PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


मध्यरातमा काठमाडौँमा सर्पाहुति, भेटिएन सर्प, थकू जुजुले दिए माछा, फट्याङ्ग्राको आहुति : यस्तो छ कथा


सहयोग रञ्जित

मध्यरातमा काठमाडौँमा सर्पाहुति, भेटिएन सर्प, थकू जुजुले दिए माछा, फट्याङ्ग्राको आहुति : यस्तो छ कथा

काठमाडौं: बालाचतुर्दशीको अवसरमा बिहानै पशुपतिमा सतविज छर्न मानिसहरु भेला हुँदै गर्दा शोभा भगवती मन्दिर वारी रहेको लुं:ति अजिमा (इन्द्रायणी) मन्दिरमा छुट्टै चहलपहल थियो। सर्पको आहुति दिएको हेर्न करिब २०० मानिसहरु मध्यरातमा लुं:ति अजिमामा जम्मा भए।

 

भुस्या र मादलको तालमा केही युवाहरुले मन्दिर परिक्रमा गरेपछि त्यहाँ उपस्थित मानिसको संख्या बढ्दै थियो। सबैको एउटा इच्छा थियो, सर्पाहुति हेर्ने अर्थात होममा जिउँदो सर्पको आहुति।

 

बालबालिकदेखि वृद्धवृद्धासम्म सर्पाहुति हेर्न आएकाथिए। बुधवार राति  ११ बजे मन्दिर परिसरमा बली दिइएको राँगाको टाउकोलार्इ बोकेर ल्याइयो। भूकम्पले क्षतिग्रस्त लुं:ति अजिमा मन्दिरको अगाडी रहेको होम गर्ने स्थानमा यज्ञका लागि आवश्यक सामाग्रीहरु मिलाउने काम भयो। ३३ वटा माटोको भाडोमा जौ, तिल, दाल, भट्मास, अमला, उखु, चामल लगायतका सामाग्री राखियो।

 

होम गर्ने काम भने थकु जुजुको हुन्छ। थकू जुजुलार्इ मल्ल राजाको वंशजका रुपमा लिइन्छ। थकू जुजुलार्इ कुर्दै गर्दा मान्छेहरुबीच यो संस्कार प्रति मानिसहरुको लगाव घट्दै गएको विषयमा छलफल हुँदै थियो।

 

'पहिला क्षेत्रपाटी, ढल्को, शोभाभगवती, सोह्रखुटे लगायतका स्थानबाट मानिसहरु होम हेर्न आउँथे। मन्दिरमा बस्ने ठाउँ हुन्थेन। तर अहिले हेर्न आउनेको संख्या घट्दैछ' स्थानीयहरु एक आपसमा कुरा गर्दै थिए।

 

करिब १२ बजे त्यौडबाट थकू जुजु मन्दिर परिसरमा पुगे। उनले लुं:ति अजिमा मन्दिर अघि गणेश, अशोक सुन्दरीको चित्र बनाइएको माटोको तीन भाडो राखे र पूजा सुरु गरे। त्यसपछि केही समय मन्दिर भित्र गोप्य पुजा गरियो।

 


यो होममा सर्पसहित एक जोर माछा, एक जोर फट्याङग्रा, एक जोर परेवालार्इ जिउँदै होममा आहुति दिइन्छ। यसका साथै राँगाको टाउकोलार्इ पनि होममा आहुति दिइन्छ। आहुतिका लागि ती जीवहरुलार्इ बाहिरबाट ल्याउन पाइदैन। मन्दिर आसपासबाट त्यही रात खोजेर ल्याउनुपर्छ।

 

थकु जुजु कहाँबाट आएका मानिसहरु ती जीवहरुको खोजीमा लाग्दा मानिसहरु भने मन्दिरसँगै रहेको खोलामा पानी कम हुँदै गएको र फोहोर भएकाले सर्प नपाइएला कि भन्ने चिन्तामा थिए।

 

मन्दिरबाट थकू जुजु निस्केर होम गर्ने स्थानमा पुग्छन्। स्वंयमसेवकहरु सँगै राखिएको काठलार्इ यज्ञ गर्ने स्थानमा राख्न थाल्छन्। लगत्तै थकू जुजुले माटोका भाडामा राखिएको जौ, तिल लगायतका सामाग्रीहरु एकएक गर्दै होममा राख्दै जान्छन्। चारै दिशामा रहेका मानिसहरुबीच भने ठेलमठेल हुँदै थियो। सबैको गुनासो 'अगाडि उभेका मान्छेले गर्दा मैले फोटो लिन सकिनँ।'

'हना लुं: तिया, जय इन्द्रायणी' भन्दै थकू जुजुले होम गर्दै गर्दा स्थानीय युवा भने इन्द्रायणी माताको गीत गाउँदै थिए। सबै सामाग्रीहरु यज्ञमा राखेपछि थकू जुजुले एक विशेष माटोको भाडो मगाए। त्यसमा आहुति दिने जीवहरु रहेका थिए। थकू जुजुले एउटा जिउँदो माछा र फट्याङग्रालार्इ आकाशमा फाले भने अर्को माछा र फट्याङग्रा लार्इ यज्ञमा आहुति दिए। मानिसहरु सर्पको आहुतिका लागि व्यग्र प्रतिक्षामा थिए।  तर यस पटक सर्प र परेवाको आहुति दिइएन। त्यहाँ रहेका मानिसको चिन्ता यथार्थमा परिणत भयो। थकू जुजुले राँगाको टाउको आगोमा फाले र सर्पको आहुति बिनै यसपटक सर्पाहुति सकेको घोषणा गरे।

 

यो पर्वको मुख्य विशेषता भनेकै जिउँदो सर्पलार्इ होममा आहुति दिइनु हो। तर सर्पको आहुति नै नदिइ होम सकाइएको प्रति मानिसहरु असन्तुष्ट देखिए। थकु जुजु समूहका एक सदस्यले भने ,' यसपाली सर्प पाइएन, त्यसैले सर्प बिना नै सर्पाहुति गरियो। यस्तो पहिला पनि भएकै हो। कुनै नौलो होइन।'

यद्यपी सर्पाहुति हेर्न आएकाहरु भने यस्तै रहे यो संस्कृति होम गर्नेमा मात्रै सीमित रहने तर्क गर्दै थिए।

 

सर्पाहुतिबारे डकुमेन्ट्री बनाउने भन्दै बेलायतबाट आएका डेभिड पल विल्सनले भने,' म यहाँ अनयुजअल स्याक्रिफइज (अजीवको बली) हेर्न आएको थिएँ। तर सर्प बिना त्यो पुरा भएन। अर्को वर्ष फेरि आउनेछु।'

 

होम गर्नु एक दिन अघि भने इन्द्रायणी मन्दिरसँग सम्बन्धित गुठीबाट मन्दिरमा राँगा, बोका, अन्डाको बली चढाइएको थियो। आज लुं: ति अजिमालार्इ खटमा राखेर माथिल्लो नगरमा परिक्रमा गराइन्छ। अब योमरी पुन्हीमा फेरि इन्द्रायणीसँगै रहेको नित्यनाथकहाँ बली चढाइन्छ। त्यो समय भने तल्लो टोलमा अजिमाका खटहरु घुमाइन्छ।

 

द्य पालाका नाय् (देवताको पालो बस्ने प्रमुख) गणेशमान पूजारीले भने 'नेवारभित्र रहेका विभिन्न जातको यस पर्वमा सहभागिता हुन्छ। तर सर्प नपाउँदा जात्राको अस्तित्व संकटमा पर्ने डर छ।'

आहुति पछाडिको कथा

पौराणिक कथनअनुसार स्वर्गका राजा इन्द्रले आफू बाहिर जाँदा आफ्ना ५ वर्षीय भाइलार्इ सिंहासन सुम्पेर जाने निर्णय गर्छन। तर इन्द्रकी श्रीमती इन्द्रायणीले भने भाइलार्इ राजगद्दीमा राख्ने निर्णयको विरोध गर्छिन्। इन्द्रायणीले देवरलार्इ दुख दिन थाल्छिन्।

 

त्यो देखेर महादेव र पार्वतीकी छोरी अशोका सुन्दरीले भने इन्द्रका भाइसँग विवाह गर्ने निर्णय गर्छिन्। तर ऊ सानो भएकाले महादेव र पार्वतीले छोरीको कुरा स्वीकार गर्दैनन्। छोरीले इन्द्रका भाइलार्इ ठूलो बनाएर भएपनि विवाह गर्ने हठ लिएपछि अन्तत महादेव र पार्वतीले उनीहरुबीच विवाह गराउन बाध्य हुन्छन्।

 

इन्द्रका भाइलार्इ धेरै दुख दिएको भन्दै महादेवले इन्द्रायणीलार्इ सजायस्वरुप पृथ्वी लोकमा पठाउँछन्। इन्द्रायणीलार्इ पृथ्वीमा गरीब परिवारमा पठाइन्छ। उनका धेरै बच्चाहरु हुन्छन्।

इन्द्रायणीका सात दिदी बहिनी हुन्छन्। इन्द्रायणी गरिब भएको हुनाले दिदीहरुले उनलार्इ हेप्न थाल्छन्। एक दिन पशुपतिमा रहेकी आफ्नी दिदी बसलादेवी कहाँ भोजमा जाँदा भोज सकिसकेको हुन्छ।

 

बाँकी दिदी बहिनीलार्इ भान्छामा सम्मानका साथ भोज खुवाइए पनि इन्द्रायणीलार्इ भने घरको तल्लो भागमा बसाइन्छ। उनी आफ्ना सन्तानसहित भोकै घर फर्किन बाध्य हुन्छिन्। बाटोमा इन्द्रायणीका छोराछोरीले भोक लाग्यो भनेर दुख दिन्छन्।

 

पशुपतिबाट फसीकेब(हाल रञ्जना मल रहेको स्थान)मा आए पछि इन्द्रायणीले फर्सी देख्छिन्। बच्चाहरुलार्इ त्यही फर्सी खुवाउनु पर्‍यो भनेर लिएर जान्छिन्। थँहिति पुग्दा बच्चाहरुले फेरि भोक लाग्यो भन्दै दुख दिन्छन्। त्यो कुरा त्यहाँ रहेका एक मानन्धरले थाहा पाउँछन्। सबै कुरा बुझेपछि त्यो मानन्धरले इन्द्रायणीले ल्याएको फर्सी र आफूसँग रहेको खाना पकाएर खुवाउँछन्।

 

इन्द्रायणी त्यसपछि आफ्नो घर तिर लाग्छिन्। बच्चाहरुलार्इ खुवाउन हुन्छ भन्दै बाटोमा भेटिएको सर्प, परेवा, फट्याङग्रा, माछा र फालिरहेको राँगाको टाउकोसमेत घरमा लग्छिन्। त्यसैले पञ्च बलीका रुपमा ती जीवहरुको आहुति दिने गरिएको अम्बिका नेपालीले बताइन्।

 

तर थाकेका ती इन्द्रायणी र बच्चाहरु सबै निदाउँछन्। भोलिपल्ट ती सबै सामानहरु सुनमा परिणत हुन्छ। यस्तै मानन्धरको घरमा खाएर बचेको खाने कुरा पनि सुनमा परिणत हुन्छ। मानन्धरले भने त्यो सुन ल्याएर इन्द्रायणीलार्इ दिन्छन्।

 

गरिब इन्द्रायणी एकाएक धनी हुन्छिन्। अर्को वर्ष उनी आफ्ना छोराछोरीसहित राम्रा लुगा र गहना फेरी दिदी कहाँ जान्छिन्। उनलार्इ देखेर सबै जना अच्चमित हुन्छन्। सबैले इन्द्रायणीको मान गर्छन्। घरमा माथि आएर भोज खान भन्छन्। तर उनले घर तल बसेर नै भोज खाने भन्छिन्। दिदी बहिनीहरुले भोज ल्याइदिएपछि उनले भोज नखाइ सबै खाने कुरा आफ्नो लुगा र गहनामा दल्छिन्। आफ्ना छोराछोरीहरुलार्इ पनि त्यस्तै गर्न भन्छिन्।

 

उनीहरुले आफूलार्इ नभइ आफ्नो लुगा र गहनालार्इ सम्मान गरेको भन्दै उनीहरुलार्इ भोज खुवाएको बताउँछिन्। सुनको गहना धेरै लगाएकाले उनलार्इ लु:ति अजिमा भन्ने गरिएको कथन छ। नेपाल भाषामा लु: भनेको सुन हो। यस्तै नुहाउँदा इन्द्रायणीको कपालमा सुनको झोल आउने भएकाले पनि उनलार्इ लु: ति ( सुनको झोल) अजिमा भन्ने गरिएको अर्को कथन छ।

 

उता मानन्धरले बालबालिकालार्इ खाना खुवाएर पुण्य कमाइन्छ भनेर अरुलार्इ पनि खुवाए त्यो सुन बन्ने भन्दै भोलि पल्ट सबै बालबालिकाहरुलार्इ मर:जा खुवाउने निधो गर्छ।

 

अहिले पनि सर्पाहुति सकेको भोलिपल्ट(आज) थँहितिका मानन्धरले मर:जा खुवाउने गर्छन्। तर त्यो मर:जा अरु बेला खुवाउने मर:जाभन्दा विशेष हुन्छ। महादेवको प्रसादका रुपमा मर:जासँगै सुंगुरको मासु दिने गरिएको हो। विशेष तान्त्रिक विधिले बनाइने मर:जा खुवाउँदा बालबालिकालार्इ रोग नलाग्ने कथन छ।

 

अरु बेला भने संगुरको मासु छुन समेत नहुने हुन्छ। सुंगुरको मासु प्रयोग गर्नेबारे कथन पनि रमाइलो छ।

 

महादेवले पृथ्वीमा रहेकी इन्द्रायणीलार्इ धेरै दुख दिने गर्छन्। महादेवबाट हैरान भएर इन्द्रायणीले एक दिन सुँगुरको मासु खुवाउँछ। मासु खाएका महादेव मस्त निन्द्रामा लिन हुन्छन्। बिहान सुंगुरको मासु खाएका महादेव मानिसहरुले समाउने डरले लुक्छन्। महादेव लुकेर बसेकाले नेवारहरु महादेवलार्इ लुकुमाद्य भन्ने गर्छन्।

 

बालाचतुर्दर्शीका दिन गरिने यो सर्पाहुतिले पृथ्वी र आकाशमा हुने विभिन्न सृष्टि र संहारलार्इ प्रतिबिम्बित गरेको छ। यस पर्वलार्इ जल, जमिन र आकाशमा पाइने जीवहरु सबै नाशवान छन् भनेर बुझ्न सहयोग हुने स्थानीय बताउँछन्। अत यस किसिमका पर्व र संस्कृतिलार्इ संरक्षण र सम्बद्धन गर्न सबै पक्षले अग्रसरता दिनै पर्छ।



मध्यरातमा काठमाडौँमा सर्पाहुति, भेटिएन सर्प, थकू जुजुले दिए माछा, फट्याङ्ग्राको आहुति : यस्तो छ कथा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट