PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? (#WhoKilledNirmala १२)



पहिलोपोस्ट

निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए?  (#WhoKilledNirmala १२)
फोटो गुगल इमेजबाट तयार गरिएको हो।

  • महेन्द्रनगरबाट फर्केर उमेश श्रेष्ठ र सविन ढकाल -
'आज त रातभर निद्रै परेन।'

जुन दिन निर्मला घर नफर्की हराएकी थिइन्, त्यही रात निद्रै नपरेको भन्दै गाउँलेलाई सुनाउँदै हिँडेको थियो एउटा केटो। 

प्रहरीका 'खबरी'हरुले गाउँलेबाट यो सूचना पाएपछि उनी शंकाको घेरामा परेका थिए। 

उनलाई घटनाको ४ महिनापछि मंगलबार (मंसिर १८ गते) साँझ प्रहरीले नियन्त्रणमा लियो। काठमाडौंबाट नियन्त्रणमा लिएको भन्दै बुधवार मिडियामा खबर आएको यिनैको हो। 

प्रहरीले यो सूचना मिडियामा ‘लिक’ गराउँदा उनको उमेर २२ वर्ष भएको खुलायो। यद्यपि, रावल थरका उनी ‘टिनएज’ मै छन्। 

यसअघि पनि एक पटक प्रहरीको अनुसन्धानमा परिसकेका थिए उनी। 
 
निर्मला हराएको दिन रातभर निद्रै परेन भन्दै हिँडेको, लागूऔषध समेत प्रयोग गर्ने भएकाले शंकास्पदहरुलाई ‘न्यारो डाउन’ गर्ने क्रममा उनी पनि प्रहरीको सूचीमा थिए। 

खोजी गर्दा उनी गाउँमा भेटिएनन्।
 
शंका झन् चुलियो। निर्मलाको गाउँबाट भारत पुग्न धेरै समय लाग्दैन। १० किलोमिटरजति पर गड्डाचौकी नाका छ जुन पार गर्दै उत्तराखण्डको वनबासा शहर पुगिन्छ। त्यहाँबाट बस र रेलको सञ्जाल जोडिन्छ जहाँबाट भारतको कुनै पनि कुनामा पुग्न सकिन्छ। 

रावल भारतमै रहेको जानकारी स्थानीयबासीले दिए।

पाँच दिनपछि प्रहरीले सुइँको पायो- अहिले उनी गाउँमा फर्किए। थाहा पाएको केही समयमै प्रहरीले उसलाई नियन्त्रणमा लिइहाल्यो। 

‘बोर्डर कहिले काटिस्?,’ प्रहरीले सोध्यो।

‘साउन १० गते’

यही दिन निर्मला हराएकी थिइन्। तर, स्थानीय बासिन्दाहरुले नै भनिसकेका थिए, निर्मला हराएको दिन ऊ रातभर निद्रा नपरेको बताउँदै हिँडेको थियो। 

साउन ११ गतेमात्र ऊ भारत गएको खुल्यो। अर्थात् निर्मलाको शव उखुबारीमा फेला परेकै दिन।
 
उनले झुट बोलेपछि शंका झन् बढ्यो।

निर्मलाको साइकल फेला परेको ठाउँमा दुर्व्यसनीहरु बस्ने गरेको खुलिसकेको थियो। उमेर कम भए पनि लागू औषधको लत थियो उनमा। परिवार पनि त्यस्तै, खासै वास्ता नगर्ने। 
 
महेन्द्रनगरको एक वर्कसपमा काम गर्ने रावलले अपराध स्वीकार गरेनन्।    

अरु पृष्ठभूमि बुझेपछि उनीमाथि सामान्य अनुसन्धान भयो। घटनामा कनेक्सन बलियो देखिएन भन्दै अघिल्लो अनुसन्धान टोलीले थप अनुसन्धान नगरी छोडेको थियो उनलाई।
 
मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीले शङ्काकै आधारमा फेरि उनलाई पक्राउ गरेको हो।

यस्ता अपराधमा सुरुमा अनुसन्धानको घेरामा परेर छुटेका व्यक्ति फेरि पक्राउ परेर अदालतबाटै दोषी ठहर भएका धेरै घटना छन्। 

२०६९ जेठ १८ गते सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भयो। हत्या भएको बेला घटनास्थलमा एक्टिभ भएका मोबाइलहरुको आधारमा शंका लागेकाहरुलाई प्रहरीले ‘न्यारो डाउन’ गर्‍यो। यसै क्रममा बाबु भनिने मेघबहादुर थापासहित उनका एक सहयोगी सोधपूछका लागि नियन्त्रणमा परे। 

‘हामी त त्यो बाटोबाट घर जान लागेका थियौं,’ भनेपछि उनीहरु छुटेका थिए। थप प्रमाण पनि केही जुटेको थिएन।  

थापा (लामो कपाल पालेका) पक्राउ परेपछि। फाइल फोटो

दोस्रो पटक फेरि सिआइबीको अनुसन्धान टोलीले गोप्य रुपमा उनीहरुलाई पक्रेर पाँच दिन सेल्टर हाउसमा राख्दै कडा केरकार भयो। तर, त्यसबाट पनि केही खुल्न नसकेपछि उनीहरु फेरि छुट्न सफल भए। 

सिआइबीको त्यो टिमको ठाउँमा हेमन्त मल्ल ठकुरीको नयाँ टिम अनुसन्धानका लागि जुट्यो। नयाँ टिमले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई निगरानीमा राख्यो। र, महत्त्वपूर्ण टिप्स पनि पाउन सफल भयो।
 
अन्ततः त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा प्रमाणसहित हत्याकान्डका मुख्य योजनाकार पक्राउ गर्न प्रहरी सफल भयो। 

२०७३ असार १२ गते ललितपुर जिल्ला अदालतले आजीवन कारावासको फैसला सुनाएपछि अहिले थापा जेलमा छन्।
 
के निर्मला बलात्कार तथा हत्या प्रकरणमा पनि पहिले शंका लागी नियन्त्रणमा लिएर छुटिसकेका रावलको केही संलग्नता देखिएला त?

ब्युरो स्रोतका अनुसार पक्राउ परेलगत्तै उनले निर्मलाको हत्या गरेको स्वीकार गरे। कसरी? भनेर सोध्दा उनले भनेका थिए, ‘मुखमा सल कोचेर मारेको।'
 
घटनास्थलमा कुनै सल भने भेटिएको छैन। निर्मलाले पनि त्यो दिन रातो टिसर्ट लगाएकी थिइन्। 

सुरुमै हत्या स्वीकार गरेका युवकले पछि फेरि बयान फेर्न थालेका छन्। अहिले उनले 'जे गरे गर्नुस्, मैले हत्या गरेको छैन' भन्ने बयान दिन थालेको प्रहरी स्रोतले जानकारी दियो।

मंगलबार नै रावलको डिएनए परीक्षण गराइएको छ। अरु प्रमाण पनि खोजिरहेको छ प्रहरीले। 

यसअघि पनि 'मैले नै निर्मलालाई मारेको हो' भनेर स्वीकार्ने दुई व्यक्ति प्रहरीले भेटिसकेको छ। त्यसमध्ये एक जना जीवन घर्ती मगरले निर्मलालाई खुकुरीले हानेर मारेको बयान दिएका थिए।
  
भदौ ४ गते प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका दीलिपसिंह विष्टले पनि आफूले हत्या गरेको स्वीकार गरेका थिए। तर, डिएनए नमिलेपछि छुटे।

प्रहरीको काम अनुसन्धान गरी प्रमाण जुटाएर अदालतसम्म लैजानु हो। तर, यहाँ प्रमाणको रुपमा डिएनएमात्र बाँकी रहेजस्तो अवस्था देखिएको छ। रावलको बारेमा पनि अदालत नै नगई डिएनए निश्कर्ष बन्न सक्छ। के ‘टिनएज’ का रावल एक्लैले अर्की एक टिनएज केटीलाई दिउँसै जबर्जस्ती गरी हत्यासमेत गर्न सक्छ? कि अरू पनि घटनामा संलग्न छन्? 

अरु पनि पटक-पटक शंकामा

अनुसन्धानको टोली फेरिएसँगै पटक-पटक प्रहरीको अनुसन्धानको घेरामा पर्ने रावल एक्ला भने होइनन्। 

जुन दिन निर्मला हराइन्, त्यही दिन (साउन १०) बिहान उनको आमाको मोबाइलबाट एक युवकलाई फोन गरेको देखिन्छ। निर्मलाकी आमाले ती युवकलाई किन फोन गरिन्? ती युवकसँग निर्मलाको आमाको सम्बन्ध के थियो?
 
अनुसन्धानमा खटिएका प्रहरीले शंका गर्छ।

निर्मला फोन चलाउँदैन थिइन्। प्रहरीले अर्को शङ्का गर्छ - कतै निर्मलाले नै आमाको फोनबाट कल गरेकी त थिइनन्? निर्मलाले नै फोन गरेको भए किन गरिन्?
  
कतै हत्यामा ती युवक जोडिएका त छैनन्?  प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्छ। उनी थिए पाली थरका युवक। 
'हो, त्यो नम्बरबाट फोन आएको थियो,' उसले स्वीकार्छ। 

फोन गर्ने को थियो? प्रहरीको प्रश्नको जवाफमा उनको उत्तर थियो – 'निर्मलाकी आमा।'

निर्मलाकी आमाले आखिर किन फोन गरिन्? फेरि युवकले सहजै जवाफ दिन्छन्, 'उहाँले मलाई होइन, मेरो आमासँग बोल्न फोन गर्नुभएको हो।'

निर्मलाकी आमा र उनकी आमा साथी भएको खुल्छ। उनकी आमासँग फोन नभएकाले निर्मलाकी आमाले छोराको मोबाइलमा फोन गर्थिन्। निर्मला हराएको दिन पनि उनले फोन गरेकी थिइन्।
 
'भारतको वनबासा जाने बारेमा निर्मलाकी आमासँग कुराकानी भएको थियो,' उनले बयानमा भनेका छन्।

सरसामान किन्न पनि निर्मलाकी आमा पटक पटक गड्डाचौकी नाका पार गर्दै वनबासा गइरहेकी हुन्थिन्।
 
निर्मलाकी आमा र उनकी आमा त्यो दिन सँगै वनबासा गएका हुन्छन्। चक्रदेव बडुकी भाउजु पनि उनीहरू सँगै गएको खुल्छ। ती युवक अनुसन्धानको दायराबाट उम्किन्छन्।

भदौ ४ गते प्रहरीले ४१ वर्षीय दीलिपसिंह विष्टलाई अभियुक्तको रूपमा सार्वजनिक गर्छ। त्यसलगत्तै महेन्द्रनगरमा आन्दोलन चर्किन्छ। र, सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्छ।
 
कञ्चनपुर पुगेको समितिले घटनामा प्रहरीको लापरबाही भएको प्रारम्भिक निष्कर्ष निकाल्छ र अनुसन्धानमा जोडिएका सबै प्रहरी फिर्ता हुन्छन्। केही सेवाबाट हटाइन्छन्। केही निलम्बनमा पर्छन्। फेरि अर्को टोलीले अनुसन्धान गर्छ।

काठमाडौँबाट एसपी विष्णु केसीको कमान्डमा गएको टोलीको नजरमा फेरि पर्छन् तिनै युवक। सोही फोन कलको आधारमा उनलाई सोधपुछको लागि बोलाइन्छ। कथा पहिलेको झैँ दोहोरिन्छ। केही प्रमाण हात नपरेपछि उनी फेरि फुत्किन्छन्।

अघिल्लो टोलीले पनि उनीमाथि अनुसन्धान गरेको थियो। लापरवाहीको आरोप लागेको प्रहरीमाथि विश्वास गर्ने वातावरण नभएपछि यस्तो भएको हो। अहिले स्थानीयवासी यसैलाई लिएर आक्रोशित पनि छन्। उनीहरू प्रहरीले पटक पटक दुःख दिएको गुनासो गर्छन्। 

अनुसन्धानको घेरामा पर्दै उम्किएकाहरु प्रहरीको व्यवहारबाट चिढिएका छन्। काम देखाउन प्रहरीले आफूहरुमाथि अनावश्यक दवाव दिएको उनीहरुको दावी हुने गर्छ। 

शव भेटिएको स्थान नजिकै पुगेका हामीसँग यस्तै गुनासो पोखे नवराज पाण्डेले। २२ वर्षका पाण्डेले भने, 'मलाई पनि गएको कार्तिकमा पुलिसले बोलाएर अण्टसण्ट सोध्यो। समितिका मान्छेहरुले पनि हैरानै बनाइरहेका छन्।' 

निर्मलाको शव भेटिएदेखि शंकामा रहेका बम दिदीबहिनीलाई पनि प्रहरीले सुरुमा नै नियन्त्रणमा लिएको थियो। उनीहरूको कल डिटेलदेखि प्राविधिक अरु विषयसमेत हेरेपछि छाडिएको थियो। 

स्थलगत रिपोर्टिङका लागि कञ्चनपुर पुग्दा निर्मलाको घर वरपर रहेका घरका छिमेकीहरुले पनि बम दिदीबहिनीहरुको घरमा कोही पनि केटाहरु आउने जाने गरेको नदेखेको हामीलाई बताएका थिए। 

तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी फेरिएपछि पुनः उनीहरू अनुसन्धानको दायरामा आए। 

एसपी कुबेरबहादुर कठायतको टिमले रोशनी र बविता बमलाई भदौ ९ गते नियन्त्रणमा लियो। दिदी बवितालाई १८ दिन र बहिनीलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गरियो। कुनै प्रमाण नभेटिएकाले उनीहरू रिहा भए।

बम दिदीबहिनी महिला भएकाले 'बलात्कार गर्न नसक्ने' भन्दै उनीहरूको डिएनए परीक्षण भएन।  डिएसपी डिल्लीराज विष्टको टोलीले १ सय १७ जनासँग अनुसन्धानको कागज गराएको थियो। समिति फेरिएसँगै उनीहरू पटक-पटक अनुसन्धानको दायरामा आउने र छुट्ने गरेका छन्। 

निर्मलाकै गाउँका चेतनाथ पन्त, लक्ष्मण भट्ट लगायतसँग पनि प्रहरीले पटक-पटक अनुसन्धान गरेको देखिन्छ। 

महेन्द्र बमको सहयोगमा

(पहिलोपोस्टको #WhoKilledNirmala शृङ्खला आज बम दिदी बहिनीको घर अगाडिको अम्बाको रुख र उनीहरुको घरको कोठामा लगाइएको भनिएको रङसित निर्मला प्रकरणको के कनेक्सन छ भन्ने बारे लेख्ने भनिए पनि हिजोको घटनाक्रमका कारण त्यो अंश अर्को शृङ्खलामा समेट्ने छौं।)

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell