कि हुँदैन परीक्षण गरिएको हो। यस अनुसार बलात्कारमा संलग्न भएको हुनसक्नेको मात्र डिएनए परीक्षण गर्नुपर्ने हो।

अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपीलाई कानुन अनुसार विभागीय कारबाही गर्नुको साटो उनले शंकास्पद अभियुक्तका रुपमा डिएनए नै परीक्षण गर्न लगाए।

अपराधको अनुसन्धानमा अरु प्रमाणहरु भेटिएपछि वैज्ञानिक पुष्टिका लागि मात्र डिएनए चेक गराउनु पर्ने हो। तर, भिडको मागकै भरमा एसपी विष्टमात्र हैन, एसपी विष्टका छोरा किरण विष्ट र मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए चेक गरियो।

बलात्कारको एउटै घटनामा बाबुछोरा दुवैको डिएनए चेक गरियो। यसअघि अभियुक्तको डिएनए चेक भएको नभएको मिडियामा सार्वजनिक गरिँदैन थियो। यही घटनामा सबैभन्दा पहिला शंकास्पद व्यक्ति चक्रदेव बडुको डिएनए चेक भएको कुरा धेरै पछि मात्र सार्वजनिक भएको थियो। 

चार महिनासम्म निर्मला प्रकरणमा प्रहरीको भूमिकाबारे चर्को आलोचना भइरहँदा प्रहरी हेडक्वार्टरले औपचारिक रुपमा कुनै जानकारी दिन जरुरी ठानेन। हेडक्वार्टरले अनुसन्धानबारे औपचारिक रुपमा प्रष्ट नपार्दा हल्ला र ‘रे’ ले बजार लिइरह्यो।

सर्वसाधारण प्रहरीको आलोचना गर्दै थिए, आइजीले त्यसैमा हो मा हो मिलाउँदै आफ्नै सङ्गठनका व्यक्तिलाई 'धमिरा'सम्म भन्न भ्याए। पपुलिष्ट भाषणमा नै उनी रमाए।

प्रहरीले अनुसन्धानमा समातेको ट्र्याकमा होइन, भीडको पछाडि नै कुदाए आइजीले प्रहरी सङ्गठनलाई। भिडले जे-जे भन्दै गयो, त्यसैमा सही थाप्नुतर्फ लाग्यो प्रहरी नेतृत्व। दशैंपछि आइजीको सिफारिशमा गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटायो।

भिडले अहिले सोधिरहेको छ, गल्ती नगरेको भए किन हटायो? गल्ती गरेको हो भने किन थुनेन?

आइजी खनाल यो विषयमा पनि केही नबोली चुप छन्।

हालसम्म अपराध अनुसन्धानमा अब्बल ठहरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) संलग्न अनुसन्धानमा प्रश्न उठेको थिएन।तर, अपराध अनुसन्धानमा पोख्त नभएका नारायणसिंह खड्काको कमान्डमा रहँदा भएको घटनाले यो संगठनसमेत नराम्ररी विवादमा मुछियो।

प्रमाण नजुटाई अभियुक्त सार्वजनिक गर्न हतार

पहिलो दिनदेखि नै प्रहरी र पीडितबीच विश्वासको संकट सुरु भएको थियो। समय क्रममा पीडितमात्र होइन, स्थानीय बासिन्दाको समेत प्रहरीले विश्वास गुमाइसकेको थियो। गुमेको विश्वास आर्जन गर्नेतर्फ प्रहरीले पटक्कैा प्रयास गरेन।

यही पृष्ठभूमिमा भदौ ४ गते प्रहरीले दीलिपसिंह विष्टलाई घटना संलग्न अभियुक्त भन्दै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।


स्थिति त्यसपछि झन् बिग्रियो। 

एक त प्रहरीसँग विष्टलाई अभियुक्त भन्ने कुनै गतिलो प्रमाण नै थिएन। उसले दिएको भनिएको बयानले नै हत्यारा भन्ने निचोडमा प्रहरी पुगेको थियो। 

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरीले निर्मलाका बाबुलाई किटानी जाहेरी दिन दिएको दबाबले स्थिति अझ बिगार्ने काम भयो। निर्मला हत्या प्रकरणमा प्रहरीले एक जनालाई समातेको छ, सार्वजनिक गरेको छैन भन्ने खबर महेन्द्रनगर बजारभरि फैलिसकेको थियो। तर, को समातिएको हो भन्ने कसैलाई पत्तै थिएन। यतिसम्म कि निर्मलाका बुबालाई समेत कसको विरुद्ध जाहेरी दिन प्रहरीले लगाइरहेको छ भन्ने थाहा थिएन। प्रहरीले पनि जानकारी दिएको थिएन।

यसअघि शंकाको घेरामा परेका चक्र बडु जस्तै उनको पनि डिएनए परीक्षणका लागि पठाइएको हुन्छ्। तर, त्यसको रिपोर्ट नआउँदै प्रहरीले पत्रकार सम्मेलन गर्दै विष्टलाई सार्वजनिक गर्छ। प्रहरीको हतारो आफ्नै लागि खुट्टामा बन्चरो हानेजस्तै हुन पुग्यो।

केही सातापछि डिएनए रिपोर्ट आउँदा म्याच हुँदैन। यसपछि त झन् प्रहरी विवादमा पर्छ। 

डिएनए रिपोर्ट नआएसम्म चक्र बडुलाई जस्तै अभियुक्त भनी सार्वजनिक नगरेको भए उसै पनि विश्वास गुमाउँदै गएको प्रहरी अझ बढी आलोचना हुनबाट जोगिन्थ्यो, सायद।

तर, एउटा मानसिक सन्तुलन गुमेको व्यक्तिलाई नक्कली अपराधी बनाई प्रहरीले फँसाउन खोजेको भन्दै आन्दोलन चर्किएपछि एक जनाको ज्यानसमेत गयो, केही घाइते भए। कर्फ्यु लगाउनु पर्ने स्थिति बन्यो।

प्रोपोगान्डामा प्रहरी

पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी प्रहरीप्रति नै विश्वास गुम्दै गएको यो अवस्थालाई ‘लामो समयपछि सङ्गठनभित्र आएको ठूलो सङ्कट’ का रुपमा लिन्छन्। 

तर, यसलाई व्यवस्थापन गर्न भने प्रहरी चुकिरहेको छ।

बरु, प्रहरी आफू अनुसारको व्याख्या गर्दै कहिले घटनास्थलको फोटो, कहिले अभियुक्त दीलिपसिंह विष्टको भिडियो ‘लिक’ गरेर, कहिले मास डिएनए टेस्ट गर्दैछौं भन्दै 'प्रोपोगान्डा' मच्चाउन खोज्छ। तर, हरेक पटक उसको प्रोपोगान्डा उसैलाई ‘ब्याकफायर’ भएको छ।

हालैका दिनहरुमा निर्मला पन्तका पोस्टर च्यात्दै गरेको फोटो र भिडियोले पनि प्रहरीलाई अझ बदनाम गराइरहेको छ।

अहिले स्थिति यस्तो छ कि प्रहरीले साँच्चिकै अपराधी पत्ता लगाएर उभ्याउने हो भने पनि पत्याउने अवस्था छैन। विश्वासको संकटलाई निवारण नगरेसम्म  निर्मला प्रकरणले समाधान हैन समस्यामात्रै उब्जाउँछ। 

(निर्मला प्रकरण सुदूरपश्चिममा भएको एउटा अपराधको घटनामात्र अब रहेन। यो देशभर न्याय खोज्ने आन्दोलन पनि भएको छ। सरकार आफैले यो प्रकरणलाई अनावश्यक उत्तेजना र शंकाको घेरामा कसरी पुर्‍यायो? छानबिन र अनुसन्धानका लागि गठन गरिएको समितिका सदस्यको व्यवहार र प्रतिवेदनबाट किन उल्टै सरकार अप्ठेरोमा पर्‍यो? #WhoKilledNirmala को अर्को भागमा)
 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो



पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट (#WhoKilledNirmala शृङ्खला ८) को लागी ३ प्रतिक्रिया(हरु)

sam [ 2018-12-03 10:53:47 ]
Most detailed reports till now. Great details about crime scene location. Great work Umesh and Sabin Ji.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Narayan Manandhar [ 2018-12-03 09:03:25 ]
There is a concerted effort going on to deflect the issue. Here are some examples:
1. Banning on pron sites
2. Initiating debate on instituting death penalty
3. Self-defense training to girls
4. Forming layers and layers of investigating committees
5. Taking departmental actions against police personnel
6. PM admitting, "it may take ages to resolve the case"

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sujan [ 2018-12-02 21:54:40 ]
#WhoKilledNirmala निर्मला भनेर यत्रो भाग समचार लेखेर उमेश उमेश श्रेष्ठ र सविन ढकाल को निष्कर्ष "प्रहरी दक्ष नभएर यस्तो भद्रगोल भयो। प्रहरीले जानी जानी प्रमाण नष्ट गरेको होइन।"
के त्यसो भए घटनास्थलमा खटिने सबै प्रहरी अदक्ष? नेपाल प्रहरी प्रमुख पनि?
न्याय माग्ने जनता नै मुर्ख? प्रहरीलाई सहयोग गरेनन्?

# सबै मिडिया हरूले अति गर्‍यो भनेर दुई तिहाई सरकारले घटनाको Twist हुने गरी समचार बनाएर आउनु पर्‍यो भनेर ठूलो जिम्मेवारी दिएको जस्तो छ। Well done!

राज्यको संयन्त्र ले चाहने हो भने यस्तो तथ्य भएको घटनाको दोषि पत्ता लगाउन उमेश श्रेष्ठ र सविन ढकाल ले गरेको विश्लेषण जस्तो गाह्रो छैन।

# रोशनीको भनाई अनुसार "चना चटपटे खाएको २० रुपैयाँ र केही अम्बा पनि लिएर अन्दाजी सवा २ बजे निर्मला रोशनीको घरबाट निस्केको"
निर्मला त्यहाँबाट कता गइन्? कसैलाई थाहा छैन।
घर फर्किने बाटो अर्थात साइकल भेटिएको ठाउँ, यो बाटोमा मानिस हिँडिरहन्छन्। मानिस भन्दा बढी साइकल कुदिरहेका हुन्छन्। इलेक्ट्रोनिक टेम्पोहरु पनि कुदिरहेकै हुन्छन्।
निर्मला जुन बाटो गएको भए पनि बाटोमा पक्कै मान्छेहरु थिए। तर कसैले पनि उनलाई देखेको भनी अनुसन्धान गर्नेहरुलाई भन्न आएका छैनन्।

१. त्यो दिन बिहान देखी बेलुका सम्म हिड्ने सबैलाई शोधपुछ गर्न सकिन्छ। प्रविधिको युग छ। त्यो बेलामा कुन मोबाइल नम्बरहरु त्यो क्षेत्रमा थिए। त्यहाँ हजारौ लाखौ मान्छे आवात जावत गर्ने भए अलि गाह्रो हुन्थ्यो होला। सिमित मान्छेहरु आवत जावत हुने ठाउँमा सबैलाई खोजखाज गरेर भएर पनि शोधपुछ गर्न सकिन्छ।

२. पानी परेर साथीको घरमा ओत लाग्न गएको भए साईकल काठको पुलसम्म लगेर राम्रो सङ्ग पार्क गरेर राखेको हुन्थ्यो।

३. साईकल भेटिएको स्थान वरिपरी शंकास्पद व्यक्तिहरु हुन्थे। प्रहरीले अनुसन्धान गर्दा त्यस्ता व्यक्ति सजिलै पत्ता लाग्छ।

४. बम दिदी बहिनी निर्दोष छ भने उनिहरूको दुर्भाग्य, निर्मला रोशनीको घरमा गएको प्रमाण छ। त्यहाबाट निस्केको प्रमाण छैन। त्यहाँ बाट हिडे पछि बाहिर कसैले देखेको ठोस प्रमाण भए उनिहरुलाई अनुसन्धान को दायरामा राख्नु आवश्यक थिएन। केहि शंकास्पद अभिव्यक्ति र गतिविधी ले शंका गर्ने ठाउँ राख्यो। साथीको आमाले छोरी खोज्दै आउदा रुखो व्यावहार गरेकै कारण साथी हराएर, बलत्कार पछि हत्या भएको थाहा हुदा पनि साथी प्रति सहानुभूति नहुनु। पुलिस प्रशाशन को अनुसन्धान उत्कृष्ट छ भन्नु। उनिहरु निर्दोषलाई पुलिस प्रशासन ले पटक पटक शोधपुछ गर्दा त बिना कारण दुःख दिए भनेर पुलिस प्रशासन लाई पनि केहि भन्नु पर्ने हो। मात्र आन्दोलनकारी र साथीको आमाले झुटो आरोप लगाएको भन्छन्। अनुसन्धान अवधिमा अम्बाको रुख किन काट्नु? घरमा रङ्गरोगन किन गर्नु?

५. रातभरी पानी परेको थियो रे, तर किताब भिजेको थिएन रे। नक्कली मामा को सहमती पछि अन्तिम संस्कार गरियो रे। आमा बुवाको सहमती पछि अन्तिम संस्कार भएको हो? हुन त यस्ता कुराहरू मिडिया बाट नै आएका छन्। यि सबै हल्ला मात्र हुन् ? प्रहरीको यस्ता क्रियाकलाप ले प्रमाण नष्ट भएको छ कि छैन? प्रमाण नष्ट भयो भनेर जनतामा भ्रम मात्र फैलिएको हो त?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट