काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा पोखरा राइनोजको कप्तानी विदेशी खेलाडीले गर्ने भएको छ।
स्कटल्याण्डको राष्ट्रिय टिमका कप्तान समेत रहेका कायल कोत्जरले पोखरा राइनोजको नेतृत्व गर्ने भएका हुन्।
बिहीवार इपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पोखराको कप्तानको रुपमा कोत्जर उपस्थित थिए र उनले नै टिमको कप्तानी गर्ने फ्रेन्चाइजले जनाएको छ।
गत वर्ष भेट्रान स्पिनर शक्ति गौचनले पोखराको कप्तानी गरेका थिए।
कोत्जरले नेपाल आएर आफ्नो टिममेटसँगै प्राक्टिस सेसनहरु समेत गरेको जानकारी दिए। उनले मुख्य चुनौती भनेको टिममा रहेका सबै खेलाडीलाई चिन्नु र उनीहरुबारे थाहा पाउनु रहेको बताए।
‘नेपाल आउनु पाउनु मेरो लागि ठूलो सम्मान हो। क्रिकेटको प्यासन भएको ठाउँमा आएर खेल्न पाउनु मेरो लागि विशेष हुनेछ।‘ उनले भने ‘हाम्रो तयारी राम्रो भइरहेको छ।‘
यस पटक पोखरामा कोत्जरसँगै दक्षिण अफ्रिकाका ब्यारुट्सम्यान रिचार्ड लेभी र इंगल्याण्डका अलराउण्डर पउल कघलिन जस्ता खेलाडी छन्। यस्तै प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोड आइसकेका छन्।
यही शनिवारदेखि सुरु हुने इपीएलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच उद्घाटन खेल हुनेछ।