PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मन्त्री रवीन्द्र अधिकारीलाई सांसद रिजालको प्रश्न : भ्रष्टाचारमा तपाईँ तानिने कि नतानिने?



बीपी साह

मन्त्री रवीन्द्र अधिकारीलाई सांसद रिजालको प्रश्न : भ्रष्टाचारमा तपाईँ तानिने कि नतानिने?

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमका लागि 'स्ट्राटेजिक पार्टनर' खोज्ने तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्री अधिकारीले एनएसीको सेयर बढाउनुपर्ने पनि बताए। 

आज सिंहदरबारमा सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा छलफल हुँदा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन्।

मन्त्री अधिकारीले भने, 'स्ट्रटेजिक पार्टनर खोज्दैछौं। डिडिए तयार पार्न निर्देशन दिएका छौं। साझेदार खोज्ने कि पार्टनर खोज्ने अथवा सेयरको कित्तामात्र बेच्ने, यस विषयमा छलफल अगाडि बढाइएको छ।'

उनले नाम मात्रको पार्टनर होइन लगानीकर्ता समेत खोजिरहेको बताए। 

तर, मन्त्रीको उक्त प्रस्तावको सांसदहरुले विरोध गरेका छन्। 

सत्तारुढ दलकै सांसद विरोध खतिवडाले भने, 'यसअघि एनएसीले खाँचो टार्न पैसा मागेको बुझेका थियौ। तर, अहिले त सेयर वृद्धि गर्न मागिएको देखियो। यस विषयमा मन्त्रालय स्पष्ट हुनुपर्छ।'

सांसद हृदयस त्रिपाठीले प्रश्न गरे, 'सेयर किन थप्ने यसमा अरुको पनि सेयर छ र?' त्रिपाठीले सेयर बढाउन खोजिँदै छ भने मन्त्रालयलाई फसाउने खेल हुन सक्ने आशंका व्यक्त गरे।

सांसद तेजुलाल चौधरीले स्ट्रटेजिक पार्टनर अहिले नै खोज्नुपर्ने कारण माग्दै भने, 'वाइड बडी जहाज किन्दा भ्रष्टाचार भएको छ। पहिले भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ।'

वाइडबडी जहाज खरिद प्रकरणमा मन्त्रालयले निगमकै कर्मचारीहरुलाई छानबिनको जिम्मेवारी दिएको भन्दै विरोध भएको छ।

सांसद प्रेम आलेले भने, 'जो विवादमा छ उसैलाई छानबिन गर्न दिनु उपयुक्त भएन। जनताहरुले आफूहरुसँग जनताले भ्रष्टाचारीलाई कहिले कारबाही गर्ने भनेर प्रश्न गरिरहेकोले सांसदको लोगो समेत खोलेर आएको छु।'

कांग्रेस सांसद मीनेन्द्र रिजालले वाइड बडी प्रकरणमा भ्रष्टाचार भएको स्पष्ट देखिएको आरोप लगाउँदै मन्त्री अधिकारीलाई प्रश्न गरे, 'भ्रष्टाचारमा तपाईँ तानिने कि नतानिने?'

अधिकांश सांसदहरुले वाइड बडी खरिद प्रकरणमा महालेखा परीक्षकले देखाएको वेरुजु मन्त्रालय गम्भीर नभएको उल्लेख गर्दै यस प्रकरणमा मन्त्रालय र निगमको मिलेमतो देखिएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell