PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? (#WhoKilledNirmala शृङ्खला १५)



पहिलोपोस्ट

चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? (#WhoKilledNirmala शृङ्खला १५)

  • उमेश श्रेष्ठ/सविन ढकाल -
गएको साउन ९ गते बुधबार राति भीमदत्त नगरपालिकामा रहेको एक मासु पसलमा चोरी भयो। चोरी भएको उजुरी लिएर साहु पाले चौधरी नजिकै रहेको वडा प्रहरी कार्यालयमा पुगे।

चौधरीको पसलमा कुखुरा चोरी भएको हो कि कुखुराको मासु चोरी भएको हो कि पैसा चोरी भएको हो भन्नेमा आपसमा बाझिएका खबर आएका छन्। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कठायत ३/४ सय रुपैयाँ चोरी भएको उजुरी परेको दावी गर्छन्।

उनका अनुसार सालघारी अस्थायी प्रहरी बिटले भगतपुर घर भएका रावल थरका किशोरलाई साउन १० गते बिहान नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय पुर्‍याएको थियो।  

रावलले पहिले पनि गाउँमा सामान्य चोरी तथा फटाइ गर्ने भएकाले प्रहरीको शंका उनीतिरै हुनु स्वभाविक थियो।

तर उनले चोरी गरेको स्वीकारेनन्। 

भने, ‘विशालले हो सर। म गएको थिइनँ।‘

विशाल र उनी साथी। दुवैको उमेर पनि १७ वर्ष। सँगै फट्याइँ गर्नदेखि लागूऔषध प्रयोग गर्नेसम्म उनीहरुको मित्रता देखिन्छ।

उसले पोल लगाएपछि प्रहरीले विशाल चौधरीलाई पनि नियन्त्रणमा लियो साउन १० गते। भोलिपल्ट (साउन ११ गते) छोरालाई छुटाउन आमा प्रहरी चौकी पुगिन्। चोरीको अभियोगमा हिरासतमा रहेका छोरालाई प्रहरी कहाँबाट घर लगिन्। 

भीमदत्त नगरपालिकामा त्यही दिन एउटा घटना भयो जसले अहिलेसम्म नेपाल तरङ्गित छ। उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव उखुबारीमा भेटियो। 

४ महिना बितिसक्दा पनि प्रहरीले अझै कसले निर्मलाको बलात्कार गरी हत्या गरेको पत्ता लगाउन सकेको छैन। तर केही दिनदेखि भने प्रहरी प्रमुख आइजी सर्वेन्द्र खनाल स्रोतबाट मिडियामा लिक गराइएका जानकारी र मन्त्रीहरुको बोली एकै सुनियो- अपराधीको नजिक पुगेका छौँ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले त शनिबारको सार्वजनिक कार्यक्रममै हत्यारा पक्राउ गरिसकेको र छिट्टै सार्वजनिक गर्ने दावी गरे। 

हेर्नुस् सरकारी समाचार एजेन्सी राससको समाचार


चार महिना पछि विशाललाई पुनः प्रहरीले नियन्त्रणमा लियो। तर यस पटक चोरीको हैन, बलात्कारको शंकामा। 

प्रहरीबाट लिक गरिएका सूचनाका आधारमा नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा बयानका क्रममा रावलले साइकलको चेन बनाइरहेकी निर्मलालाई भेटेको, गफ गर्न भन्दै खोला पारी लगेको र विशाल पनि आफू सँगसँगै आएको,  गफ गर्ने क्रममा उत्तेजित भएर उखुबारीमा लगेर बलात्कार गरेको, विशालले पनि बलात्कार गरेको र प्रतिकार गरेपछि हत्या गरेको उल्लेख छ। 

यसअघि डिएनए म्याच नभएपछि छुटेका दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्ने क्रममा पनि प्रहरीले यस्तै 'प्लट' तयार पारेको थियो। त्यस क्रममा पनि विष्टले निर्मलाको साइकलको चेन बनाइदिएको र त्यस क्रममा उत्तेजित भई खोलापारी लगेर बलात्कार गरेको भनिएको थियो।

त्यसैगरी रावलले पनि आफन्त बलात्कार गरिसकेको प्रहरी अनुसन्धानका खुलेको भन्दै प्लट तयार पारिएको छ। यसअघि दीलिपसिंह विष्टको पनि यस्तै आफन्त बलात्कार गरिसकेको 'प्लट' प्रहरीले बुनेको थियो।      

तर प्रहरी कता चुक्यो?

निर्मला हराएको दिनदेखि शव भेटिएको समयसम्म विशाल प्रहरी हिरासतमा भएको खुलेको छ। विशालकी फुपू प्रमिला चौधरी भन्छिन्, ’ऊ निर्दोष छ। उसले यस्तो काम गर्न सक्दैन। निर्मला हराएको दिनदेखि शव भेटिएको दिनसम्म ऊ प्रहरीको थुनामा थियो। कसरी उसले यस्तो गर्न सक्छ? प्रहरीले अहिले यातना दिएर दोषी साबित गर्न खोज्दै छ रे।‘

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले पनि विशाललाई साउन १० गते नियन्त्रणमा लिएको स्वीकारे। डिएसपी ‌ओझाले भने, ’साउन १० गते साँझ करिब ५ बजेदेखि ६ बजेको बीचमा हाम्रो टोलीले नियन्त्रणमा लिएको देखियो। भोलिपल्ट आमा आएर दिउँसोतिर घर लगेको बुझिएको छ।' 

रावललाई भने प्रहरीले नियन्त्रणमा नलिएको उनको दावी छ। ‘साउन १० गते बिहान हाम्रा केटाहरुले रावललाई चोरेको हो भनेर सोधेका रहेछन्। उसले मैले होइन विशालले भनेपछि विशाललाई पक्राउ गरेको रहेछ।‘

निर्मलाको लागि न्याय भन्दै संघर्ष गरिरहेको समितिकी संयोजक मीना भण्डारी भन्छिन्, ’हामीले चौकीमा गएर बुझिसकेका छौँ। साउन १० गतेदेखि चौधरी प्रहरी कहाँ थियो। रावल भने भागेर टनकपुर गएको बुझिएको छ। उनीहरू यहाँ थिएनन् भने घटना कसरी भयो? प्रहरीले प्रपञ्च रचिरहेको छ। यातना दिएर अभियुक्त बनाउन खोज्दै गरेको देखिन्छ।‘ 

यसअघि आइजी कै निर्देशनमा खटिएको अंगुर जिसी नेतृत्वको सिआइबीको टिमले पनि रावललाई एक पटक नियन्त्रणमा लिएर सामान्य सोधपूछ पछि छाडिसकेको थियो।

रावललाई केही दिनअघि केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँमा पक्राउ गरेको थियो। त्यस्तै कञ्चनपुरबाट केही युवकलाई पक्राउ गरी काठमाडौँ ल्याई अनुसन्धान भइरहेको छ। यस पटक शङ्कास्पद व्यक्तिहरूलाई काठमाडौँमै ल्याएर अनुसन्धान गरिएको छ। 

पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च?

केही मिडियामा प्रहरी प्रमुख आइजी सर्वेन्द्र खनालले नै शङ्कास्पद व्यक्तिको बयान लिन गएको भन्ने समाचार आएका थिए। 

नेपाल प्रहरीका प्रवक्ता र सरकारका प्रवक्ताले पनि अपराधी नजिकै पुगेको भन्ने खालका अभिव्यक्ति दिए। 

तर प्रहरीसँग अभियुक्त खडा गर्न खासै प्रमाण भने भएको देखिँदैन। निर्मलाको भेजिनल स्वाबमा पुरुष डिएनए भेटिसकेको हुनाले जस्तै विश्वसनीय देखिने 'प्लट' बनाए पनि डिएनए नमिल्दासम्म त्यसको कुनै अर्थ रहँदैन।
 
प्रहरीले नियन्त्रणमा लिएकाहरू लागूऔषध दुर्व्यसनी हुन्। टिनएज समूहका देखिन्छन्। लागू पदार्थको नशामा बलात्कार गरेँ भनेर बयान दिएको भनिएको छ। 

तर थाइल्यान्डमा बसेर एसियन नेटवर्क अफ पिपल हु युज ड्रग्स संस्थामा नेपालसहितको क्षेत्रीय कार्यक्रम हेर्ने गरी काम गरिरहेका राजीव काफ्ले प्रश्न गर्छन् - 'भायग्रा खाएको हो र यौन उत्तेजना बढ्नलाई?'

नेपालमा प्रयोग हुने लागू औषध भनेको सीमापारबाट आउने र इन्जेक्सनबाट लगाउने टिडिजेसिक, पेनकिलर फार्मेस्युटिकल ड्रग्स हुने जानकारी दिँदै काफ्लेले भने, 'यस्तो लागूऔषधले डिसिजन मेकिङमा असर पारेर बलात्कारै गराउँछ भन्ने हुँदैन। जाँड रक्सीले भने हुनसक्छ।' 

कि भने महँगो लागू औषध प्रयोग गरेको हुनुपर्छ जसले यौन उत्तेजना बढाउँछ। तर पक्राउ परेकाहरुको पृष्ठभूमि हेर्दा महँगो लागू औषध प्रयोग गर्ने खालका देखिँदैनन्। 

किन प्रहरी अविश्सनीय लाग्ने प्लट बनाउँदै छ त?

गएको मंसिर ११ गते सरकारले सामाजिक सुरक्षा योजना लागू गर्‍यो। त्यसको एक दिनअघि काठमाडौँका बिजुलीका खम्बामा नयाँ युगको सुरुवात भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो रहेको पोस्टर टाँसियो।
 
भोलिपल्टका सबै ब्रोडसिट राष्ट्रिय अखबारका ज्याकेट एडमा त्यही पोस्टर विज्ञापन देखियो।

योजना लागू गर्ने घोषणासहितको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खै भन्नेहरुलाई देखाएको दावी गरे। 

त्यसलगत्तै उस्तै शैलिमा निर्मलाको फोटो राखेर 'सरकार भेटियो, न्याय भेटिएन' लेखिएका पोस्टर काठमाडौँमा देखा परे। लाख बढी सदस्य भएको केटाहरुकोको लोकप्रिय फेसबुक क्लोज ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) मा उस्तै डिजाइनका पोस्टर देशभर आफैले छापेर आफै टाँस्न आह्वान भयो गुगल ड्राइभमा डिजाइनको लिङ्क सेयर गर्दै।

यता सरकार विश्वमै विवादास्पद चर्चले आयोजना गरेको एउटा सम्मेलनका कारण पनि बदनामी भोगिरहेको थियो। यसै क्रममा निर्मलाको पोस्टर प्रहरीले च्यात्दै गरेका फोटो र भिडियो भाइरल भए। उसै त निर्मला प्रकरणमा प्रहरीको विश्वास गुमेको र सरकार बदनाम भइरहेको थियो, यसले त्यसलाई आगोमा घ्यु थप्ने काम मात्रै गर्‍यो। 

यही परिस्थितिमा मंसिर १२/१३ गतेदेखि निर्मलाको बलात्कार र हत्या प्रकरणमा शंकास्पद अभियुक्त पक्राउ परेको, आइजी खनाल आफैले बयान लिएको, साबिती बयान दिएको खबर आउन थाले। प्रहरी प्रवक्ताले अनुसन्धान न्यारोडाउन भइसकेको आधिकारिक प्रतिक्रिया दिए।

मंसिर २० गते सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले 'निर्मलाका प्रकरणका अपराधी पत्ता लागेको दिन सरकार भेटिन्छ' भन्दै अपराधी सार्वजनिक हुन लागेको संकेत दिए।

योसँगै गएको हप्ता पोस्टर च्यातेको विषय ओझेलमा पर्‍यो।
 
तर यसले प्रहरी र सरकारको विश्वसनीयतामा सकारात्मक असर पर्‍यो कि नकारात्मक?
 
रावल थरका एक किशोरलाई प्रहरीले मुख्य शङ्कास्पद व्यक्तिको रुपमा उभ्याएको किसिमका समाचार आए। उनले साविती बयान दिएको भनियो। 

तर ती युवकले सुरुमा बलात्कार र हत्या गरेको स्वीकार गरे पनि बयान फेरिरहने गरेको देखिएको छ। घटना गराएको देखेको भनिएकाहरूको बयानमा पनि एकरुपता देखिँदैन। उनीहरूको फरक फरक बयान हुने गरेको प्रहरी स्रोतले नै जानकारी दिएको छ।

यसअघि पनि केही युवक पक्राउ गरी डिएनए नमिलेपछि छोडिएका थिए। ती व्यक्ति को थिए? कहीँ कतै समाचार आएन। प्रहरीले उनीहरूको नाम गोप्य राख्यो। तर अहिले शङ्काको भरमा नै अभियुक्तको नाम समेत किन प्रहरीले 'लिक' गरायो?

डिएनए रिपोर्ट नमिल्ने हो भने यो सब प्रोपोगान्डाले विश्वसनीयता कसको गुम्ला? यसको नेतृत्व गर्नेहरुले सोच्नु पर्ने विषय हो।

कञ्चनपुरमा महेन्द्र बमको सहयोगमा
 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell