काठमाडौँ : सुपर सब अफिज ओलावालले खेल सकिन पाँच मिनेट अगाडी गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सोमवार मछिन्द्र क्लबलाई १-० ले पराजित गरेको छ।
एन्फा कम्प्लेक्समा सातदोवाटोमा भएको खेलमा मनाङलाई लगातार सातौँ जित दिलाउन विदेशी खेलाडी ओलावालाले ८५औँ मिनेटमा एकको एक मात्र गोल गरे। उनी ५९औँ मिनेटमा दोना थापाको स्थानमा मैदान प्रवेश गरेका थिए।
खेलको ६१औँ मिनेटमा मनाङले अग्रता लिने अवसर पाएपनि अन्जन विष्टले पेनाल्टीमा गोल गर्न सकेनन्। अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो तर अन्जनको प्रहार मछिन्द्रका गोलकिपर दिप कार्कीले रोके।
यस सिजन लिगमा अपराजित रहँदै शतप्रतिशत नतिजा निकालेको मनाङले जितपछि ७ खेलबाट २१ अंक जोडेको छ भने दोस्रो स्थानको थ्री स्टार माथि ३ अंकको स्पष्ट अग्रता कायम गरेको छ।
समान खेलबाट १८ अंक रहेको थ्री स्टार दोस्रोमा छ। १८ अंक नै जोडेको संकटा गोलअन्तरमा पछि पर्दै तेस्रोमा छ।
यस खेलपछि १४ क्लब सम्मिलित लिगमा सातौँ चरणसम्मका खेलहरु समाप्त भएका छन्। सातौँ चरणसम्म मछिन्द्र र एनआरटीले अहिलेसम्म जित हात पार्न सकेका छैनन्। तीन खेल बराबरी मछिन्द्रले अहिलेसम्म गोलको खाता मसेत खोल्न सकेको छैन।