PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इपीएल : काठमाडौँ किंग्स ११ को विजयी सुरुवात, चितवनको लगातार दोस्रो हार



पहिलोपोस्ट

इपीएल : काठमाडौँ किंग्स ११ को विजयी सुरुवात, चितवनको लगातार दोस्रो हार

काठमाडौँ : भारतीय खेलाडीद्वय प्रदिप शाहु र सुब्रमनिया आनन्दको उत्कृष्ट प्रदर्शन मद्दतमा काठमाडौँ किंग्सले एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ मा विजयी सुरुवात गरेको छ।

काठमाडौँले चितवन टाइगर्सलाई सोमवार ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो। चितवनको भने यो लगातार दोस्रो हार हो। आइतवार चितवन ललितपुर प्याट्रिओट्ससँग ११ रनले पराजित भएको थियो।

काठमाडौँका लागि शाहले बलिङमा तथा आनन्दले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे। जिम्बावेका सिकन्दर राजा अन्तिम समयमा नआउने भएपछि काठमाडौँले उनको स्थानमा शाहुलाई अनुबन्ध गरेको हो। यस्तै आनन्द विदेशी कोटामा रहेका खेलाडी रोहन मुस्ताफाको ब्याकअपमा आएका हुन्। मुस्ताफा हाल युएईका लागि इमर्जिङ कप खेलिरहेका छन् र केही दिनमै नेपाल आउनेछन्।

काठमाडौँका अर्का विदेशी खेलाडी आयरल्याण्डका केभिन ओ'ब्रायनले राम्रो बलिङ गरेपनि ब्याटिङमा भने राम्रो गर्न सकेनन्।

काठमाडौँले पहिलो खेलमै जित हात पार्ने क्रममा चितवनले दिएको १६१ रनको लक्ष्य पुरा गर्‍यो।

काठमाडौँको लागि आनन्दले नटआउट रहँदै ४३ रन बनाए। आक्रमक इनिङ्स खेलेका आनन्दले १८ बलमा १ चौका र ४ छक्का प्रहार गरे। अमर सिंह राउटेलाले १२ बलमा ३ चौका प्रहार गर्दै नटआउट २१ रन बनाए।

ओपनर सागर पुनले ३९ रन बनाए। नरेश बुढाएर २२ तथा अमित श्रेष्ठले १८ रन जोडे। ओ'ब्रायन ९ रन बनाएर आउट भए।

बलिङमा चितवनका शाहब आलमले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। सबैभन्दा महँगा बलर बनेका ललित भण्डारीले ३.५ ओभरमा ४२ रन खर्चँदा १ विकेट लिए।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले एक बल अगावै अलआउट हुँदै १६० रन बनाएको थियो।

ओपनरद्वय पउल स्ट्रलिङ र सन्दिप सुनारले आक्रमक ब्याटिङ गर्दै चितवनलाई गतिलो सुरुवात दिलाएका थिए। यी दुईले ४.१ ओभरमै पहिलो विकेटका लागि ५३ रन जोडे। तर काठमाडौँका प्रदिप शाहुले पाँचौ बलको पहिलो र दोस्रो बलमा स्ट्रलिङ र जोन सिम्पसनलाई लगातार आउट गरेपछि चितवन विकेट जान थाल्यो। चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरीले जर्ज स्कटसँग ४० रनको साझेदार गरेका थिए।

चितवनको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४५ रन बनाए। पउल स्ट्रलिङले ३४ तथा सन्दिप सुनारले २५ रन जोडे। कप्तान पृथु बास्कोटा २० रनमा नटआउट रहे।

काठमाडौँका लागि प्रदिप शाहुले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। शाहले स्ट्रलिङ र सिम्पसनसँगै सर्वाधिक रन बनाएका दीपेन्द्रको विकेट लिएका थिए। यस्तै संसद शेखले २.५ ओभरमा १८ रन खर्चेर लोअर अर्डरका ३ विकेट लिए। केभिन ओ'ब्रायनले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए।

सबैभन्दा महँगा सावित भएका सागर पुनले २ ओभरमा २८ रन खर्चे भने १ विकेट लिए। यस्तै जितेन्द्र मुखियाले २ ओभरमा २७ रन खर्चे पनि विकेट लिन सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell