दिउँसोको १/२ बजेको समयमा बाटोमा कोही नहिँड्ने बेला मौका पारेर केटीहरुलाई 'आऊ आऊ…' भनेर बोलाउँथे। उसको शरीरको तल्लो भागमा लुगा नै हुन्थेन।
निर्मलाको शव भेटिएको दिन स्थानीय पत्रकार पुष्कर भट्टले खिचेको दृश्यका आधारमा साउन ११ गते प्रसारण भएको माउन्टेन टेलिभिजनको 'मिसन न्युज' कार्यक्रम यही प्रकरणमा केन्द्रित थियो।
काठमाडौँका एक अनुसन्धानकर्मीले पनि त्यो कार्यक्रम हेरेका थिए। ३० मिनेटको त्यो कार्यक्रममा एक स्थानीय युवतीको ३० सेकेन्डको 'बाइट'ले एउटा 'क्लु' दियो। (माथिको भिडियोमा ३० सेकेन्डमध्ये १७ सेकेन्डको बाइट हेर्न सक्नुहुन्छ)। उनले त्यो जानकारी महेन्द्रनगर फिल्डमा खटिएकाहरुलाई दिए।
'कुहिरोको काग' को अवस्थामा रहेको प्रहरीलाई यो 'क्लु' महत्त्वपूर्ण थियो। किनभने पोस्टमार्टम रिपोर्ट र अन्य परिस्थितिका आधारमा निर्मलाको हत्या दिउँसो २ बजेदेखि ४ बजेको बीचमा हुनुपर्ने निचोड प्रहरीले निकालेको थियो।
बम दिदीबहिनीको घरबाट निस्केर निर्मलाको घरतिर जाने क्रममा करिब ४ सय मिटरको दुरी पार गरेपछि वरपर कतै घर नभएको एउटा सुनसान ठाउँ आइपुग्छ। बाटोको बायाँतिर रुख र झाडी छन् भने दायाँतिर खुला खेत। करिब २ सय ४० मिटर ठाउँ यस्तै छ।
पहेँलो लगाइएको स्थानमा बस्थे शंकास्पदहरु। गुगल म्याप
निर्मलाको साइकल भेटिएको स्थान यतै हो। साइकल भेटिएको ठाउँबाट शव भेटिएको स्थान करिब १ सय ५० मिटरको दुरीमा पर्छ। महेन्द्रनगर बजार जाने मुख्य बाटो नै भए पनि अन्य ठाउँभन्दा यो क्षेत्र अलि सुनसान नै हुन्छ।
युवतीले टेलिभिजनमा भनेको समय पनि बम दिदीबहिनीको घरबाट निर्मला निस्किएको भनिएको समयसँग मिल्छ। शव भेटिएको ठाउँ पनि नजिकै। कतै यही ठाउँमा केटीहरुलाई गुप्ताङ देखाएर 'आऊ आऊ…' भन्ने केटाले त बलात्कार गरेका हैनन्? यही शंकामा प्रहरीले अनुसन्धान सुरु गर्ने निधो गर्छ।
तर, को हुन् त ती युवती जसले त्यो ठाउँमा यस्तो हुने गरेको बताइन्?
टेलिभिजनमा उनको नाम देखाइएको हुँदैन, नेमप्लेटमा 'स्थानीय, कञ्चनपुर' मात्र लेखिएको हुन्छ।
सुरुमा त प्रहरीलाई ती युवती फेला पार्नै मुश्किल पर्यो। टेलिभिजनले भोलिपल्ट साउन १२ गते आफ्नो युट्युब च्यानलमा यो भिडियो अपलोड गर्यो।
त्यही अपलोड भएको भिडियोबाट स्क्रिनसट प्रिन्ट गर्दै प्रहरीले 'यो केटी चिनेको हो?' भन्दै सोध्दै हिँड्छ।
अन्ततः युवतीको पहिचान हुन्छ - बबिता चन्द।
'हामी यो बाटो सधैँ हिँड्थ्यौँ। यो बाटो हिँड्दा डर हुन्थ्यो,' बबिताले प्रहरीलाई भनिन्, 'तीन चार पटक म आफै परेकी छु। हामीलाई … देखाउँथे। आऊ आऊ भन्थे। समाउन खोज्थे।'
यसपछि, गुप्ताङ्ग देखाएर केटी जिस्काउनेले नै निर्मलाको बलात्कार र हत्या गरेको हुनसक्ने शंका प्रहरीमा पर्नु स्वभाविक थियो। अनुसन्धानमा चक्कर काटिरहेको प्रहरीका लागि एउटा अर्को क्लु भेटिएको थियो।
'त्यस्तो मान्छे चिन्नुहुन्छ त? अनुहार कस्तो थियो?'
'अहँ, कहाँ चिन्नु। हाम्रो त सातोपुत्लो उड्थ्यो। हामी त मुखै हेर्न सक्दैन थियौँ। डराएर छिटोछिटो भागिहाल्थ्यौँ।'
अनुसन्धानकर्मी फेरि हैरान।
बबिताबाट पाएका दुई वटा जानकारी भने अगाडिको अनुसन्धानका लागि काम लाग्ने थिए।
१. त्यो मान्छेले एक्लै केटी हुँदामात्र त्यसरी खोलेर देखाइदिन्थ्यो
२. दुई जना केटी भए वा केटाहरु भए पनि त्यस्तो हर्कत गर्दैन थियो।
अर्को, उनले मात्र हैन अरु धेरै केटीहरुले पनि त्यस्तो भोगेका थिए।
'मैलेमात्र हैन, अरुहरुले पनि भोगेका छन् सर यस्तो। गएर सोध्नुस् न।'
को होला त यस्तो व्यवहार भएको मान्छे? अब खोजी सुरु हुन्छ।
साउन १८ गते एक रिटायर्ड हवल्दार प्रहरीको पासोमा पर्छ। स्थानीय मानिसको जानकारीका आधारमा उसले पनि एक्लै केटी मानिस हिँडेको देखेमा पाइन्ट खोलेर देखाउने गरेको खुल्छ।
तर, प्रहरीलाई निश्कर्षमा पुग्न गाह्रो हुँदैन। रिटायर्ड हवल्दार मोबाइल बोक्थे। निर्मलाको हत्या भएको मानिएको समयमा उनको मोबाइलको लोकेसन हेर्दा उनी अन्यत्रै ठाउँमा देखिए। अन्य व्यक्तिले पनि उनी त्यस दिन मोबाइल लोकेसन देखिएको ठाउँमै भएको जानकारी दिएपछि प्रहरीबाट उनी उम्कन सफल भए।
अरू को होला त?
केही समयमा अर्को पुरुषको पहिचान हुन्छ। घटनास्थल नजिकैको सालघारी बस्थे उनी। उनको बानी पनि एक्लै दुक्लै महिला देख्यो कि पाइन्ट खोलेर देखाइहाल्ने रहेछ।
प्रहरीले नियन्त्रणमा लिएर लामो केरकार गरेपछि उसले देखाउने गरेको स्वीकार्छ, 'एक्लै बाटोमा हिँडिरहेकी केटी देखेँ भने पाइन्ट खोलेर देखाइदिन्थेँ। तुरी देखेर लोभिएर आउँछन् कि भनेर हो।'
तर, कसैको बलात्कार र हत्या गरेको भने उनले स्वीकारेनन्। बरु आफू घटना भएको समय महेन्द्रनगरमा नरहेको दावी गरे। के उनी साँच्चै महेन्द्रनगरमा नै थिएनन् त?
ती हवल्दारको बारेमा जसरी सहजै पत्ता लगाउन सक्यो, प्रहरीलाई यसमा भने सजिलो भएन। किनभने जो समातिएका थिए उनले मोबाइल बोक्दैन थिए। निर्मला हराएको दिन उनी कहाँ गएका थिए भन्न मुस्किल पर्छ।
स्थानीयबासीको विश्वास सुरुदेखि नै गुमाइसकेको प्रहरीलाई उनीहरुबाट जानकारी पाउन पनि गाह्रो भइरहेको थियो। प्रहरीले धेरै उपायबाट अनुसन्धान गर्यो। अन्ततः उनी पनि घटना भएको दिन महेन्द्रनगरमा नै नभएको खुल्छ। उनी त आफ्नो पुरानो घर दार्चुला पुगेका रहेछन्। प्रहरीले त्यता बुझ्दा उनी दार्चुला नै गएको पुष्टि भएपछि ती व्यक्ति पनि उम्किन्छन्।
कारागार स्रोतबाट एउटा तथ्य खुल्छ, ४१ वर्षीय दीलीपसिंह विष्टले पनि एक्लै र एकान्तमा केटी देख्यो भने यस्तै गर्थे। (प्रहरीले अभियुक्त बनाएर प्रस्तुत गरेको र डिएनए नमिलेको विष्टको प्रकरणबारे छुट्टै भागमा उल्लेख गर्नेछौं)
सुनसान ठाउँमा बसेर केटीहरुलाई पाइन्ट खोलेर देखाइदिने मानिस को-को थिए? कतै उनीहरुमध्ये कसैले निर्मलाको हत्या गरेको त होइन? यो पहेलीले अझै पार पाइसकेको छैन। प्रहरीले यसबारे अझै खोज्दैछ।
अनुसन्धानका लागि काठमाडौँबाट एसपी दुर्गा सिंहको नेतृत्वमा गएको टोलीले पनि अहिले यस्तैखाले मानिसको खोजी गरिरहेको छ। केही साता अगाडिमात्र टोलीले थप एक जना त्यस्तै मानिसलाई पनि नियन्त्रणमा लिएको थियो। तर, डिएनए नमिलेपछि निर्मलाको छिमेकी गाउँका उनी पनि उम्किए।
सुदूर पश्चिमको समाज त्यति धेरै खुला छैन। यस्ता घटना धेरैजसो 'गुपचुप'मै सुल्टिन्छन्। निर्मलाको प्रकरण फैलिएर अहिलेको जस्तो रुप नलिएको भए बाटोमा हिँड्ने युवती देख्नसाथ यौनको उद्देश्यले बोलाउने वा तर्साउने र गाँजा खान बस्ने भन्ने घटना पनि सायदै सार्वजनिक हुने थियो। यो घटनामा अनुसन्धान गरिरहँदा प्रहरीले चाल पायो – यो सुनसान ठाउँको नामाकरण नै अपराधसँग जोडिने गरी भइसकेको रहेछ।
निर्मलाको साइकल भेटिएको ठाउँमा युवा जम्मा भएर लागू औषध प्रयोग गर्ने भएकाले यस चोकको नामै ‘दुर्व्यसनी’ चोक राखिएको रहेछ। यस्ता दुर्व्यसनीहरुले यो चोकलाई भने 'डेटिङ स्पट' भन्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा स्थानीयबासीले पनि हामीलाई त्यो ठाउँमा गाँजा खाने मानिसहरु हुने गरेको बताएका थिए। जिल्ला प्रहरी प्रमुख एसपी कुबेरबहादुर कठायत भन्छन्, 'केही महिलाले शङ्कास्पद व्यक्तिहरू बस्ने गरेको बताएकाले हामीले अनुसन्धान गरिरहेका छौँ।'
स्थानीयको जानकारी अनुसार अहिले प्रहरीले त्यस स्थानमा देखिँदै आएका शङ्कास्पद व्यक्तिहरूको स्केचसमेत तयार पारेको छ। अहिले चार जनाको स्केच तयार पारेर खोजी भइरहेको छ।
सँगै प्रहरीले यही बाटो वारपार गरिरहने र बारम्बार देखिने शंकास्पद केही मानिसको डिएनए परीक्षणसमेत गराउने तयारी गरेको छ। १० देखि १५ जनासम्मको डिएनए परीक्षण गर्ने तयारी प्रहरीको छ। यसअघि पनि डिएनए परीक्षणबाट प्रहरीले ठोस उपलब्धि हात पार्न भने सकेको छैन। त्यसैले शंका र उपशंकाको जालोमा अटेका यी सबैको डिएनए परीक्षणले कस्तो परिणाम दिन्छ अथवा स्केच जारी गरिएका व्यक्ति समातिएपछि घटनाले कुन मोड लिन्छ यकिन गर्न प्रहरी पनि सक्दैन।
महेन्द्र बमको सहयोगमा
(बम दिदी बहिनीको घर अगाडिको अम्बाको रुख र उनीहरुको घरको कोठामा लगाइएको भनिएको रङसित निर्मला प्रकरणको के कनेक्सन छ? पहिलोपोस्टको #WhoKilledNirmala को भोलिको शृङ्खलामा)
#WhoKilledNirmala शृङ्खला
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथाशृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्यो अनुसन्धानको घेरामा
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन
शृङ्खला १० :निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।'