PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


'काम'विहीन कामेश्वर, भन्छन् 'फेरि स्ट्रगलको समयमा फर्केको छु'


रीना मोक्तान

'काम'विहीन कामेश्वर, भन्छन् 'फेरि स्ट्रगलको समयमा फर्केको छु'

एकदिन कलाकार कामेश्वर चौरासिया फेसबुक चलाउँदै थिए। अचानक एउटा फोन आयो।

कुरा सुरु हुन लागेसँगै फोन गर्ने व्यक्तिले फिल्म बनाउन लागेको सुनाए। कामेश्वर दङ्ग पर्नुअघि नै उनले भने- ‘सानो गेस्ट रोल गर्दिन पर्‍यो।’

त्यसपछि कामेश्वरलाई रिस उठ्यो। उनले जवाफ दिए -'मैले गेस्ट रोल गर्ने बेला आइसक्यो? योभन्दा बढी सोच्न सक्नु भएन?'

फोन काटियो।

शान्त हुन पुन: फेसबुक फिडमा घोरिन थाले। ५ महिनायता फेसबुकमा निकै सक्रिय छन् उनी। एकदिनमै ५० जनासम्मको फ्रेन्ड रिक्वेस्ट आउँछ। उनलाई लाग्छ- मलाई पनि धेरैले चिन्दा रहेछन्।

हरेकपटक नोटिफिकेसन आइकनमा रातो बत्ती बल्दा उनी दङ्ग पर्दै खोल्छन्। उनलाई फेसबुकको लत लागेको छ।

सामाजिक सञ्जालमा निष्क्रिय उनी फिल्मको अफर आउन छाडेसँगै निकै सक्रिय भएका हुन्। सुटिङ, डबिङ र प्रचार-प्रसारमा व्यस्त हुँदा उनलाई लाग्थ्यो- यो सब समयको नाश हो।

९ महिना भयो उनले नयाँ फिल्ममा काम नगरेको। उनी अभिनीत फिल्म ‘गरुड पुराण’ मात्र प्रदर्शनमा आउन बाँकी छ। 'छक्का पञ्जा' लगायत अन्य फिल्मबाट गेस्ट रोलको भूमिकामा अफर आयो। उनले कति नकारे कति पारिश्रमिक नमिलेर गरेनन्।

'मलाई किन अफर आएन भनेर ज्योतिषलाई हात देखाउने बारे सोचिरहेको छु' उनले ठट्यौली शैलीमा भने। उनको आँखामा काम नपाउनुको पीर प्रस्ट झल्कन्छ।

न त केमियो रोल गर्ने पक्षमा छन् न त काम नभई स्क्रिप्ट पढ्दै छु भन्ने कलाकारको पङ्तिमा पर्छन् उनी। भन्छन्, ’किन कुनै डिरेक्टरले कल गर्दैनन् भन्ने सोच्छु। फेरि कसैले त मेरो रोलको लागि पनि काम गरिरहेको होला भनेर आफैंलाई ढाडस दिन्छु।‘

एकसमय उनी लगातार फिल्महरूमा देखिए। त्यो समय आफूलाई फिल्म सिक्ने मौका बनेको बताउँछन्। विडम्बना सिक्दासिक्दै काम नै पाउन छाडे। त्यसैले सामाजिक सञ्जालमा वा आफ्नै पुरानो फिल्महरू हेरेर समय बिताउन थालेका छन्।

‘आफ्नै कामसँग चित्त बुझ्दैन। धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने लाग्छ। मेरो काम मै खोट भएर पो हो कि यत्रो फिल्म बनिराख्दा आफू कामविहीन हुनुपरेको’, उनी अनुमान गर्छन्।

उनी अभिनीत फिल्म ‘स्पोन्सर’ रिलिजको समय पर्खिरहेका छन्। तर त्यसमा आफ्नो काम चित्त बुझेको उनको दाबी छ। भन्छन्,’फिल्मको काम नै कता पुग्यो थाहा छैन। रिलिज पत्ता लाग्नु त परको कुरा।‘

मिडियासँग हत्तपत्त नखुल्ने उनलाई अब भने बोल्नुपर्ने बेला भएजस्तो लाग्छ। ‘अब म बोल्छु। म जस्तो अभिनय गर्छु त्यो सबैले गर्न सक्छ होला। तर अहिलेसम्म मैले गर्न नपाएको काम अरूले गर्न सक्छ भनेर कसले भन्न सक्छ?’, आक्रोशित देखिएका उनी भन्छन्, 'यो पीडा हो। भडास हो।'

एकपटक उनलाई ठूलो भनिने ब्यानरबाट फोन आयो। पहिलो कलमै तुरुन्तै छायाङ्कन स्थलमा बोलाए। प्लेनको टिकट काटिदिने शर्तसहित।

चौरसियाले भूमिकाबारे बुझे र पारिश्रमिकको कुरा राखे। भने, 'मेरो डिमाण्ड यति छ भन्नासाथ कुरा बिग्रियो। २ लाखसम्म पनि दिँदैनन्। सोलो हिटको प्रश्न उठाउँछन्। लाजै मर्दो।‘

उनी कलाकारको पारिश्रमिकलाई सामूहिक समस्याको रूपमा व्याख्या गर्छन्।

केही महिनाअघि बाटोमा एकजनाले उनलाई निरन्तर फलो गरे। केहीबेरमा उनको सामु आएर सोधेछन्, 'तपाईँ कामेश्वर चौरसिया हो?

 ‘हो’। उनको जवाफसँगै कुराकानी लम्बियो।

चौरासियाको अभिनयको प्रशंसक बताउने उनले केही बेरमा मनको कुरा खोले 'तपाईँ यसरी बस्नुहुन्छ? मैले त कार होला। त्यसैमा हिँड्नु होला। कसैले नदेखोस् भनेर हिँड्नु होला भन्ने सोचेको थिएँ।‘

कामेश्वर सुनाउँछन्,’म यस्तै छु। सरल जीवन बाँच्छु तर उहाँको कुराले दर्शकले कलाकारलाई हेर्ने दृष्टिकोण प्रष्ट्याउँछ नि। तर इन्डस्ट्रीले सोच्दिँदैन।‘

उनले पारिश्रमिकले कलाकार बचाई राख्ने तर्क अघि सारे। तर सम्झौता गर्दा पुरै रकमसमेत नदिने उनको अनुभव छ। व्यक्तिगत रूपमा त कति फिल्मको पूरा पैसा समेत पाएका छैनन्। ‘बुझेर दिँदैनन्। मागी राख्न पनि लाज।’

उनी अभिनीत पछिल्लो फिल्म 'अमेरिका बोइज' हो। फिल्ममा 'तन्नु खान'को रुपमा देखिएका उनले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुले। तर फिल्म चलेन। त्यसपछि अरु काम पनि हातमा लाग्यो शून्य। केही समयअघिसम्म प्रोडक्सन म्यानेजरमार्फत अतिथि भूमिका आउँथ्यो। स्वतन्त्र रूपमा एक्लै काम गरे गेस्ट आर्टिस्टमात्र नरहने होडले उनलाई झन् एक्लो बनाइदियो। ती म्यानेजरले पनि फोन गर्न छाडे।

'म फेरि स्ट्रगलको समयमा फर्केको छु। सुरुवाती दिनमा फिल्मको लागि भौँतारिएँ। अडिसन दिन जान्थेँ। फरक यत्ति हो अहिले गइँदैन। 'टू मच पेनफूल', बोल्दा उनको आँखा रसायो। आँसु थाम्दै भने 'तपाईँ सोच्न सक्नुहुन्न कसरी मैले यो ९ महिना बिताएँ। किताब पढेर वाक्क लागिसक्यो। फोनमा कुरा गरेर वाक्क लागिसक्यो। सबैबाट वाक्क भएर फेसबुक चलाइरहेको छु। यसमा पनि वाक्क भइसकेँ। समय यसरी नै कट्दैछ।'

समय काट्नभन्दा पनि दैनिकी चलाउन गाह्रो भएको हो। पुन: पहिलेजस्तै भोकै बसेर अभिनयको भोक मेटाउन लागि पर्ने अवस्था आएको सुनाउँछन्। त्यसैले अब अरु केही कामको खोजीमा छन् उनी। ‘यस्तो दिन आउँछ भन्ने सोचेको थिइनँ। जिरोबाट गर्न अरु काम पनि सजिलो नहोला तर के गर्नु उपाय छैन।‘

बाल्यकालदेखि अभिनयमा रुचि राख्ने उनी वीरगन्जमा हुँदा साथीहरूले भनेजस्तै बनिदिन्थे। गाउँमा रामलीला हुँदा राम बन्थे। कहिले सीता पनि। जुन काममा परिवारले साथ दिँदैनथे।

तर अभिनय नै गर्ने अठोट लिएर सन् २००८ मा काठमाडौँ आए। थिएटरबारे थाहा पाए। गुरुकुलमा वर्कशप गरे र मञ्चमा अभिनय थाले। उनलाई फिल्मको अफर आउन उस्तो धेरै समय लागेन। भन्छन् ‘थिएटरले मलाई बाटो देखाइदियो र सन्तुष्ट हुन सिकायो।’

रेशम फिलिलीको 'हरिया', अमेरिका बोइजको 'तन्नु खान', छड्केको 'जोगी' पात्रलाई दर्शकले रुचाएका थिए। उनले यसअघि 'राज्जा रानी', 'लुट', 'तान्डव','लालपूर्जा', 'कान्छी', 'पलाँस', 'उमा', 'फाटेको जुत्ता', 'कृ'मा अभिनय गरिसकेका छन्।



'काम'विहीन कामेश्वर, भन्छन् 'फेरि स्ट्रगलको समयमा फर्केको छु' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट